पाँच वर्षअघि दुई सयवटा कालिजपालनबाट व्यवसाय सुरु गरेका राप्तीसोनारी गाउँपालिका– २, मदुईका उदयराम पुनले अहिले एक हजार पाँच सय कालिजपालन गरिरहेका छन् । कालिजको माग दिन–प्रतिदिन बढ्दै गएपछि संख्या थप्दै गएको उनले बताए । गत वर्ष ३० लाख रुपैयाँको कालिज र कालिजका बच्चा बिक्री गरेका उनले यस वर्ष त्योभन्दा बढी बिक्री हुने अपेक्षा गरेका छन् । यस वर्ष ३५–४० लाख रुपैयाँबराबरको कारोबार हुने उनको अनुमान छ । ‘यस वर्ष कालिजको माग बढेको छ । संख्या पनि गत वर्षको भन्दा धेरै भएकाले कारोबार रकम पनि बढ्नेछ,’ उनले भने, ‘कोरिया, जापानभन्दा मैले घरमै बसेर कमाइ गरिरहेको छु ।’
पुनले दुई कट्ठा जमिनमा कालिजपालन गरेका छन् । कालिजलाई घामबाट जोगाउन उनले कागती रोपेका छन् । पहिलोपटक दाङबाट उनले दुई सय चल्ला ल्याए, तर पाल्ने विधि नजान्दा एक सय ५० भन्दा बढी चल्लालाई जोगाउन सकेनन् । ‘चिसो ठाउँमा मात्र पालन गर्न सकिने मनस्थिति थियो । बाँकेमा ल्याउँदा गर्मी लाग्ला भनेर एसी भएको गाडीमा ल्यायौँ । ल्याइसकेपछि पंखामा राख्यौँ,’ उनले भने, ‘बच्चामा चिसोभन्दा न्यानो चाहिने रहेछ । हामीलाई थाहा भएन । निमोनियाले एक सय ५० भन्दा बढी चल्ला मरे, तैपनि हामीले हिम्मत हारेनौँ । हिम्मत र मिहिनेत गरेपछि सफल भइँदो रहेछ । गर्दै, सिक्दै गरेपछि हामी सफल भयौँ ।’
४५ वटा चल्लाबाट सुरु गरेको कालिजपालन व्यवसाय फस्टाउँदै गएपछि उनमा थप हौसला र हिम्मत आएको छ । उनले थप चार कट्ठामा कालिजपालन गर्ने तयारी गरेका छन् । ‘आउँदो फागुनदेखि थप चार कट्ठामा कालिज पाल्नेछौँ,’ उनले भने ।
बाँकेका होटेलमा कालिज खपत भइरहेको बताउँदै उनले बिउका लागि राखेको भाले र माउ कालिजसमेत माग्ने गरेको बताए । उनले ८० वटा पोथी र २५ वटा भाले बिउका लागि राख्ने गरेका छन् । ‘बिउका लागि राखेको माउ र भालेसमेत किन्न खोज्छन्, तर हामी दिँदैनौँ,’ उनले भने, ‘पछिल्लो समय नयाँ–नयाँ स्वादको मासु खाने क्रम बढेको छ । माग पुर्याउन सकिएको छैन ।’ उनले भाले प्रतिगोटा दुई हजार पाँच सय र पोथी प्रतिगोटा एक हजार दुई सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनले भने, ‘एक दिनको चल्ला साढे दुई सयमा बिक्री गर्छौँ ।’
उनले कालिजको चल्ला उत्पादन गर्न ह्याचरी मेसिन पनि राखेका छन् । आफ्नो फार्ममा उत्पादन भएको अन्डाबाट चल्ला निकालेर बिक्री गर्दै आएको उनको भनाइ छ । ‘कालिजको चल्ला कर्णाली प्रदेशको सुर्खेत, कालीकोट, जुम्ला, दैलेखका किसानले लैजाने गरेका छन्,’ पुनले भने । कोहलपुरकी सरिता थापाले पनि कालिजपालन गरेकी छिन् । उनीसँग पाँच सय कालिज बिक्रीका लागि तयार भएका छन् । मानिसको जीवनशैली परिवर्तनसँगै फरक स्वाद चाख्नेको संख्या बढेपछि कालिजको माग बढेको उनले बताइन् ।