सप्तकोशीमा जोखिमपूर्ण जल यातायात : कानुनको अभावले पर्यटक–यात्रुको यात्रा मात्र होइन, मोटरबोट कम्पनीका लगानी पनि जोखिममा

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

सप्तकोशी नदीमा दशकौँदेखि सञ्चालनमा रहको मोटरबोट (जल यातायात) सेवा कानुनी नियमनविहीन र यात्रुका लागि जोखिमपूर्ण बनेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरा र बोरावन क्षेत्रमा  सञ्चालित  मोटरबोटको नियमन गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग प्रस्ट नियम–कानुन छैन । 

१३ मोटरबोट कम्पनीले पर्यटन विभागमा १० देखि १५ लाखसम्म तिरेर सञ्चालन स्वीकृति लिएका छन् । हाल सुनसरीको बराहक्षेत्रस्थित चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर र दक्षिण बोरावन क्षेत्रमा पाँच किलोमिटर क्षेत्रमा मोटरबोट सञ्चालन हुँदै आएका छन् । सप्तकोशीमा हाल १३ लाखदेखि डेढ करोडसम्म लगानी भएका मोटरबोट छन् ।

मोटरबोटका चालकले औपचारिक तालिम लिएर कुनै पनि सरकारी निकायबाट अनुमतिपत्र लिएका छैनन् । सबैले हेरे–देखेको वा सिकेकै भरमा गहिरो र प्रवाह धेरै भएको सप्तकोशीमा मोटरबोट कुदाउने गरेका छन् । त्यस्तै, मोटरबोटकोे गति, मर्मतसम्भार, टिकटदरबारे पनि चासो छैन । हाल चतरादेखि सिम्लेसम्म १५ र आउँदा १० मिनेट यात्राको प्रतिव्यक्ति एक हजार चार सय भाडा छ । 

मोटरबोट सञ्चालनले कोशी नदीमा दैनिक सयौँ पर्यटकलाई आकर्षित गरेको छ । व्यवसायीले मोटरबोट सञ्चालन गरेर पर्यटक र आवतजावत गर्ने यात्रुसँगै मालसामान ढुवानीसहितको सेवा दिइरहेका छन् । जसले पहाडी क्षेत्रको यात्रा सहज भइरहेको छ । पर्यटकको संख्या बढ्दा स्थानीय क्षेत्रमा आर्थिक चहलपहल बढेर रोजगारी पनि सिर्जना भएको छ । 

राज्यले स्पष्ट कानुन नल्याउँदा जोखिम झनै बढ्दै गएको व्यवसायीहरूको गुनासो छ । सप्तकोशीमा चतरादेखि सिम्लेसम्म चल्ने मोटरबोट पर्यटक र यात्रुवाहकका रूपमा चल्छन् भने बोरावनमा पर्यटकका लागि मात्र चल्ने गर्छ । तर, नियमन गर्ने प्रस्ट क्षेत्राधिकारसहितको कानुन नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने यात्रुको गुनासो रहँदै आएको छ । अर्कोतिर, व्यवसायीको लगानीको सुरक्षा पनि हुन सकेको छैन । 

सप्तकोशी टुरिजम एन्ड वाटर रिसोर्ट प्रालिका सञ्चालक राजेन्द्र कार्कीले मोटरबोट सञ्चालन नियमनबारे संघ, प्रदेश र पालिका अलमलमा हुँदा समस्या र जोखिम बढेको बताए । ‘अझै कतै पनि प्रस्ट कानुन छैन । यसले जल यातायात असुरक्षित बनेको छ र हाम्रो लगानीको पनि सुनिश्चित छैन,’ उनले भने । 

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले संघ सरकारको कानुन मन्त्रालयसँग पटकपटक छलफल भए पनि संघ सरकारले कानुन नबनाउँदा समस्या भएको बताए । ‘असुरक्षित र अव्यवस्थित रूपले सञ्चालन भएका पानीजहाजबारे पर्यटकबाट धेरै गुनासो आउने गरेको छ । कानुन अभाव हुँदा हामीले केही गर्न सकेका छैनौँ,’ उनले भने, ‘अधिकार प्रस्ट बाँडफाँट हुने गरी संघ र प्रदेश सरकारले चाँडै नियमन कानुन बनाउनुपर्छ । जति ढिलो भयो त्यति समस्या बढ्छ ।’

मेरिन रिसोर्टका सञ्चालक राजेन्द्र कार्की पनि नियम–कानुन भएमा जल यातायात पर्यटनमा लगानी बढ्ने बताउँछन् । प्रदेश सरकारले संरक्षणात्मक र प्रवद्र्धनात्मक कानुन ल्याएमा चतरादेखि संंखुवासभाको तुम्लिङटारसम्म व्यवस्थित रूपले मोटरबोट सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

कोशी उद्योग वाणिज्य महासंघका पर्यटन प्रवद्र्धन समिति संयोजक भवेश श्रेष्ठले जल यातायात सुरक्षित बनाउन आवश्यक रहेको बताए । ‘धार्मिक तीर्थस्थल बराहक्षेत्रको दर्शनसँगै मोटरबोट चढेर घुमफिर गर्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढिरहेको छ, यस्तोमा यसलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक छ,’ पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठले भने, ‘प्रदेश सरकारले नियमन कानुन बनाएर व्यवस्थित गर्नुपर्ने हुन्छ । जल यातायात व्यवस्थित बनाउन धेरैपटक सरकारलाई आग्रह गरिएको छ ।’

कोशी सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले मोटरबोट सञ्चालन, नियमन र व्यवस्थापनबारे सरकारले कानुन बनाउनेबारे सोचिरहेको बताए । वन, वातावरण तथा पर्यटन मन्त्रालयसँग समन्वय गरेर चाँडै नियमन र व्यवस्थापनका लागि कानुन बनाउन सैद्धान्तिक सहमति प्रदान गरिने उनले बताए । ‘मोटरबोटको विषय संवेदनशील हो भन्ने हामीले बुझेका छौँ । अध्ययन प्रतिवेदनमा चाँडै छलफल गरेर पर्यटन मन्त्रालयलाई कानुन निर्माण गर्न सैद्धान्तिक सहमति सरकारले प्रदान गर्छ,’ उनले भने ।

सुरक्षा मापदण्डमा छैन कसैको ध्यान
दैनिक सयौँ पर्यटक आकर्षित हुने सप्तकोशी नदीको जल यातायातमा पटक–पटक दुर्घटना भइसकेका छन् । ०६७ भदौमा एउटा मोटरबोट पल्टेर सप्तकोशी नदीमै हराएको थियो भने एकजना व्यक्तिलाई बगाएको थियो । १६ कात्तिक ०८० मा चतरामा सशस्त्र प्रहरीको गोताखोर डेमोस्टे«सन कार्यक्रमको रिपोर्टिङ गर्न गएका पाँचजना पत्रकार जहाज पल्टिँदा घाइते भएका थिए । स्पोर्टमै रहेको गोताखोर टोलीले उनीहरूको उद्धार गरेको थियो । यहाँ चल्ने मोटरबोटले चालक तालिम, वार्षिक यान्त्रिक जाँच, सुरक्षा मापदण्ड र सञ्चालनमा ध्यान दिएका छैनन् । मोटरबोटका चालकले औपचारिक तालिम लिएर कुनै पनि सरकारी निकायबाट अनुमतिपत्र लिएका छैनन् । सबैले हेरे–देखेको वा सिकेकै भरमा गहिरो र प्रवाह धेरै भएको सप्तकोशीमा मोटरबोट कुदाउने गरेका छन् । द्रुत उद्धारको भरपर्दो संयन्त्र छैन । सप्तकोशीमा ०६४ मा विदेशबाट मोटरबोट ल्याएर चलाउन थालिएको हो । ०७५ चैतयतामा नेपालमै बनाएका मोटरबोट चलेका छन् । 

सुझावित समाचार