- कमिसनको लोभमा निगम कर्मचारी र ट्यांकर ढुवानी व्यवसायीले मिलेमतो गरी करारमा राखेका ट्यांकर अमलेखगन्जबाट हटाएर सिनामंगल, नेपालगन्जलगायतका डिपोमा स्थानान्तरण गर्न अघि बढ्यो गृहकार्य
मासिक करिब पाँच करोड व्ययभार थपिने गरी भारतबाट पेट्रोल ढुवानीका लागि प्रयोग भइरहेका एक सय चार ट्यांकरलाई आयल निगमले अन्यत्र व्यवस्थापन गर्न लागेको छ ।
पाइपलाइनबाट शून्य खर्चमा पेट्रोल ढुवानी गर्न सकिने भए पनि कमिसनको खेलमा ट्यांकर प्रयोग गरेको विषय सार्वजनिक भएपछि निगम व्यवस्थापनले मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनकै पूर्ण क्षमता उपयोग गरी सो बरौनीबाट ट्यांकरमा पेट्रोल ढुवानीकार्य रोक्ने निर्णय गरेको हो । हाल सो रुटमा प्रयोग भइरहेको ट्यांकरलाई निगमको एउटा डिपोबाट अर्कोमा तेल ओसार्नका लागि प्रयोग गर्ने विषयमा छलफल थालिएको छ ।
निगम व्यवस्थापनले एक सातादेखि ढुवानी व्यवसायी र चालक प्रतिनिधिसँग बरौनी–अमलेखगन्ज रुटमा ट्यांकर विस्थापन गरी अन्यत्र व्यवस्थापन गर्ने विषयमा गृहकार्य गरिरहेको हो । कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले चाँडै बरौनी–अमलेखगन्ज रुटका ट्यांकर विस्थापनको निर्णय लिइने बताए । ‘अमलेखगन्ज डिपोमा पाइपलाइनबाटै जतिसक्दो धेरै पेट्रोल, डिजेल र मट्टीतेल ढुवानी गर्न हामी सदैव प्रतिबद्ध छौँ, तर पाइपलाइनमा समस्या आएको खण्डमा ट्यांकर नै विकल्प हो,’ उनले भने, ‘केही समयका लागि भारतबाट ट्यांकरमा पेट्रोल ओसारे पनि अब चाँडै सो रुटका ट्यांकरलाई अन्यत्र विस्थापन गर्ने विषयमा गहन छलफल भइरहेको छ ।’
०८१ असोजदेखि पाइपलाइनबाट पेट्रोल ढुवानी सुरु भए पनि निगमले ट्यांकरबाट समेत ओसारेर मासिक करिब पाँच करोड ढुवानी खर्चबापत भुक्तानी दिइरहेको विषयको आलोचना भएको छ । हाल सञ्चालनमा रहेको पाइपलाइनबाट देशभरको मागको करिब ७० प्रतिशत इन्धन आपूर्ति गर्ने क्षमता छ । पाइपलाइनबाट ल्याएको इन्धन अमलेखगन्ज डिपोले काठमाडौं, विराटनगर, पोखरा र भैरहवासम्म वितरण गर्छ, तर अमलेखगन्ज डिपोमातहतका करिब अढाई सय पम्पलाई वितरण गर्ने पेट्रोल भने ट्यांकरबाट ओसारेर निगमले अतिरिक्त भार खेपिरहेको छ ।
पाइपलाइनबाट ल्याउँदा एक रुपैयाँ ढुवानी खर्च नलाग्नेमा ट्यांकरलाई प्रतिट्रिप करिब ८० हजार रुपैयाँ दिएर पेट्रोल ढुवानी गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान अघि बढाएको छ ।
निगम प्रवक्ता मनोज ठाकुरले करारमा रहेका ट्यांकरलाई हटाएर रोजगारी खोस्नुभन्दा अन्य डिपोमा स्थानान्तरण गर्न लागिएको बताए । ‘निगमलाई अन्य डिपोमा तेल ढुवानी गर्न ट्यांकर आवश्यक छ । त्यसैले बरौनी–अमलेखगन्ज रुटमा प्रयोग भएका ट्यांकरलाई आवश्यक भएका डिपोमा तेल ओसार्ने गरी स्थानान्तरण प्रक्रिया थालेका छौँ,’ उनले भने ।
एक वर्षअघि पाइपलाइन तयार भए पनि इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट हालसम्म हस्तान्तरण भएको छैन । त्यसैले अहिले परीक्षणकालमै रहेको प्रवक्ता ठाकुरले बताए । ‘परीक्षणकाल चलिरहेकाले पाइपलाइन मर्मतलगायत विभिन्न कारणले समय–समयमा बन्द हुने गरेको छ । यस्तो वेला इन्धन आपूर्तिमा समस्या हुन नदिन पनि भारतबाट पेट्रोल ल्याउन ट्यांकरलाई करार गरेर राखेका हौँ,’ उनले भने ।
स्रोतका अनुसार हवाई इन्धन आपूर्ति र वितरण गरिरहेको निगमको सिनामंगल डिपोमा धेरै ट्यांकर स्थानान्तरण हुन थालेका छन् । यहाँ हवाई इन्धन ढुवानीका लागि थप ट्यांकरसमेत आवश्यक भएकाले पूर्ति गर्न लागिएको हो । त्यस्तै, विराटनगर, नेपालगन्जलगायतका डिपोतर्फ पनि केही ट्यांकर स्थानान्तरण गर्न छलफल भइरहेको स्रोतको भनाइ छ ।
निगमको अमलेखगन्ज डिपो प्रमुख प्रलयंकर आचार्यले एक महिनाअघिबाट बरौनीदेखि पेट्रोल ओसारिरहेका ट्यांकर स्थानान्तरण गर्ने गृहकार्य चलिरहेको दाबी गरे । ‘हामी एक महिनाअघिबाटै एक सय चार ट्यांकरलाई अन्यत्र स्थानान्तरणका लागि पहल गरिरहेका थियौँ । अहिले सो कार्यलाई थप तीव्रता दिइरहेका छौँ,’ उनले भने । अमलेगन्ज डिपोले काठमाडौं, विराटनगर, भैरहवा र पोखरामा वितरण गर्ने पेट्रोल पाइपलाइनबाट र स्थानीय पम्पलाई वितरण गर्ने पेट्रोल भने ट्यांकरबाट ओसारिरहेको छ । दैनिक २०–२५ गाडीबाट करिब पाँच लाख लिटर पेट्रोल ओसार्ने गरिएको छ ।
ल नेपालगन्ज डिपोमा
लखनउबाट इन्धन ढुवानी हुने
आइओसीले गोन्डास्थित डिपो बन्द गर्ने सूचना निगमलाई दिएको छ । त्यसैले, नेपालगन्ज डिपोमा आइओसीको लखनउ टर्मिनलबाट इन्धन ढुवानीको गृहकार्य अघि बढेको छ । ‘आइओसीले गोन्डा डिपो बन्द गरेर लखनउबाट इन्धन कारोबार गर्ने अनौपचारिक जानकारी गराएको छ, त्यसैले हामीले पनि आउँदा दिनमा लखनउबाटै तेल ल्याउन आवश्यक गृहकार्य गरिरहेका छौँ,’ उनले भने । गोन्डा–नेपालगन्जबिच करिब एक सय ५० किलोमिटर दूरी छ । लखनउबाट इन्धन ढुवानी गर्दा भने थप करिब ६० किलोमिटर दूरी तय गर्नुपर्छ । यसले समय र ढुवानी लागतसमेत बढ्नेछ । ‘गोन्डाबाट एक दिनमा तेल ल्याइरहेका छौँ, तर लखनउ जानुपर्यो भने दुई दिन लाग्ने देखिन्छ,’ डिसीले भने । नेपालगन्जबाट एक सय ८३ ट्यांकर इन्धन ढुवानीका लागि प्रयोग भइरहेका छन् ।