विराटनगर किंग्स र कर्णाली याक्सबिच शुक्रबार भएको खेलसँगै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा १६ खेल सकिएका छन् । गत वर्षको साबिक उपविजेता सुदूरपश्चिम रोयल्स चार खेलमै अपराजित रहँदै आठ अंकसाथ शीर्ष स्थानमा छ । सुदूरपश्चिमको तुलनामा एक खेल बढी प्रतिस्पर्धा गरेको विराटनगरले आठै अंकले पनि रनरेटमा दोस्रो स्थान रक्षा गरेको छ । शुक्रबारको खेलसम्म एनपिएलमा आबद्ध विदेशी खेलाडी नै हाबी देखिन्छन् । सर्वाधिक धेरै रन बनाउने सूचीको शीर्ष तीन स्थानमा विदेशी नै छन् । बलिङमा भने विराटनगरमा आबद्ध घरेलु खेलाडी सन्दीप लामिछाने शीर्ष स्थानमा छन् । धेरै विकेट लिने बलर सूचीको चौथो स्थानमा काठमाडौं गोर्खाजका कप्तान करण केसी छन् । समग्रमा अहिलेसम्म ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी यस्ता छन् ।
सर्वाधिक रन
रवि बोपारा (चितवन)
खेल : ४, रन : २०४, अर्धशतक : ३
इंग्ल्यान्डका पूर्वखेलाडी बोपारा लगातार दोस्रो सिजन पनि उत्कृष्ट फर्ममा छन् । एनपिएलको पहिलो सिजनमा पनि उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको शीर्ष पाँचभित्र रहेका थिए । चितवन राइनोजका बोपाराले चालू सिजनमा चार खेलमा चारै इनिङ्स ब्याटिङ गरी दुई सय चार रनको योगफल बनाएका छन् । उनी पहिलोपटक लगातार खेलमा अर्धशतकीय इनिङ्स खेल्न चुके । काठमाडौं गोर्खाजविरुद्धको प्रतिस्पर्धामा बोपारा २१ रनमा आउट भए । यसअघि उनले विराटनगरविरुद्ध ६५, लुम्बिनीसँग ५२ रन तथा कर्णालीसँगको प्रतिस्पर्धामा ५२ रनको योगदान दिएका थिए । बोपाराले १३४ स्ट्राइकमा ब्याटिङ गरी ११ छक्का र ११ चौका प्रहार गरेका छन् ।
प्रियांक पाञ्चाल (कर्णाली)
खेल : ४, रन : १६५, अर्धशतक : २
भारतका पाञ्चाल दोस्रो संस्करणको एनपिएलमा सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । उनले चार खेलमा चारै इनिङ्स ब्याटिङ गरी कर्णाली याक्सका लागि एक सय ६५ रन बटुलेका छन् । यस क्रममा उनले दुई शतकीय इनिङ्स खेलेका छन् । उनले १५० को स्ट्राइकमा ब्याटिङ गरी १४ चौका र नौ छक्का प्रहार गरेका छन् । शुक्रबार विराटनगरविरुद्धको खेलमा उनले केवल ४७ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ६३ रनको योगदान दिएका थिए । चितवन राइनोजविरुद्ध नर्भस नाइटिज सिकार हुँदा उनी ९० रनमा आउट भएका थिए ।
मार्क वाट (कर्णाली)
खेल : ४, रन : १५३, शतक : १
कर्णाली याक्सले अनुबन्ध गरेका विदेशी खेलाडीमध्ये मार्क वाट सबैभन्दा भरपर्दा ब्याट्सम्यान हुन् । उनले चालू एनपिएलमा एक शतकीय इनिङ्सको सहयोगमा समग्रमा एक सय ५३ रन बनाएका छन् । लुम्बिनी लायन्ससँगको खेलमा उनले एक सय १४ रनको शतकीय इनिङ्स खेलेका थिए । तर, त्यसपछिका खेलमा उनले सोचेजस्तो ब्याटिङमा कर्णालीलाई योगदान दिन सकेका छैनन् । विराटनगर किंग्ससँगको महत्वपूर्ण खेलमा उनले केवल ६ रन मात्र बनाए । वाटले १८२ स्ट्राइकमा ब्याटिङ गरी आठ चौका र १४ छक्का प्रहार गरेका छन् । उनी चालू एनपिएलमा एकपटक नटआउट रहे ।
रोहित पौडेल (लुम्बिनी)
खेल : ४, रन : १३४, स्ट्राइक : ९६.४०
दोस्रो संस्करणको एनपिएलमा स्वदेशी खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानमा लुम्बिनी लायन्सका कप्तान रोहित हुन् । चारै खेलमा ब्याटिङ गरी उनले एक सय ३४ रन जोडेका छन् । दुईपटक उनी अर्धशतकीय इनिङ्सनजिक पुगे पनि चुके । उनले चार खेलमा आठ चौका र दुई छक्का प्रहार गरेका छन् ।
लोकेश बम (विराटनगर)
खेल : ५, रन : १२७, अर्धशतक : १
एनपिएलमा व्यक्तिगत धेरै रन बनाउने खेलाडीको सूचीको पाँचौँ स्थानमा विराटनगरका लोकेश बम रहेका छन् । उनले पाँच खेलमा पाँचै इनिङ्स ब्याटिङ गरी एक सय २७ रन जोडेका छन् । यस क्रममा उनले एकपटक अर्धशतकीय इनिङ्स खेले । १२३ को स्ट्राइकमा ब्याटिङ गरेका बमले चार चौका र ११ छक्का प्रहार गरेका छन् । उनले पोखरा एभेन्जर्सको कमजोर ब्याटिङको फाइदा लिँदै ७२ रन जोडेका थिए । त्यसपछि उनले जनकपुर बोल्ट्सविरुद्ध दोस्रो सर्वाधिक २८ रन जोडे ।
धेरै विकेट
सन्दीप लामिछाने (विराटनगर)
खेल : ५, विकेट : १०, प्रदर्शन : ४/११
गत सिजनमा झैं विराटनगरका कप्तान सन्दीपले त्रिवि क्रिकेट रंगशालामा आफ्नो स्पिन बलको जादुमयी खेल प्रदर्शन गरिरहेका छन् । विराटनगर अंकतालिकाको दोस्रो स्थानमा रहँदा कप्तान सन्दीपको बलिङ असाधारण रह्यो । उनले पाँच खेलमा सर्वाधिक १० विकेट लिएका छन् । पाँचै इनिङ्स बलिङ गरेका उनले साबिक विजेता जनकपुर बोल्ट्समाथि नौ रनको सनसनी जितमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा उनले ११ रन खर्चेर जनकपुरका चार विकेट हात पारेका थिए । विराटनगरले पाँच खेल खेल्दा सन्दीप विकेटविहीन भएका छैनन् ।
हर्मित सिंह (सुदूरपश्चिम)
खेल : ४, विकेट : ९, प्रदर्शन : ३/२२
अमेरिकाका स्पिनर हर्मितले चालू एनपिएलमा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गरी सुदूरपश्चिमको अपराजित यात्रामा महत्वपूर्ण अलराउन्डर खेलाडी बनेका छन् । हर्मितले चार खेलमा नौ विकेट हात पारेका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी २२ रन खर्चेर नौ विकेट हात पारेका थिए । सुदूरपश्चिमले चार खेल खेल्दा उनले तीन खेलमा समान दुई विकेट हात पारे । काठमाडौं, पोखरा र कर्णालीसँगको खेलमा उनले दुई–दुई विकेट हात पारेका हुन् ।
मिलिन्द कुमार (काठमाडौं)
खेल : ४, विकेट : ९, प्रदर्शन : ३/१५
काठमाडौं गोर्खाजले लगातार दोस्रो खेलमा जित निकाल्दा अमेरिकाकै मिलिन्दको बलिङ प्रभावशाली देखिएको छ । चारै खेलमा बलिङको अवसर पाएका मिलिन्दले अहिलेसम्म नौ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने सूचीको तेस्रो स्थानमा छन् । इकोनोमी रेट राम्रो भएकाले मिलिन्द तेस्रो स्थानमा रहेका हुन् । अहिलेसम्म उनले चारै खेलमा विकेट हात पारेका छन् । जनकपुरविरुद्धको प्रतिस्पर्धामा १५ रन खर्चेर मिलिन्दले सर्वाधिक तीन विकेट आफ्नो नाममा लेखाए । यसबाहेक चितवन, लुम्बिनी र सुदूरपश्चिमसँगको खेलमा उनले समान दुई विकेट हात पारे ।
करण केसी (काठमाडौं)
खेल : ५, विकेट : ९, प्रदर्शन : ४/३०
काठमाडौंले लगातार दुई खेलमा जित निकाल्दा कप्तान करणले बलिङमा धारिलो प्रदर्शन गरेका थिए । पाँच खेल खेल्दा उनले नौ विकेट हात पारेका छन् । इकोनोमी रेटका कारण उनी सर्वाधिक विकेट लिने सूचीको चौथो स्थानमा रहेका हुन् । लुम्बिनी लायन्ससँगको खेलमा उनले ब्याटिङमा ३४ रन जोडेका थिए । उनले ट्रम्पेलम्यानको ओभरमा २८ रन जोडेका थिए । चालू सिजनमा उनको उत्कृष्ट बलिङ प्रदर्शन सुदूरपश्चिमविरुद्ध रह्यो । यस खेलमा उनले ३० रन खर्चेर सर्वाधिक चार विकेट हात पारेका थिए । काठमाडौंले शुक्रबार चितवन राइनोजमाथि जित निकाल्दा कप्तान करणले दुई विकेट हात पारेका थिए ।
मर्चान्ट डी लांगे (विराटनगर)
खेल : ५, विकेट : ८, प्रदर्शन : २/१७
एनपिएलको १६औँ खेलमा विराटनगरले कर्णाली याक्समाथिको तीन विकेटको सनसनी जित निकाल्दा डी लांगे खर्चिलो बलर बनेका थिए । उनले ४० रन खर्चेर एक विकेट मात्र हात पारे । तर, समग्रमा विराटनगरका लागि कप्तान सन्दीपपछि उत्कृष्ट बलिङ गर्ने खेलाडीमा उनी दोस्रो स्थानमा छन् । डी लांगेले अहिलेसम्म पाँच खेलमा आठ विकेट हात पारेका छन् । विराटनगरले पाँच खेल खेल्दा तीन खेलमा उनले समान दुई विकेट हात पारे । पोखरा, काठमाडौं र चितवनविरुद्ध उनले दुई–दुई विकेट हात पारे ।