मंसिर १३ गतेदेखि १९ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको मंसिर १३ गते शनिबारदेखि मंसिर १९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रमा लगानी गरेअनुसार फाइदा नहुने योग रहेको छ । गरिएका कामबाट दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुख–सुविधा र विलासिताका साथमा समय बित्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जग्गामा लगानी गर्नेहरूका लागि फाइदा राम्रो हुनेछ । पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ । आम्दानी रोकिनाले योजना स्थगित हुन सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हात पार्न नसकिएला । ईष्र्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन् । आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ । तापनि, मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आंशिक फाइदा हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । साताको अन्त्यमा व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । तर, मिहिनेतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला । साताको अन्त्यमा मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम बन्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । आँटेका काममा बाधा उत्पन्न हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्वपूर्ण समय घरेलु समस्यामै अल्झिनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधनप्राप्तिको योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । साताको अन्त्यमा व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । काम गर्ने वातावरण अनुकूल बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । मिहिनेत गर्दा अध्ययनमा पनि प्रगति हुने समय छ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । यो समय विशेष महत्वको हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । व्यापार–व्यवसायमा थोरै लाभ भए पनि ठुलो आवश्यकता पूरा हुनेछ । बिहीबारदेखि व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ । मानसम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।  अनावश्यक यात्राबाट जोगिनुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्ये धनआर्जन होला । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बोलीको कदर हुनेछ ।

See More On

सुझावित समाचार