पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रण एवं नियमन गर्नेबारे अन्तर्क्रिया कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको फ्रमुख आतिथ्यमा शुक्रबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महानिरीक्षक अर्यालले अन्तरदेशीय सीमा क्षेत्रमा हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारले देशको अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको बताए। सीमामा परिचालित सुरक्षाकर्मी तथा सरोकारवाला निकायले समेत सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।
सीमा नाकामा हुने अवैध गतिविधि तथा ओसारपसारमा संलग्नसम्बन्धी सूचना समयमा नै प्राप्त गर्न सीमा क्षेत्रको समुदायस्तरमा सूचक तयार गरी कार्य गर्न जरुरी रहेको उनको भनाइ थियो । राजस्व छली भएमा देशका लागि आर्थिक रूपमा हुने क्षति, रोगजन्य तथा स्वास्थ्यमा असर पर्ने विषादीयुक्त कृषिजन्य सामग्री प्रयोगमा रोक तथा स्वेदशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिन आवश्यकता रहेकोमा जोड दिँदै यस विषयमा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताए।
महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण कार्यमा एकले अर्कोलाई दोष लगाउनेभन्दा पनि आपसी समन्वय र सहकार्य गरी अवैध ओसारपसार र चोरी निकासीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सकारात्मक भावना लिएर इमानदारीका साथ कार्य गर्न सकियो भने राजस्व वृद्धिमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगरले खुला सिमानाका कारण हुने अवैध क्रियाकलाप तथा गतिविधिलाई न्यूनीकरण, रोकथाम तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रदेशस्तरमा समेत यस्ता कार्यक्रम सञ्चालनका लागि सम्बन्धित सरोकारवाला निकायसँग आपसी समन्वय तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए।

अन्तर्क्रिया कार्यक्रममा पशु सेवा विभाग हरिहरभवन ललितपुरका महानिर्देशक डा. रामनन्दन तिवारीले अन्तरदेशीय खुला सिमानाका कारण पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारको नियन्त्रण एवं नियमन, कृषि क्षेत्रको वर्तमान अवस्था, अवैध ओसारपसारले कृषि बजार क्षेत्रमा पारेको नकारात्मक प्रभाव, समस्या र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए। उनले अवैध चोरीपैठारी तथा निकासीले देशको आर्थिक क्षेत्रमा समेत नकारात्मक असर पारेको र यसको समाधानका लागि सरोकारवाला निकायको भूमिकासमेत उत्तिकै महत्त्वपूर्ण रहने बताए।
गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सीमानाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण तथा रोक लगाउने कार्यमा अन्तरनिकायबिच आपसी समन्वय र सहकार्य गरी सीमा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले सीमामा परिचालित सम्बद्ध निकायहरूलाई प्रविधि, स्रोतसाधन तथा भौतिक पूर्वाधारको समेत उपलब्धता गराउनुपर्नेमा जोड दिए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशन विनोदप्रसाद उपाध्यायले सीमानाकामा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप मान्यता प्राप्त बिलबिजक नभएका सामानको चेकजाँच गरी अवैध ओसारपसार नियन्त्रण गर्न सरोकारवाला निकाय तदारुकतासाथ लाग्नुपर्ने बताए।
भन्सार विभाग त्रिपुरेश्वरका निर्देशक ज्ञानेन्द्र ढकालले क्वारेन्टाइनका लागि दक्ष जनशक्ति तथा प्रविधिको उचित व्यवस्थापन गरी विषादी तथा रोगजन्य र पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रणमा सचेतना वृद्धि र क्वारेन्टाइन गर्नुपर्ने वस्तुहरूलाई सुविधासम्पन्न प्रयोगशाला तथा दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक मनीष थापाले स्वागत मन्तव्यको क्रममा सीमा सुरक्षाजस्तो संवेदनशील जिम्मेवारी निर्वाहमा सशस्त्र प्रहरी बल नेपाल परिचालित हुँदै आइरहेको र खुला सिमानाको कारण हुन सक्ने अवैध ओसारपसार नियन्त्रण सम्बन्धमा नियमित छलफल तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए।
अन्तर्क्रिया कार्यक्रममा विभिन्न व्यवसायी संघका पदाधिकारी तथा प्रतिनिधिहरुले खुला सिमानाको कारण हुन सक्ने पशु तथा कृषिजन्य पदार्थको ओसारपसार नियन्त्रण र व्यवसायमा देखिएका समस्या तथा समाधानको विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
सीमा सुरक्षासँग सम्बन्धित कुनै पनि जानकारी दिन र लिनका लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्बर १११४ र हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सशस्त्र प्ररहीले अनुरोध गरेको छ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, उद्योग विभागका निर्देशकलगायत कृषि तथा पशुपक्षी विकास मन्त्रालय सिंहदरबार काठमाडौंका पदाधिकारीहरूको समेत उपस्थिति थियो।