राजनीतिले अवमूल्यन गरेको मूल्य प्रणाली

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण
  • पार्टीहरूले आफूले अवलम्बन गरेको मूल्य प्रणालीमा आफैँलाई सापेक्षिक रूपमा अभ्यस्त गराउन नसक्दा राजनीतिको मूल्य प्रणाली अवमूल्यन भएको छ 

प्रणाली भनेको समाज वा व्यक्तिले महत्वपूर्ण मानेका नैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक वा राजनीतिक मूल्यहरूको संयोजन र संरचना हो, जसले जीवनशैली, सोचाइ र निर्णय प्रक्रियालाई मार्गदर्शन गर्छ । मूल्य प्रणाली भनेको व्यक्ति, समाज र संस्था अनि राष्ट्रले अंगिकार गरेका त्यस्ता आधारभूत मान्यता हुन्, जसले ‘के गर्नु हुन्छ र के गर्नु हुँदैन’ भन्ने सोच, व्यवहार र निर्णयलाई निर्धारण गर्छ ।

मूल्य प्रणालीका मुख्य विशेषता : नियम र मान्यता– के उचित, के अनुचित भन्ने सोच बनाउन सहयोग गर्छ । व्यक्तिगत र सामूहिक व्यवहारलाई मार्गदर्शन गर्ने– परिवार, समाज वा राष्ट्रका नियमलाई आधार दिन्छ । सांस्कृतिक निरन्तरता दिने– परम्परा, धर्म र संस्कृतिसँग जोडिन्छ । गतिशील हुने– समय, विचार र आवश्यकताअनुसार परिवर्तन हुन सक्छ ।

नेपाली समाजमा अभ्यास गरिएका मूल्य प्रणालीका दृष्टान्त यस्ता छन् : नेपाली समाजमा वृद्धवृद्धाको सम्मान गर्नु, ‘अतिथि देवो भव:’, सहअस्तित्व आदि मूल्य प्रणालीका अंश हुन् । ‘अतिथि देवो भव:’ पाहुनालाई देवताका रूपमा मान्ने मूल्य प्रणाली हो । वृद्धवृद्धाको सम्मान– परिवारको नैतिक मूल्य प्रणाली हो । वृद्धवृद्धा, केटाकेटी, रोगी, अशक्त र दीनहीनसँग प्रोटोकल आवश्यक मानिन्न भन्ने भाव सामाजिक न्याय र समताको मूल्य प्रणाली हो । मूल्य प्रणालीलाई हेर्ने विभिन्न सैद्धान्तिक दृष्टिकोण हुन्छन् । समाजशास्त्रीय दृष्टिकोण– समाजले आफ्ना सदस्यलाई व्यवस्थित राख्न लागि मूल्य प्रणाली विकास गर्छ । (जस्तै– परिवारमा ‘माता–पिताको सम्मान’ वा समाजमा ‘सत्य र न्याय’को सम्मान ।)

मानवशास्त्रीय दृष्टिकोण– मूल्य प्रणाली संस्कृतिसँग गाँसिएको हुन्छ । कुनै जाति, भाषा वा धार्मिक समूहको पहिचान नै उनीहरूको मूल्य प्रणालीबाट झल्किन्छ ।
समाजशास्त्रीय दृष्टिकोण– मूल्य प्रणाली भन्नाले कुनै समाज, समुदाय वा व्यक्तिले महत्वपूर्ण ठानेका आचार–विचार, मान्यता, आदर्श र नैतिक–सामाजिक मानकको संरचित समष्टि हो, जसले मानिसको व्यवहार, सोचाइ, सम्बन्ध र निर्णय–प्रक्रियालाई दिशा दिन्छ ।

दार्शनिक दृष्टिकोण– मूल्य प्रणाली ‘के सही हो ? के गलत हो ?’ भन्ने प्रश्नसँग सम्बन्धित हुन्छ । यसले नैतिकताको आधार बनाउँछ । मूल्य प्रणालीका थुप्रै प्रकार हुन्छन् : नैतिक मूल्य प्रणाली– सत्य, इमानदारी, करुणा, न्याय । सांस्कृतिक मूल्य प्रणाली– चाडपर्व, भाषा, परम्परा । धार्मिक मूल्य प्रणाली– पूजा, प्रार्थना, पवित्रता । सामाजिक मूल्य प्रणाली– सहयोग, समानता, सहअस्तित्व । आर्थिक मूल्य प्रणाली– मितव्ययिता, लगानी, श्रमको सम्मान । राजनीतिक मूल्य प्रणाली– लोकतन्त्र, मानवअधिकार, राष्ट्रप्रेम । समाजमा अभ्यास गरिने थुप्रै किसिमका मूल्य प्रणालीका आधारमा राजनीतिमा पनि पार्टीहरूले आफ्नो मूल्य प्रणाली स्थापना गरेर अभ्यास गरेका हुन्छन् । 

मूल्य प्रणालीका विशेषता : मूल्य प्रणालीले व्यवहारलाई नियन्त्रित गर्छ, स्थायित्व दिन्छ, तर यो परिवर्तनशील हुन्छ । मूल्य प्रणालीले सामाजिक एकता र पहिचान निर्माण गर्छ । जीवनलाई दिशा दिन्छ । विधान र सामाजिक वैधतालाई मानक ठान्छ । नेपाली राजनीतिमा मूल्य प्रणाली आजको शीर्षक भएका कारण नेपालमा रहेका प्रमुख दलहरूको मूल्यप्रणालीबारे संक्षिप्त चर्चा गरौँ : 

कांग्रेसको मूल्य प्रणाली : कांग्रेसको मूल्य प्रणाली उदार लोकतन्त्र, संवैधानिकता, मानवअधिकार र बहुलतावादमा आधारित छ । पार्टीले व्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन र बहुदलीय प्रतिस्पर्धालाई लोकतान्त्रिक आधारशिला मान्छ । उसको दीर्घकालीन वैचारिक मार्गदर्शन—समावेशी लोकतान्त्रिक समाजवादले सामाजिक न्याय, समान अवसर, श्रमको सम्मान र राज्यको सामाजिक उत्तरदायित्वलाई जोड दिन्छ । कांग्रेसको राजनीति क्रान्तिमुखीभन्दा पनि अहिंसात्मक, सहमति र मेलमिलापको चरित्रमा उभिएको देखिन्छ । आर्थिक मूल्यमा कांग्रेसले उदार बजार–अर्थतन्त्र र सामाजिक सुरक्षाबिच सन्तुलन खोज्छ ।

एमालेको राजनीतिक मूल्य प्रणाली : एमालेको मूल्य प्रणाली जनताको बहुदलीय जनवाद, सामाजिक न्याय, समानता र राष्ट्रियतामा आधारित छ । एमालेले समाजवादउन्मुख अर्थनीति, उत्पादनशीलता र वैज्ञानिक सोचमार्फत सामाजिक रूपान्तरणको कल्पना गर्छ । पार्टी–अनुशासन, संगठन–केन्द्रित नेतृत्व र कार्यदक्षताप्रति आस्था यसको विशिष्ट मूल्य मानिन्छ । राष्ट्रवाद, स्थिरता र संवैधानिक संस्थाको सम्मान एमालेको अर्को महत्वपूर्ण मूल्य–आधार हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) : यस पार्टीको मूल्य प्रणाली वर्गीय, जातीय, लैंगिक र क्षेत्रीय उत्पीडनका स्रोतलाई संरचनागत रूपमा भत्काएर समाजवादतर्फ अगाडि बढ्ने दीर्घकालीन दृष्टिमा आधारित छ । यसका मूल्यहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी राज्य संरचनामा निर्णायक योगदानसँग जोडिन्छन् । यस दलको लक्ष्य समानता, न्याय र मुक्तिमा आधारित सामाजिक पुनर्निर्माण रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : रास्वपाको उदय आफैँमा राजनीतिक मूल्य प्रणालीको नयाँ प्रयोग हो । यसले परम्परागत दलहरूको संरचनागत कमजोरीलाई चुनौती दिँदै भ्रष्टाचारविरुद्ध प्रणालीगत सुधार, पारदर्शिता, नागरिक–सेवा केन्द्रित शासन र प्रविधि आधारित निर्णय प्रक्रियालाई प्राथमिकता दिन्छ । रास्वपाको राजनीतिक मूल्य युवा नेतृत्व, योग्यता–आधारित उदय, व्यावहारिक राष्ट्रवाद र परिणाममुखी शासनप्रति केन्द्रित छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : राप्रपाको मूल्य प्रणाली संवैधानिक राजतन्त्र, हिन्दु–बौद्ध सांस्कृतिक राष्ट्रवाद, राष्ट्रिय एकता र राजनीतिक स्थायित्वमा आधारित छ । पार्टी विद्यमान अस्थिरता र कमजोर शासन व्यवस्थालाई परम्परागत संस्थागत संरचनाबाट स्थिर पार्न चाहन्छ । आर्थिक मूल्यका दृष्टिले राप्रपा उदार बजार–अर्थनीतिप्रति झुकाव राख्छ । पार्टीको राजनीतिक चरित्र क्रान्ति वा तीव्र रूपान्तरणभन्दा पनि क्रमिक, अनुशासित र परम्पराप्रति निष्ठावान् देखिन्छ ।

मधेशवादी दलहरू : मधेशवादी दलहरूको मूल्य प्रणाली पहिचानगत असमानता, नागरिकता समस्या, सांस्कृतिक अवमूल्यन र राज्य–संस्थागत बहिष्कारविरुद्धको संरचनात्मक संघर्षसँग जोडिन्छ । उनीहरूले नागरिकताको पूर्ण अधिकार, संघीयता, स्वशासन, भाषिक–सांस्कृतिक मान्यता, समान प्रतिनिधित्व र समावेशी लोकतन्त्रलाई कोर मूल्य मान्छन् । मधेश आन्दोलनले शान्तिपूर्ण प्रतिरोध, नागरिक लामबन्दी र अधिकारका लागि बलिदानी राजनीतिक संस्कृतिलाई स्थापित गरेको छ । यी दलको दीर्घकालीन मूल्यमा समानता, पहिचानको सम्मान र राज्य–पुनर्संरचनामा सहभागिता हो ।

सबै मूल्य मिलेर नेपालको राजनीतिक चेतना, लोकतान्त्रिक अभ्यास र सामाजिक रूपान्तरणको बहु संरचना तयार भएको छ । राजनीतिमा लोकतन्त्र, समानता र अधिकार संविधानमा आधारित मूल्य प्रणाली दलहरूको आधारभूत समान चरित्र देखिन्छ । यद्यपि, दलहरूलाई उनीहरूको राजनीतिक निष्ठा र मूल्यमा यसरी हेर्न पनि सकिन्छ । कांग्रेस आफूलाई लोकतन्त्र र स्वतन्त्रताको मुख्य वाहक सम्झन्छ । एमाले श्रमिक वर्ग, राष्ट्रिय उत्पादन र राष्ट्रियताको मूल पहरेदार आफूलाई दाबी गर्छ । नेकपाले सामाजिक न्याय, गणतन्त्रको प्रमुख स्टेक होल्डर र संरचनागत परिवर्तनको क्रान्तिकारी पक्षधर आफूलाई बताउँछ । रास्वपा नयाँ पुस्ताको वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको प्रचारक आफू हो भन्छ ।

राप्रपा परम्परागत धर्म, राजतन्त्र र राष्ट्रियताको संरक्षण आफ्नो प्रमुख दायित्व ठान्छ । मधेशवादी दलहरू आफूलाई संघीयता, पहिचान र स्वशासनका अग्रणी दाबी गर्छन् । कांग्रेसका नेता–कार्यकर्ता प्रजातन्त्रका लागि भनेर जेल जान गर्व गर्थे । प्रवासमा बस्न, घरबार त्याग्न तयार हुन्थे । प्रजातन्त्र बहालीलाई आफ्नो सर्वोच्च आदर्श ठान्थे । 

एमाले भूमिगत बन्न राजी हुन्थ्यो । प्रजातन्त्र बहालीका लागि गाउँघरमा सबैको प्रिय सहयोगी रहेर अनुशासित बनेर पुग्थ्यो । नेकपाले माओवादी जनयुद्धका वेला ०५२–०६३ सम्म सामूहिक खेतीको कुरा गर्थ्यो, जनकम्युनको अवधारणा केही ठाउँमा प्रयोगमा ल्याएको थियो । श्रमशिविर सञ्चालन गरेको थियो । मितव्ययिताको कुरा गर्थ्यो । स्याम्पुले नुहाउने कार्यकर्तासमेत कारबाहीको दायरामा आउँथे । 

मधेशवादीहरू आफूलाई मधेशी भन्न गर्व गर्थे । रङका आधारमा हुने भेदभावलाई निन्दा गर्थे । आफूलाई नेपाली माटोका पुजारी र सीमारक्षक ठान्थे । जेन–जीले २३ भदौमा हामीले यो गर्ने, यो नगर्ने भनेर रक्षा बममार्फत माइतीघरमा गरेको घोषणा पनि मूल्य प्रणालीकै एक रूप थियो । हामी कसरी चल्नुपर्छ, हामी के हौँ, हाम्रो उद्देश्य के हो ? हाम्रो बाटो कुन हो ? भन्ने बुझेर हामीले प्रस्तुत गर्ने आचार र व्यवहार नै वास्तवमा मूल्य हो । राजनीतिक पुँजी र परिचय हो । 

सारांश : नेपालका राजनीतिक दलले विकसित गरेका मूल्य प्रणाली भिन्न–भिन्न ऐतिहासिक अनुभव, सामाजिक स्वरूप, वर्गीय पहिचान, सांस्कृतिक पृष्ठभूमि र राजनीतिक संघर्षका मार्गबाट जन्मिएका छन् । कांग्रेसले उदार लोकतन्त्रको मूल्य स्थापित गर्यो । एमालेले संगठनात्मक समाजवाद र राष्ट्रियताको मूल्य बलियो बनायो । माओवादी (नेकपा) ले संरचनात्मक रूपान्तरणको आधार तयार गर्यो । रास्वपाले आधुनिक सुधारवादी राजनीति भिœयायो । राप्रपाले परम्परागत राष्ट्र–पहिचान र स्थायित्वलाई जोड दियो । मधेशवादी दलहरूले राज्य–संरचनाको समान, समावेशी र पहिचान–सम्बद्ध मूल्यलाई संस्थागत गरे । यी जे–जस्ता मूल्य राजनीतिक दलले स्थापना गरे पनि सामाजिक, नैतिक र सांस्कृतिक वैध मूल्य भने फरक हुन्छ ।

जसले आजको लाभ–हानिको हिसाब गर्दैन । दीर्घकालीन सोच र दृष्टिबोध गर्छ, त्यो नै खासमा मूल्य हो । मूल्य त्यो हो, जसले आजको सस्तो लोकप्रियता र भाइरल प्रवृत्तिमा आफूलाई परिचलान नगरी राष्ट्रहित र सामाजिक भलाइको साँघुरो, एक्लो र कठिन मार्ग तय गर्छ । सत्य र तथ्यका लागि एन्टी करेन्ट रहने सामथ्र्य र नैतिक तागत प्रस्तुत गर्छ । निष्ठाका लागि क्षणिक विजय–पराजयको वास्ता गर्दैन । नैतिक मूल्य मानक र आयाम स्थापनार्थ जीवनको संगीन घडी र अन्तिम अवस्थासम्म प्रयत्न गर्छ । आज पार्टीहरूले आफूले अवलम्बन गरेको मूल्य प्रणालीमा आफूलाई सापेक्षिक रूपमा अभ्यस्त गराउन सकिरहेका छैनन् । तसर्थ, हाम्रो राजनीतिको मूल्य प्रणालीको अवमूल्यन भएको छ । जसले आफू नासिन र मेटिन तयार हुन्छ, तर राष्ट्रलाई क्षति पुग्ने काम गर्दैन, त्यो नै मूल्य हो । राजनीतिमा लोकतन्त्र, समता अधिकार स्वतन्त्रता र संविधानवादमा आधारित मूल्य प्रणालीको खाँचो छ ।

सुझावित समाचार