निर्माण व्यवसायीकै नेताले अलपत्र पारेको कन्काई पुलको ठेक्का तोडियो

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

निर्माण व्यवसायीकै नेताले १४ वर्षदेखि अलपत्र पारेको हुलाकी राजमार्गअन्तर्गतको झापास्थित कन्काई पुलको ठेक्का तोडिएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको महादेव खिम्ती र पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनले संयुक्त रूपमा ठेक्का लिएर काम नगरेपछि सरकारले बिहीबार ठेक्का तोडेको हो । हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले ठेक्का तोडेसँगै दुवै कन्स्ट्रक्सन सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा समेत परेका छन् । 

निर्माण व्यवसायीले चित्तबुझ्दो जवाफ नदिनुका साथै निर्माणका लागि भरपर्दा आधार नदेखाएपछि ठेक्का रद्द गरिएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासले बताए । ‘काम सक्ने आधार र चित्तबुझ्दो जवाफ नपाएपछि हामीले ठेक्का तोड्ने सूचना निकालेका हौँ,’ उनले भने, ‘पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले कामको गति बढाउन सकेन । तसर्थ हामी ठेक्का तोड्ने निर्णयमा पुग्यौँ ।’ पप्पु–महादेव जेभीले २९ जेठ ०७२ मा निर्माण सक्ने गरी ३१ जेठ ०६८ मा ठेक्का पाएको थियो । झापा गाउँपालिका– २ र गौरीगन्ज गाउँपालिका— १ जोड्ने करिब ७२३ मिटर लम्बाइको पुल ३४ करोड नौ लाखमा ठेक्का लिएको थियो । 

पाँचपटकसम्म म्याद थप गरेर पनि निर्माण कम्पनीले १४ वर्षमा जम्मा ५६ प्रतिशत मात्र काम गरेको थियो । ०८० असारसम्म मूल्य अभिवृद्धि करसहित २३ करोड ६ लाख ७१ हजार भुक्तानी भने लगिसकेको आयोजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासले बताए । कम्पनीले तोकिएको अवधि २९ जेठ ०७२ मा काम नसकेपछि त्यसयता ०८० असारसम्ममा पाँचपटक म्याद थपिएको थियो । बारम्बार म्याद थप्दा पनि काम नगरेपछि आयोजनाले ३१ असोजमा सूचना जारी गर्दै ठेकेदारलाई १५ दिने स्पष्टीकरण सोधेको थियो । 

निर्माण व्यवसायीले समयमा काम नगर्दा नागरिकले सास्ती व्यहोर्नुपरेको छ । झापामा हुलाकी राजमार्गअन्तर्गतको सडक र अन्य पुल बनिसक्दा पनि कन्काई पुल भने अलपत्र छ । नदी तरेर पाँच किलोमिटरमा हुने यात्रा बर्खामा ठुलो पानी पर्दा पूर्व–पश्चिम राजमार्ग हुँदै घुम्दा करिब ४० किलोमिटर छिचोल्नुपर्छ । यस्तो अवस्थामा नागरिकले हिउँदमा बाँसको पुल र बर्खामा डुंगामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि गौरीगन्ज गाउँपालिकाले बाँसको पुल र डुंगा सञ्चालनका लागि ठेक्का लगाएको छ । चालू आवमा गाउँपालिकाले तीन लाख ६० रुपैयाँमा ठेक्का लगाएको छ । डुंगा र पुल सञ्चालकले एकपटक यात्रा गर्दा मान्छेको ५० तथा मोटरसाइकलसहित मान्छेको १५० रुपैयाँ लिने गरेका छन् ।

पुल सम्पन्न गर्न लाग्ने रकम महादेव र पप्पुबाटै असुल गरिने, लागत मूल्यांकन गर्न बाँकी
सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द भएसँगै महादेव–पप्पु जेभीको बैंक ग्यारेन्टी जफत हुनुका साथै पुल निर्माणका लागि लाग्ने बाँकी रकमसमेत असुल गरिने भएको छ । एक करोड ७१ लाख बैंक ग्यारेन्टी जफत गर्न बैंकलाई बिहीबार नै पत्र लेखिएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका सूचना अधिकारी दासले बताए । अब पुलको बाँकी काम निर्माण गर्न लाग्ने रकम मूल्यांकन गरेर असुलउपरका लागि सडक विभागलाई पत्र लेखिने उनले बताए । ‘नियमअनुसार जमानत जफत गरेर धरौटी खातामा जम्मा गर्न लगाउँछौँ । त्यसपछि कामको मूल्यांकन गरेर बाँकी असुलउपर गर्छौँ,’ उनले भने, ‘यो प्रक्रिया तत्कालै सुरु गर्नेछौँ ।’ 

सार्वजनिक खरिद नियमावलीको नियम ११३ को उपनियम ८ मा बैंकमा ग्यारेन्टी जफत गर्ने व्यवस्था छ । यस्तै, नियमावलीको नियम १२८ मा बाँकी काम पूरा गर्न निर्माण व्यवसायीबाट असुल गर्ने उल्लेख छ । १२८ (घ) मा भनिएको छ, ‘सम्झौताको अन्त्य गर्ने र सम्झौताबमोजिम काम नगर्ने आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदाताको खर्चमा त्यस्तो कार्य सम्पन्न गराउने ।’ सार्वजनिक खरिद नियमावलीअनुसार अब निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न लाग्ने रकम व्यहोर्नुपर्नेछ । निर्माण व्यवसायीले भने ०८० असारयताको काम गरेबापत तीन करोड माग दाबी गरेको उनले बताए । यद्यपि, म्याद थप नभई काम गरेका कारण उक्त रकम भुक्तानी नहुने उनले बताए । यसबिचमा ल्याब परीक्षणका क्रममा पुल निर्माणमा देखिएको त्रुटि सच्याउने काम निर्माण कम्पनीले गरेको छ । तर, त्रुटि सच्याएर पनि पुन: परीक्षण नभएको सूचना अधिकारी दासको भनाइ छ । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा यो पुल निर्माणको जिम्मा लिएको महादेव खिम्तीका सञ्चालक रवि सिंहले भने ठेक्का तोड्ने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताए । ‘ठेक्का तोड्ने सूचना निकालेको जानकारी पायौँ । हामीले हाम्रा कुरा पनि जवाफमा प्रसस्तै राखेका छौँ । हामीले योजना पनि पेस गरेका थियौँ । तर, ठेक्का तोडियो,’ उनले भने, ‘ठेक्का तोड्ने निर्णयविरुद्ध हामी कानुनी उपचार खोज्छौँ ।’ 

सुझावित समाचार