उद्योगी व्यावसायीको समस्याहरू समाधानका बिषयमा सिद्धार्थ उद्योग वाणिज्य संघले अर्थमन्त्री रामेश्वर खनालसँग छलफल गरेको छ । सो अवसरमा सबै व्यावसायी खराब नहुने भन्दै केहीका कारण व्यवसायी र सरकारबिचको सम्बन्धमा असर पर्नु नहुने व्यवसायीहरूको सुझाव थियो । यस्तै, मन्त्री खनालले पनि उद्योगी–व्यवसायीसँग सहजीकरणतर्फ सरकार अघि बढीरहेको बताए ।
अर्थमन्त्री खनालले औपचारिक व्यापारलाई संस्थागत गर्न भैरहवा भन्सारले जाँचपास परीक्षण कार्यालय स्थापना गरी आर्थिक पार्दशिताको सुरुवात समेत गरेको बताए । साथै, भुमि व्यवस्थापन निमावली कार्यान्वयनमा रहेको र कृषिक्षेत्र तथा भुमि र जग्गा प्लटिङको नियम व्यवस्थापन सुरु गर्न सरकार लागेको अर्थमन्त्री खनालले बताए । उनले पर्यावरणीय सन्तुलनलाई क्षति नपुग्ने गरी ढुङ्गा गिटी निकासीको सम्भावना बारे अध्ययन भइरहेको पनि बताए । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणस्थल निर्माणपछि व्यवासायीहरूले यसक्षेत्रमा अर्बौ लगानी गरेको र विमानस्थल पूर्ण सञ्चालनमा सहजीकरण गरिरहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको सरकारले सुसासनका लागि गरेको कार्यले उद्योगी व्यवसायी उत्साहित भएको बताए ।
संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा निजी क्षेत्रको लगानी जोखिममा परेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । व्यवसायीहरूले वस्तु निकासीमा स्पष्ट नीति नहुनु, भन्सार नाकामा फरक–फरक नियम हुनु, ओभरलोड नाममा हुने जरीवाना, उच्च बैंक ब्याजदर तथा अनुदान कटौतीका कारण निर्यातमुखी उद्योग प्रभावित भएको उल्लेख गरे ।
चोरी–तस्करी बढेकाले वैध व्यापार कमजोर बन्दा राजस्वमा समेत असर परेको व्यवसायीहरुको भनाइ छ । यसका लागि सीमाक्षेत्रमा कडाइ, व्यवसाय–नवीकरण तथा कर प्रक्रियामा डिजिटल प्रणाली लागू गर्न माग गरे ।
भन्सार विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार, व्यवसायी र ग्राहक मिलेर काम गर्ने हो भन्दै चोरी तस्करी नियमन्त्रणमा सबै एकजुट भएर काम गर्नुपर्ने बताए । खुला नाका भएको कारण चोरी तस्करीलाई नियन्त्रण गर्न भन्सारभित्रबाट निकासी पैठारी गर्न आग्रह गरे ।
राजस्व अनुसन्धान विभागमा महानिर्देशक तिर्थ चिलुवालले उद्योगी व्यापारीको कुनै समस्या भए आफुलाई खबर गर्न आग्रह गरे । नक्कली बिलविजकको भयाभह अवस्था रहेको उनले बताए ।