सहरको भौगोलिक अवस्थिति, पूर्वाधार निर्माण, विकास क्रियाकलाप, प्राचीन संरचनालगायतका वस्तु, सेवा, पूर्वाधार तथा अवस्थाको तथ्य प्राप्त गर्न यसअघि प्रयोगमा ल्याइएका प्रविधिसँग जोड्दै लाइडार (लाइट डिटेक्सन एन्ड रेन्जिङ) प्रविधि उपयुक्त हुने विज्ञहरूले बताएका छन् ।
आज सूचना प्रविधि विभागले आयोजना गरेको लाइडार प्रविधि र यसको काठमाडौं महानगरपालिकामा प्रयोगको सम्भावना विषयक अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले यस्तो सम्भावना देखाएका हुन् । अन्तर्क्रियामा सहरी योजना आयोगका सदस्यहरू, सहरी व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, वातावरण व्यवस्थापन विभाग, विपत् व्यवस्थापन विभाग, सम्पदा तथा पर्यटन विभागबाट विभागीय प्रमुख, महाशाखा प्रमुख, इन्जिनियर र प्राविधिकहरूलाई सहभागी गराइएको थियो ।
लेजर सिग्नल प्रयोग गरेर सूक्ष्म थ्रिडी नक्सा र डिजिटल ट्विन बनाउने विधि लाइडार हो । भौगोलिक सतह, संरचना र वातावरणका विभिन्न वस्तुहरूको उच्च र सटिक दूरी नाप, थ्रिडी मोडलिङ, भू–आकृति विवरण प्राप्त गर्न तथा विश्लेषण गर्न (लाइडार) प्रविधिको प्रयोग हुने गरेको बताउँदै प्रविधि महाशाखा प्रमुख अशोक श्रेष्ठले भने, ‘सहरी योजना, नक्सांकन, पूर्वाधार निर्माण, वातावरण तथा सम्पदा क्षेत्रको निगरानी र व्यवस्थापन, विपत् व्यवस्थापन, स्मार्ट सिटीको विकासजस्ता कामका लागि महानगरपालिकाले प्रविधि प्रयोगमा ल्याउन सक्ने सम्भावना छ ।’
कार्यक्रममा प्रस्तुतीकरण गर्दै जियोमेटिक्स इन्जिनियर कविराज रोकायाले यो प्रविधिबाट दुई सेन्टिमिटरसम्मका वस्तुहरूको स्पष्ट नक्सांकन र नाप गर्न सकिने बताए । ‘संरचना, अवस्थिति, वस्तु र अवस्थामा आएको परिवर्तनलाई टाइम सिरिज चेन्जेजबाट तुलना गरेर देखाउन सकिन्छ । सम्पदा निर्माण गर्ने व्यक्ति सकिँदै गएका छन् । सहरी विकास, सम्पदाको उपयोग, मौसमजस्ता कारण सम्पदा पनि परिवर्तन भएका छन् । यसवेला सम्पदाको अद्यावधिक अवस्थालाई नापसहितको अभिलेखन गर्न आवश्यक छ । यसका लागि लाइडार प्रविधि उपयुक्त हुन सक्छ,’ रोकायाको भनाइ छ ।
त्यसक्रममा महानगरपालिकाको सभा कक्ष, कीर्तिपुरको तिलञ्चो स्तुप, माइतीघर मण्डला चोक, बालाजु बाइसधारा उद्यानलगायत स्थानमा गरिएको थ्रिडी स्क्यान र त्यसबाट निर्माण भएको डिजिटल सामग्री प्रदर्शन गरिएको थियो ।
यो प्रविधि इनडोर म्यापिङ (भवनभित्रका संरचना, कोठा र सुविधाहरू), सांस्कृतिक सम्पदा (उचाइ, गोलाइ, निर्माण सामग्रीको नाप, एक वस्तुदेखि अर्को वस्तुसम्मको दूरी), पूर्वाधार (सडक, ओभरपास, पार्क, भवनको डिजिटल निगरानी, आपतकालीन व्यवस्थापन आदि) र सहरी विकास योजनामा चाप भएका क्षेत्रहरूको नक्सांकन, दीर्घकालीन योजना निर्माणका लागि तथ्यांक उत्पादनका लागि बढी उपयोगी हुने विज्ञहरूको भनाइ छ ।
यो प्रविधि संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, युरोपेली मुलुकलगायत विकसित देशहरूले प्रयोग गर्दै आएका छन् । स्थानीय स्तरमा वन, भू–उपयोगलगायतका क्षेत्रको सर्वेक्षण र नक्सांकनमा यसको प्रयोग धेरै भएको देखिन्छ ।