बढ्दो विद्युत् कटौती र संकुचित अर्थतन्त्रबिच विकल्पहीन बन्दै छन् क्युबाली नेता

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
  • आजको क्युबाको अवस्थाका लागि अमेरिकी प्रतिबन्ध पनि जिम्मेवार नभएको होइन, तर नेताका खराब नीति पनि दोषमुक्त छैन

क्युबा बारम्बार देशव्यापी अन्धकारमा डुब्न थालेको छ । पछिल्लोपटक सेप्टेम्बर १०, २०२५ मा सम्पूर्ण क्युबा अन्धकारमा डुब्यो, जुन यो वर्षभित्रको पाँचौँ यस्तो घटना थियो । यसपटक करिब २४ घण्टा बिजुली आएन । यसरी बिजुली काटिँदा अस्पतालजस्ता अत्यावश्यक सेवासमेत प्रभावित भए । क्युबाको पावर ग्रिड निकै पुरानो भएर मर्मत गर्न गाह्रो भएकाले बिजुली सुचारु गर्न समय लाग्यो । यसले देशले सामना गरिरहेको ठुलो आर्थिक समस्यातर्फ औँल्याउँछ । 

यो छुटाउनु हुँदैन कि क्युबाले भोगिरहेका समस्याका पछाडि अमेरिकाले दशकौँदेखि लगाएको नाकाबन्दीको हात छ । अमेरिकाले सन् १९६० देखि यो सानो क्यारेबियन टापुको अमेरिकी व्यापार र पर्यटनलाई अवरोध पुर्याएको छ । 

भियतनाम र चीनजस्ता अन्य नाम मात्रका कम्युनिस्ट देशले केही दशकमै आफ्नो अर्थतन्त्रमा निजी क्षेत्रको विकासलाई सहज बनाए । तर, हवानाका अधिकारीहरूले भने नीति क्षेत्रको भूमिका वृद्धिमाथि अझै अवरोध तथा प्रतिबन्ध लगाएका छन् । सायद, सरकारी व्यवसायमाथि चुनौती नआओस् भनेर होला । परिणामस्वरूप क्युबा निजी क्षेत्रमार्फत हासिल गर्न सक्ने आवश्यक आर्थिक वृद्धि हासिल गर्न असमर्थ भएको छ । यस क्रममा क्युबाको कम्युनिस्ट सरकारले लोकप्रिय असन्तुष्टिको सामना गर्न थालेको छ । यो बढ्दै गयो भने यसले अस्तित्वगत खतराको सामना गर्न सक्छ । 

संकटका बाह्य कारक
सन् २०२० देखि क्युबाको कुल गार्हस्थ उत्पादन लगभग ११ प्रतिशतले घटेको छ । अर्थशास्त्रीहरूले सन् २०२५ मा यसमा थप एक–दुई प्रतिशतको गिरावटको पूर्वानुमान गरेका छन् । यस गिरावटको पछाडि धेरै कारण छन् । पर्यटन, क्युबाको जीवनरक्त थियो । तर, कोभिड–१९ महामारीपछि नराम्ररी प्रभावित यो क्षेत्र अझै उठ्न सकेको छैन । उता सन् २००० को दशकदेखि नै तेल निर्यातमा उलेख्य छुट दिइरहेको भेनेजुएला आफैँ आर्थिक कठिनाइसँग जुध्नुपरेकाले ऊसँग अब त्यो क्षमता बाँकी रहेन । यसबाहेक, क्युबामा निरन्तर ऊर्जा अभावले कृषि र औद्योगिक उत्पादनमा ठुलो गिरावट ल्याएको छ ।

व्यापक दृष्टिकोणबाट हेर्दा अमेरिकी प्रतिबन्धले क्युबाली अर्थतन्त्रलाई हानि पुर्याइरहेको छ । ६० वर्षभन्दा लामो समयदेखि, क्युबालीहरू संयुक्त राज्य अमेरिकामा आफ्ना उत्पादन बेच्न असमर्थ छन् । सीमित क्षेत्रमा बाहेक अमेरिकीहरू पनि क्युबामा यात्रा र व्यापार गर्न सक्दैनन् । यस प्रतिबन्धले क्युबाली अर्थतन्त्रलाई कति हदसम्म क्षति पुर्याएको छ भन्नेबारे फरक–फरक अनुमान छन् । तर, क्युबालीहरूले भन्ने गरेको यस ‘नाकाबन्दी’ले क्युबालाई प्रत्येक वर्ष कम्तीमा अर्बौं डलर नभए पनि करोडौँ डलरको व्यापारबाट वञ्चित गर्छ, विशेषगरी कृषि र पर्यटनमा ।

घरेलु सुधारतर्फका कदम
बाह्य कारकले असर पारे पनि क्युबालीहरूले सामना गरिरहेका कैयौँ आर्थिक कठिनाइ सरकार आफैँले निम्त्याएको हो । क्युबाली नेताले आर्थिक निजीकरणतर्फ ढिलो, सीमित र कतिपय अवस्थामा मनमानी कदम अपनाएका छन् । विशेषगरी एसियाका कम्युनिस्ट देश चीन, भियतनाम, लाओससँग तुलना गर्दा त्यस्तो देखिन्छ ।

सन् २००८ मा फिडेल क्यास्ट्रो सार्वजनिक जीवनबाट अलग रहन थाले । त्यसपछि, क्युबाको नेतृत्व सम्हालेका फिडेलका भाइ राउल क्यास्ट्रोले निजी उद्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले क्रमबद्ध सुधार घोषणा गरे । त्यसपछि लामो समयदेखि सरकारी प्रतिबन्धमा रहेका निजी क्षेत्र खुल्न थाले । राउलको नेतृत्वमा राज्यले क्युबालीहरूले आफ्नो घर स्वामित्व लिनेदेखि तिनको खरिद–बिक्री गर्ने अनुमति पाए । साथै उनीहरूले आफ्नै व्यवसाय पनि खोल्ने र नाता नभएकालाई रोजगारी दिन पाउने छुट पाए । यो व्यवस्था फिडेलको नेतृत्वमा निषेधित थियो । त्यो समयमा सरकारले देशभित्र लगानी गर्न विदेशीलाई पनि अनुमति दियो । मुख्यतया पर्यटकीय पूर्वाधारमा यस्तो व्यवस्था गरियो । 

क्युबालीले दशकौँपछि पहिलोपटक आफ्नै जग्गाको स्वामित्व लिन, खाद्यान्न उब्जाउन र बजारमा बेच्न अनुमति पाएका थिए । केही सीमामा रहेर तिनले वस्तुको मूल्यसमेत तय गर्न सक्ने भए । योसँगै कुनै वेला व्यापक प्रचलनमा रहेको सामूहिक फार्महरू लोप हुन थाले । 

यस परिवर्तनको बलमा सन् २०१७ सम्ममा, लगभग १३ प्रतिशत काम गर्न सक्ने जनसंख्याले व्यवसाय सुरु गर्ने इजाजतपत्र पाइसकेका थिए । निजी क्षेत्रले कुल कामदारको लगभग एक्तिहाइलाई रोजगारी दिन सक्ने भइसकेको थियो । यी सुधार लागू भएपछिका वर्षमा क्युबामा औद्योगिक र खाद्य उत्पादनमा उछाल देखियो । सन् २००० को दशकको मध्यतिर क्युबामा उलेख्य आर्थिक वृद्धि देखियो, जुन कुनै समय १० प्रतिशतभन्दा बढी पुगेको थियो । 

सुधारमा विराम
दुर्भाग्यवश क्युबालीका लागि सुधारको प्रवृत्ति जारी रहेन । एक हदसम्म सन् २००० को दशकमा क्युबाको समृद्धि खासमा भेनेजुएलाको अनुदानको आधारमा निर्माण भएको थियो, क्युबाली उद्यमीको बलमा होइन । भेनेजुएलाका दिवंगत राष्ट्रपति तथा फिडेल क्यास्ट्रोका प्रशंसक ह्युगो चाभेज सन् १९९९ मा सत्तामा आएपछि उनको सरकारले क्युबालाई अनुदानमा तेल दिन थालेको थियो । भेनेजुएलाले क्युबालाई अनुकूल सर्तमा ठुलो परिमाणमा तेल प्रदान गर्यो । बदलामा क्युबाले भेनेजुएलाको अस्पताल र क्लिनिकमा क्युबाली डाक्टर पठायो । 

अनुसन्धानकर्ताको अनुमानअनुसार भेनेजुएली सरकारले सन् २०१६ सम्म क्युबाली अर्थतन्त्रलाई प्रतिवर्ष नौ अर्ब अमेरिकी डलरसम्म अनुदान दिएको थियो । भेनेजुएलाको तेलका कारण देखिएको वृद्धिले क्युबाली अर्थतन्त्रको एक कठोर वास्तविकता ढाकछोप भएको थियो, सुधारका बाबजुद क्युबाली उद्यमी बोझिलो र प्राय: भ्रष्ट राज्य नीतिका कारण अघि बढ्न सकिरहेका थिएनन् ।

निरन्तर अस्थिरताका कारण अधिकांश निजी व्यवसाय साना व्यवसायमै सीमित थिए । ती प्राय: रेस्टुराँ, कपाल काट्ने, सिलाइ गर्ने र मर्मत गर्नेजस्ता व्यक्तिगत सेवामा लागे । खासमा क्युबाली नोकरशाहले सरकारी स्वामित्वमा रहेका व्यवसायसँगको निजी क्षेत्रको प्रतिस्पर्धालाई रोक्न खोज्छन् । निजी क्षेत्र बलियो भए आफ्नो शक्ति र विशेषाधिकार अन्त्य हुने तिनको डर छ । त्यसबाहेक, निजी फर्ममाथि ठुलो कर लागू छ ।

अहिले अनुमति दिइएका ठुला निजी व्यवसाय लगभग सबै नै शीर्ष राजनीतिज्ञका साथी वा परिवारका सदस्य रहेको स्रोतले देखाउँछन् । अर्थात्, औसत क्युबाली निजी उद्यमको पहुँचबाहिरै छन् । निश्चित रूपमा केही सफलता पनि हासिल भएका छन् । खुद्रा सामान बिक्री–वितरणको क्षेत्रमा परिणामका हिसाबले निजी क्षेत्रले अहिले सरकारी क्षेत्रले भन्दा बढी हिस्सा ओगटेको छ । तर, निजी क्षेत्रमा रोजगारी श्रमिकको हिस्सा सन् २०१९ मा जति थियो, अहिले पनि त्यति नै छ । त्यस्तै, निजी उद्यमले क्युबाको कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत मात्र ओगटेको छ । 

अस्थिर वर्तमान र सीमित विकल्प
एकपछि अर्को संकटको सामना गर्न थालेपछि क्युबाली नेताले सबै समस्याका लागि अमेरिकी प्रतिबन्ध र वासिंटनको नीतिलाई दोष दिइरहेका छन् । उसो त राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनपछि क्युबाप्रति अमेरिका झन् कठोर बन्दै छ । उसो त विगतमा निकै कठिन अवस्था पनि पार गरेको अवस्थलाई सम्झेर केही आशा गर्ने ठाउँ छ, तर अहिलेको समय निकै कठिन देखिन्छ । 

वर्षौंदेखि क्युबाली शासकको गर्भको विषय रहेको क्युबाली स्वास्थ्य प्रणाली निरन्तर खस्किरहेको छ । अहिले यसले आवश्यक औषधिसमेत प्रदान गर्न सक्दैन । अपराध बढिरहेको छ । त्यस्तै, मुद्रास्फीतिले डलरको तुलनामा क्युबाली पेसोको मूल्य हरेक हप्ता घट्ने गरेको छ । विदेशमा पुगेका नातागोताको राम्रो आर्थिक अवस्था देखेसुनेका क्युबालीले आफ्नो देशमा पनि त्यस्तै चाहना राख्नु अस्वाभाविक होइन ।

ऐतिहासिक रूपमा क्युबालाई यसको क्रान्तिलाई सहयोग गर्न इच्छुक विदेशी संरक्षकले संकटबाट निकाल्ने गर्थे । तर, उसको पुरानो मित्र रुसको रणनीतिक स्थिति, चीनको विश्वव्यापी प्राथमिकता र भेनेजुएलाको कठिनाइले अहिले यस्तो सहयोग असम्भव बनाउँछ । अमेरिकाले अब ल्याटिन अमेरिकामा असहयोगी देशमाथि दबाब बढाउँदै गर्दा हवानाले कठिनाइ भोग्दै छ । यसले क्युबाली सरकारसँग सीमित विकल्प मात्र छोड्छ । यसले आफ्ना नागरिकको इन्टरनेटमा पहुँच प्रतिबन्धित गर्ने प्रयास जारी राख्ने प्रयास गर्दै छ । 

क्युबाका नेताले आफ्ना सुरक्षा बलको बफादारितामाथि भर गर्न सक्छ । तथापि, सरकारले दमनमार्फत लामो समय सत्ता टिकाउन सक्ने सम्भावना छैन । बरु, क्युबाका नेताले निजी क्षेत्रलाई थप सुधार गर्ने र राज्यभित्रको भ्रष्टाचार हटाउनु उत्तम कदम हुनेछ । 

गोन्जालेज एपलाचियन स्टेट युनिभर्सिटीका ‘ग्लोबल स्टडिज’का सहप्राध्यापक हुन् । 

सुझावित समाचार