नेकपा एमाले कञ्चनपुरका पदाधिकारी महाधिवेशन प्रतिनिधि सदस्यको दौडमा देखिएका छन् । एमालेको आउँदो मंसिर २७ देखि २९ गतेसम्म काठमाडाैंमा हुने ११औँ महाधिवेशनका लागि एमाले जिल्लाका एक पदाधिकारीबाहेक अन्य सबै महाधिवेशन प्रतिनिधिको दौडमा छन् । उपसचिव राजीव खड्काबाहेक अन्य सबै पदाधिकारी जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि देखिएका हुन् ।
क्षेत्र १ बाट जिल्ला पार्टी सचिव पल्लवराज भट्ट, क्षेत्र २ बाट जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपसचिव अशोककुमार चन्द र क्षेत्र ३ बाट उपाध्यक्ष जनकराज अवस्थीले महाधिवेशन प्रतिनिधि सदस्यको दौडका लागि उम्मेदवारी दर्ता गराएका छन् । देशभर प्रतिनिधि छनाेटका लागि १३मंसिर (शनिबार) एकसाथ हुँदै छ । एमाले कञ्चनपुरका नेताहरूका अनुसार क्षेत्र ३ मा मात्रै महिला सदस्य कोटाबाट चिनी गिरी, दलित महिलातर्फ लक्ष्मी विक निर्विराेध छनाेट भएका छन् । दलित पुरुषतर्फ भारमल सुनार र आरपी सार्कीको उम्मेदवारी परेको छ ।
क्षेत्र १ मा मन्त्रीदेखि युवाहरू महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा (पातल), पूर्व जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, लालबहादुर चौधरी, महिलातर्फ पूर्णकुमारी गुरुङ, शान्ति तामाङ, कल्पना गिरी, कमला चौधरी र युवातर्फ सुरेन्द्र शाही, कमलकुमार रोकाया र काशीराम बोहरा रहेका छन् ।
नेकपा एमाले क्षेत्र १ कञ्चनपुरका युवा नेता शंकर भट्टले सहमतीय आधारमा महाधिवेशन टुंग्याउने प्रयास भइरहेको बताए । क्षेत्र २ मा पनि पूर्वजनप्रतिनिधिदेखि युवाहरू देखिएका छन् । एमाले युवा नेता जगत सिंहका अनुसार बचन सिंह, गणेशसिंह ऐरी, लोकराज पन्त, लोकेन्द्र ऐरी, कर्णबहादुर हमाल, सुशीला सिंह, पार्वती जोशी, लक्ष्मी विक, कुवेर खडका, गणेशसिंह ऐरी, रमेश भट्ट, नरेश सिंह, सानु मल्लले उम्मेदवारी दिएका छन् ।
क्षेत्र ३ बाट पार्टी उपाध्यक्ष जनकराज अवस्थी, महेशप्रसाद पन्त, किशोरकुमार लिम्बू, विष्णु कँडेल, ओम बस्नेत, केशव चन्द, श्याम भट्ट, नरेन्द्र कार्की, ओमकार पन्तले उम्मेदवारी दिएका छन् । शनिबार महाधिवेशन प्रतिनिधि एकसाथ छनाेट गर्नुपर्नेछ । कतिपय जिल्लाका एमाले नेताहरूले पार्टी अध्यक्ष केपी ओली सोही लाइनले चाहेका मात्रै महाधिवेशन प्रतिनिधि छनाेट हुने गुनासो गरिरहेका छन् ।