लगातार तीन खेलमा जित निकालेको सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सुदूरपश्चिम अपराजित यात्रा जारी राखी शीर्ष स्थान बलियो बनाउने योजनामा छ ।
लगातार दुई हारपछि जितको खोजीमा रहेको लुम्बिनी भने बलियो सुदूरपश्चिमलाई रोक्ने रणनीतिका साथ मैदानमा ओर्लनेछ । पहिलो खेलमा चितवनविरुद्ध जित निकालेपछि लुम्बिनी कर्णाली याक्ससँग नौ विकेट तथा काठमाडौं गोर्खाजबाट २२ रनले पराजित भएको थियो ।
सुदूरपश्चिमलाई हराउँदा लुम्बिनीको पनि शीर्ष चारमा रहँदै प्लेअफको आशा यथावत् रहनेछ । लुम्बिनीमाथिको जितले सुदूरपश्चिमको प्लेअफको स्थान लगभग पक्का हुनेछ । लुम्बिनीको तुलनामा सुदूरपश्चिम निकै बलियो देखिन्छ । साबिक उपविजेता सुदूरपश्चिमले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । विशेषत: बलिङमा सुदूरपश्चिमका अमेरिकन खेलाडी हर्मित सिंहले प्रत्येक खेलमा घातक बलिङ गरिरहेका छन् । उनी ब्याटिङमा समेत विस्फोटक रूपमा प्रस्तुत हुन सक्छन् । लुम्बिनीको ब्याटिङमा कप्तान रोहितकुमार पौडेल फर्ममा छन् ।
अफगानिस्तानका गुल्बदिन नैब र डार्सी सटको प्रदर्शन एकरूपता छैन । सुदूरपश्चिमको ब्याटिङविरुद्ध रुबेन ट्रम्पेलम्यान घातक बन्न सक्छन् ।
पहिलो जितको खोजीमा जनकपुर र पोखरा
साबिक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स चालू एनपिएलमा एक खेलमा पनि जित निकाल्न नसकेका फ्रेन्चाइज टोली हुन् । दुवैले समान दुई खेलमा हारको सामना गरेका छन् । रनरेटका आधारमा जनकपुर सातौँ र पोखरा पुछारमा छ ।
दुवैले आ–आफ्नो तेस्रो खेलमा आमनेसामने हुँदा जित नै लक्ष्य राखेका छन् । जितले एक टोलीको प्ले अफको आशा यथावत् रहनेछ । पराजित हुने टोलीको शीर्ष चारमा छनोट हुने सम्भावना कमजोर बन्नेछ । यसकारण यो खेल पोखरा र जनकपुरका नजरमा गर या मरजस्तै हो । जनकपुर उद्घाटन खेलमा काठमाडौं गोर्खाजबाट पाँच विकेट र दोस्रो खेलमा विराटनगर किंग्सबाट ९ रनले पराजित भएको थियो । पोखरा भने पहिलो खेलमा विराटनगरबाट ५३ रन तथा दोस्रो खेलमा सुदूरपश्चिमबाट १८ रनले पराजित भएको थियो । पोखराको ब्याटिङ बलियो देखिन्छ ।
प्लेयर्स टु वाच
लाहिरू मिलान्थ (जनकपुर)
गत सिजनमा लाहिरूले ब्याटिङसँगै विकेटकिपिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए । जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करणको उपाधि जित्दा लाहिरूको महत्वपूर्ण योगदान रह्यो । दोस्रो संस्करणमा लाहिरू खासै जमेका छैनन् । उनले दुई खेलमा ३० रन मात्र जोडेका छन् । काठमाडौं गोर्खाजविरुद्ध ७ रन बनाएका उनले विराटनगरसँगको खेलमा २३ रन बटुले । पहिलो खेलमा उनले दुई क्याचसमेत लिएका थिए । श्रीलंकाको ‘ए’ लिस्ट खेलेका लाहिरूले ४७ टी–२० मा एक हजार ८८ रन जोडेका छन् । उनले अहिलेसम्म टी–२० मा चारपटक अर्धशतकीय इनिङ्स खेलेका छन्् ।
आकाश चन्द (पोखरा)
पोखराका ओपनर आकाशको ब्याट त्यति चलेको छैन । पोखराका लागि दुई खेलमा अवसर पाएका उनले समग्रमा चार रन मात्र बटुलेका छन् । तर, बलिङमा उनले विकेट लिइरहेका छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा दुई विकेट लिन ४४ रन खर्चेका थिए । विराटनगर किंग्ससँगको खेलमा ४८ रनमा एक विकेट हात पारे । सुदूरपश्चिमका युवा खेलाडी आकाशले नेपालको यू–१९ देखि राष्ट्रिय सिनियर टोलीसम्म स्थान बनाइसकेका छन् । उनले टी–२० आईमा तीन खेलमा सात विकेट लिएका छन् । एकदिवसीय खेलमा उनले दुई विकेट हात पारेका छन् । अहिलेसम्म करिअरमा आकाशले चार टी–२० मा सात विकेट हात पारेका छन् ।
अभिषेक गौतम (लुम्बिनी)
लुम्बिनीका स्थानीय खेलाडी अभिषेकले दोस्रो एनपिएलमा मौका पाइरहेका छन् । लुम्बिनीले अहिलेसम्म खेलेका तीनवटै प्रतिस्पर्धामा अभिषेकले बलिङ गरेका छन् । काठमाडौं गोर्खाजसँगको खेलमा उनले ब्याटिङ गर्दै चार रन जोडेका थिए । स्पिन बलिङ गर्ने अभिषेकले चितवन राइनोजविरुद्धको प्रतिस्पर्धामा १५ रन खर्चेर दुई विकेट हात पारेका थिए । लुम्बिनीले पहिलो खेलमा जित निकाल्दा उनले कसिलो बलिङ प्रदर्शन गरेका थिए । उनले काठमाडौंविरुद्ध २२ रन तथा कर्णाली याक्ससँगको खेलमा १२ रन खर्चेका थिए । स्पिनरका लागि उपयुक्त मानिने त्रिवि मैदानको पिचमा उनको बलिङ प्रभावकारी हुन सक्छ ।
जोस ब्राउन (सुदूरपश्चिम)
सुदूरपश्चिमले एनपिएलमा लगातार तीन खेलमा जित निकालेको छ । पोखरासँगको महत्वपूर्ण खेलमा सुदूरपश्चिमलाई जित दिलाउन जोसले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले पोखराको कमजोर बलिङको फाइदा लिँदै ६८ रनको योगदान दिए । यद्यपि, उनी कर्णाली र काठमाडौंसँगको प्रतिस्पर्धामा शून्यमा आउट भएका थिए । अस्ट्रेलियन खेलाडी जोसले लिस्ट ‘ए’मा ६९ रन तथा टी–२० खेलमा एक शतक तथा तीन अर्धशतकीय इनिङ्स खेलेका छन् । लुम्बिनीको बलिङ आक्रमणमा उनले आफ्नो अनुभव प्रयोग गर्दै सुदूरपश्चिमका लागि गतिलो योगदान दिन सक्छन् । अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा उनले अस्ट्रेलियाकै बिग बास खेलेका छन् ।