प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयका कर्मचारी कटौती गर्ने निर्णय गरेकी छिन् । हाल २० जना कार्यरत रहेकोमा १४ जना हटाएर ६ जना मात्र राख्ने निर्णय भएको छ ।
सचिवालयमा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफन्त नियुक्त गरेको विवादमा परेपछि प्रधानमन्त्री कार्कीले सचिवालय कटौती गरेकी हुन् । पछिल्लो समय जेन–जीहरूले समेत यो विषयमा प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए ।
‘जेन–जी युवा पुस्तालगायत विभिन्न पक्षबाट उठाइएका प्रश्नलाई लिएर सम्माननीय प्रधानम्न्त्रीज्यूले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गर्नुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जसअनुसार अब सचिवालयमा मुख्य सल्लाहकार एक, जनसम्पर्क सल्लाहकार एक, प्रमुख स्वकीय सचिव एक, प्रेस संयोजक एक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) एक र जनस्वास्थ्य विज्ञ (अवैतनिक) एक गरी ६ जना मात्र कायम राखी बाँकी सबै पदको नियुक्ति मिति २०८२ मंसिर ११ गतेदेखि लागू हुने गरी खारेज गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
यसअनुसार प्रधानमन्त्रीको टिममा अब मुख्य सल्लाहकारमा अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिवमा आदर्श श्रेष्ठ, प्रेस संयोजकमा रामबहादुर रावल, फोटोग्राफरमा केशव थापा र जनस्वास्थ्य विज्ञमा डा. मनबहादुर केसी मात्र रहनेछन् । यसअघि चालकदेखि सहसचिवस्तरमा नियुक्त गरिएका १४ जनालाई बिदा गरिएको छ ।