सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणअन्तर्गत मंगलबार काठमाडौं गोखोजले दोस्रो जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले हराएको हो । पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो । प्रत्युत्तरमा इनिङ्सको अन्तिम ओभरसम्म जितको आशा राखेको लुम्बिनी १९.१ ओभरमा १ सय ३५ रनमा अलआउट भयो ।
चार खेलमा समान दुई जित र हार नतिजा व्यहोरेको काठमाडौं चार अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । लुम्बिनी तीन खेलमा दुई अंकका साथ चौथो स्थानमै रह्यो । लगातार दुई खेलमा पराजित भएपछि काठमाडौंले चौथो खेलमा दुई अंक बटुलेको हो । लुम्बिनी भने पहिलो खेलपछि लगातार दुई खेलमा पराजित भएको छ । काठमाडौं र लुम्बिनीबिचको प्रतिस्पर्धामा धेरैपटक रोमाञ्चक मोड आएको थियो । तर, काठमाडौंको जितमा र लुम्बिनीको हारमा एक खेलाडीको प्रभाव धेरै रह्यो । काठमाडौंका कप्तान करण केसी र आदिल अन्सारीले एकै ओभरमा ३१ रन बटुलेपछि खेलको नतिजामै नाटकीय परिवर्तन भयो । करणले ट्रम्पलम्यानविरुद्ध विस्फोटक ब्याटिङ गरेका थिए । ट्रम्पलम्यानको खर्चिलो ओभरअघिसम्म लुम्बिनी खेलमा निकै हाबी थियो । पहिलो ब्याटिङ गरेको काठमाडौं १७.४ ओभरमा ११७–७ को नाजुक अवस्थामा थियो । क्रिजमा करण र मोहमद आदिल थिए ।
करणको त्यो ओभर
इनिङ्सको १९औँ ओभरमा ट्रम्पलम्यानले बलिङ गर्न आउँदा स्ट्राइकमा करण थिए । यस ओभरमा उनी निकै आक्रामक रूपमा प्रस्तुत हुँदै काठमाडौंको स्कोर १ सय ५० रनमाथि पुर्याए । करणले ट्रम्पलम्यानको पहिलो बलमा छक्का प्रहार गरे । दोस्रो बल नो बल हुँदा उनले चौका ठोके । त्यसपछि प्राप्त फ्री हिटमा उनले छक्का प्रहार गरे । करणले तेस्रो बलमा छक्का र चौथो बलमा एक रन लिँदै आदिललाई स्ट्राइक दिए । आदिलले पाँचौँ बलमा एक रन बटुल्दै पुन: करणलाई स्ट्राइकमा ल्याए । उनले ट्रम्पलम्यानको अन्तिम बलमा छक्का प्रहार गरी खेलमा रोमाञ्चकता दिलाए । करणले ११ बलमा एक चौका र चार छक्का प्रहार गरी सर्वाधिक ३४ रनको योगदान दिए । उनले लुम्बिनीविरुद्ध ३०९.०९ को स्ट्राइकमा ब्याटिङ गरेका थिए । काठमाडौंको ब्याटिङमा ओपनर आकाश त्रिपाठीले ३६ बलमा तीन चौकाको सहयोगमा ३२ रन जोडे । सन्तोष यादवले १६ बलमा दुई छक्का प्रहार गरी २६ रन तथा गेहरार्ड इरास्मुसले १५ बलमा १७ रन बटुलेका थिए । बलिङमा लुम्बिनीका लागि सेर मल्लले ३३ रन खर्चेर दुई विकेट हात पारेका थिए ।
लुम्बिनीलाई दिलीप र सेरले दिलाएको आशा
१ सय ५९ रनको लक्ष्य पछ्याउँदा लुम्बिनीले आवश्यक रनरेटभन्दा माथिको ब्याटिङ गरेको थियो । इनिङ्सको ७.५ ओभरसम्म लुिम्बनीले चार विकेट गुमाएर ५८ रन बनाएको थियो । डार्सी सटले ११ बलमा तीन चौका र एक छक्का प्रहार गरी २२ रन बनाए । कप्तान रोहित र गुल्वदिन नैवले समान ११ रन जोडे । दसौँ ओभरसम्म लुम्बिनीले ६ विकेट गुमाएर ७२ रन बनाएको थियो । बाँकी चार विकेटको साथ लुम्बिनीले लक्ष्य पछ्याउनुपर्ने थियो । अभिषेक गौतम र सेर मल्लले नवौँ विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यी दुवै ब्याट्सम्यान क्रिजमा रहँदा लुम्बिनीले जितको आशा देखेको थियो । सेरले इनिङ्सको १६औँ ओभरमा साहब आलमविरुद्ध लगातार तीन छक्का प्रहार गरी लुम्बिनीको पक्षमा खेल ल्याउने प्रयास गरेका थिए । यस ओभरमा सेरले १९ रन बटुलेका थिए । तर, उनी इनिङ्सको १७.१ ओभरमा रनआउट भए । रनआउट हुनुअघि उनले १८ बलमा २७ रनको योगदान दिए । दिलीपले ३३ बलमा समान एक चौका र छक्का प्रहार गरी २५ रन बनाए । काठमाडौंको बलिङमा मिलिन्द कुमार र गेहरार्डले समान दुई विकेट हात पारे । कप्तान करणले ३६ रनमा एक विकेट हात पारे ।