नीरजकुमार यादवको शतकमा नेपालले एसिसी पुरुष यू–१९ प्रिमियर कपमा साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको छ।
मंगलबार युनाइटेड अरब इमिरेट्स (युएई)को अज्मानमा टस हारेर ब्याटिङ गरेको साउदीले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर २१८ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले ३०.३ ओभरमा दुई विकेट गुमाएर विजयी सुरुवात गरेको हो।
नेपालको जितमा ओपनर नीरजले सर्वाधिक ११४ रन बनाए। उनले ९० बलमा १३ चौका र एक छक्का प्रहार गरेका थिए। निश्चल क्षेत्रीले ६६ रन बनाए। नीरज र निश्चलले १५५ रनको साझेदारी गरे। यी दुईले ६३–१ को स्थितिबाट नेपाललाई जितको यात्रा तय गराएका थिए।
अर्का ओपनर वन्स क्षेत्रीले ३० रन बनाए। सिब्रिन क्षेष्ठ एक रनमा अविजित रहे। साउदीका मोहम्मद जुबेर सुन्सारा र हसी अहमद सजादले समान एक विकेट लिए।
यसअघि साउदीको इनिङ्समा मोहम्मद जुबेर सुन्सारले सर्वाधिक ४८ रन बनाए। रेहन सिद्दिकीले ४१ र ओमाएर अहमेद वाहबले ३९ रन थपे।
नेपालका अशोक धामीले दुई विकेट लिए। दर्ष सोनार, सिब्रिन श्रेष्ठ, दयानन्द मण्डल र सुशीलबहादुर रावलले समान एक विकेट लिए।
अब, नेपालले बिहीबार हङकङविरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै हङकङ र साउदी अरेबिया छन्।