विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेटरलाई क्यानले दियो १० लाख

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण
विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेटरलाई क्यानले दियो १० लाख

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दृष्टिविहीन महिला टी–२० विश्वकपको उपविजेता बनेको नेपाली महिला टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान गरेको छ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा क्यानले टोलीलाई १० लाखसहित सम्मान गरेको हो। सम्मान कार्यक्रममा खेलाडीसहित संघका पदाधिकारीको उपस्थिति थियो।

आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाल छिमेकी प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित हुँदै उपविजेता भएको थियो। पहिलोपटक आयोजना भएको प्रतियोगितामा भारत अपराजित रहँदै च्याम्पियन बन्यो।

फाइनलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा भारतले ११.४ ओभरमा तीन विकेट गुमाउँदै उपाधि जितेको हो। नेपाल समूह चरणको खेलमा पनि भारतसँग पराजित भएको थियो।

२७ कात्तिकबाट सुरु भएको विश्वकपमा नेपाल र भारतसहित अस्ट्रेलिया, पाकिस्तान, घरेलु टोली श्रीलंका र अमेरिका सहभागी थिए।

सुझावित समाचार