विराटनगरले दियो जनकपुरलाई १३६ रनको लक्ष्य

सोमबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को नवौँ खेलमा जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३५ रन बनाएको हो । 

विराटनगरका लागि सुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए । उनी  २९ बलमा दुई चौका र दुई छक्का बनाएपछि रनआउट भए ।  बसिर अहमदले ३६ रन बनाएका थिए । रूपेश सिंहबाट बोल्ड हुनुअघि उनले ३५ बलमा तीन छक्का हिर्काए । ओपनर लोकेश बलमे २६ बलमा २८ रनको योगदान गरे । उनले दुई चौका र एक छक्का बनाएका हुन् । रन्जने र बसिरबिच चौथो विकेटका लागि ५० बलमा सर्वाधिक ५२ रनको साझेदारी भएको थियो । 

ओपनर जर्ज मुन्सीले १० र मार्टिन गप्टिलले १३ रनको योगदान गरेका थिए । विराटनगरले पावर प्लेमा एक विकेट गुमाउँदै ४० रन बनाएको थियो । 

जनकपुरका रूपेश सिंह र सन्गिथ कुरेले समान दुई विकेट लिएका थिए । आदित्य महताले मात्र एक विकेट लिएका थिए । चार ओभर बलिङ गरेका अनिल शाह र ललित राजवंशीसहित दुई ओभर बलिङ गरेको सञ्जय कृष्णमुर्थी  र किशोर महतो विकेटविहीन भएका थिए । 


प्रतियोगितामा जनकपर पहिलो जितको खोजीमा छ । जनकपुर पहिलो खेलमा काठमाडौंसँग पाँच विकेटले पराजित भएको थियो । विराटनगर भने लगातार तेस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले तथा दोस्रो खेलमा काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो । 

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

सुझावित समाचार