नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबार साबिक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै छ । गत वर्ष जनकपुरले सनसनी रूपमा पहिलोदेखि अन्तिम खेलसम्म एकनासको प्रदर्शन गरी उपाधि उचालेको थियो । चालू सिजनमा एक खेल गुमाएको जनकपुरको यो दोस्रो खेल हो । प्रतियोगिताको उद्घाटन खेलमा जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध ब्याटिङ र बलिङमा स्तरीय प्रदर्शन गर्न नसक्दा पराजित भयो ।
यसपटक जनकपुरको तयारी कमजोर भएको छ । गत सिजन च्याम्पियन बनाएका खेलाडीहरू अन्य फ्रेन्चाइज टोलीमा आबद्ध हुँदा जनकपुरको ब्याटिङ र बलिङमा कमजोरी देखिएको हो । जनकपुरको विपक्षी विराटनगर भने उत्कृष्ट लयमा छ । विराटनगरले लगातार दुई खेल जित्दै गत वर्षका बलियो टोलीहरूलाई चेतावनी दिइसकेको छ । यसपटक विराटनगरको बलियो पक्ष भनेको ब्याटिङ र बलिङ हो ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको तथा दोस्रो खेलमा काठमाडौं गोर्खाजमाथि पाँच विकेटको जित निकालेको थियो । पोखरासँगको प्रतिस्पर्धामा विराटनगरले एनपिएलकै कीर्तिमानी स्कोरका रूपमा दुई सय २० रन बनाएको थियो । विराटनगरले दोस्रो सिजनका लागि स्वदेशी तथा विदेशी खेलाडी अनुबन्ध गर्न कुनै कन्जुस्याइँ गरेन । कप्तान सन्दीप लामिछाने फ्रन्टमा आएर बलिङ र ब्याटिङ गर्दै अन्य खेलाडीलाई आत्मबल बढाइरहेका छन् ।
दक्षिण अफ्रिकाका माचान्ट डे लांगेले ब्याटिङ र बलिङमा उत्तिकै योगदान दिइरहेका छन् । हङकङ सिक्सेजदेखि चम्किरहेका लोकेश बमले राम्रो स्ट्रोक लगाइरहेका छन् । लोकेशको मुख्य जिम्मेवारी नै टोलीको रनरेट बढाउने हो । बलिङ अलराउन्डरमा प्रितिश जिसी पनि विपक्षी ब्याट्सम्यानलाई रोक्न सफल भइरहेका छन् ।
जनकपुर विदेशी खेलाडीको भरमा
पहिलो खेलमा जनकपुरको मध्यक्रम कमजोर हुँदा काठमाडौंविरुद्ध ठुलो योगफल खडा गर्न सकेन । गत वर्ष उत्कृष्ट ब्याटिङ गरेका लाहिरू मिलान्थ पहिलो खेलमा केवल सात रनमै आउट भए । आसिफ शेखले ४१ बलमा ५४ रन बनाउँदै टोलीको स्कोर अगाडि बढाए । यतिवेला जनकपुरको ठुलो समस्या भनेकै मध्यक्रम हो । कप्तान अनिल साह शून्य रनमै आउट भएका थिए । मध्यक्रम कमजोर हुँदा नै पुछारका ब्याट्सम्यानमाथि दबाब बढेको थियो । काठमाडौंविरुद्ध विदेशी खेलाडी लाहिरू सामाराकुनले २१ बलमा २२ रन तथा मायांक यादवले २९ बलमा ३४ रन जोडे । लगातार दुई जित निकालेको विराटनगरलाई रोक्न जनकपुरको मध्यक्रम चल्नुपर्छ ।
विराटनगरका बलर फर्ममा छन् । उनीहरूले विपक्षीको कमजोरीअनुसार बलिङ गरिरहेका छन् । यसै कारण विराटनगरले विपक्षीलाई दुवै खेलमा रोक्न सफल भएको हो । जनकपुरले बलिङमा पनि सुधार्नु आवश्यक छ । सिमरकिशोर महतोले पहिलो खेलमा एक विकेट मात्र लिए । उनलाई ओपनिङमा साथ दिएका अनिलले २६ रन खर्चेर एक विकेट लिए । काठमाडौंविरुद्ध जनकपुरले आठ बलर प्रयोग गरेको थियो । सातजनाले विकेट लिए पनि स्ट्राइक बलरले विकेट नलिँदा जनकपुर यस पक्षमा कमजोर देखिन्छ ।
गत वर्षको नतिजा
विराटनगर १२९ (१९ ओभरमा अलआउट), जनकपुर बोल्ट्स १३१/२ जनकपुर आठ विकेटले विजयी