युवराज सलमानको स्वागतमार्फत इजरायललाई ट्रम्पको सन्देश

युवराज सलमानको भ्रमणका क्रममा ट्रम्पले साउदी अरबसँगको अमेरिकी सम्बन्धलाई इजरायलकै हाराहारीमा राखे

सोमबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

गत मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानलाई ह्वाइट हाउसमा स्वागत गरे । सलमानको स्वागतमा आयोजित कार्यक्रम ट्रम्पको राष्ट्रपति कार्यकालकै सबैभन्दा भव्य मानिएको छ । सलमानको सम्मानमा ह्वाइट हाउसमाथि आकाशमा लडाकु विमानसमेत उडाइएको थियो । भेटका क्रममा ट्रम्पले साउदी अरबलाई अत्याधुनिक एफ–३५ लडाकु विमान बेच्न लागेको पुष्टि गरे । र, साउदीलाई एफ–३५ बेच्दा अन्य देशलाई जस्तो सर्त नहुने पनि ट्रम्पले बताए । यस्तो छुट पाउने अर्को एक मात्र देश इजरायल हो । 

सम्झौताअनुरूप साउदीलाई एफ–३५ लडाकु विमान बेचियो भने अमेरिका–इजरायल सम्बन्धको एक महत्वपूर्ण पक्षको उल्लंघन हुनेछ । अमेरिका–इजरायल सम्बन्धलाई मार्गनिर्देशन गर्ने एक नियमअनुसार अमेरिकाले इजरायललाई मध्यपूर्वका अन्य सहयोगीभन्दा उत्तम सैन्य सामग्रीमाथि पहुँच दिनुपर्छ । लामो समयदेखि लागू यो व्यवस्था इजरायललाई ‘क्वालिटेटिभ एड्ज (गुणात्मक क्षमता)’ प्रदान गर्न आवश्यक भएको अमेरिकाले बताउँदै आएको छ । 

इजरायलप्रतिको ‘क्वालिटेटिभ एड्ज’ सिद्धान्त परित्याग गर्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले अमेरिकाका लागि साउदी अरब र इजरायल दुवै समान रूपमा नजिक भएको बताए । यसैले दुवै मुलुक समान रूपमा अत्याधुनिक सैन्य सामग्री पाउन योग्य रहेको दाबी गरे ।

ट्रम्पको भनाइबाट इजरायल पक्कै खुसी हुनेछैन । तर, यो कदम इजरायल–वासिंगटन सम्बन्धमा आएका धेरै अवरोधमध्ये एक हो । ट्रम्प प्रशासनले यसअघि साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई)लाई उन्नत ‘एआई’ चिप्स बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको थियो, जुन कदम साउदी अरबलाई एफ–३५ बिक्री गर्ने निर्णयजत्तिकै महत्वपूर्ण भएको बताइँदै छ । यस निर्णयले ठुलो परिमाणममा विश्वव्यापी प्रविधि ‘हब’ बन्ने रियादको महत्वाकांक्षालाई उल्लेखनीय रूपमा सहयोग गर्छ । साउदी अरब अमेरिकाको सहयोगले एआई अर्थतन्त्रमा अगाडि बढ्न चाहन्छ । 

यीलगायत ट्रम्प प्रशासनका विभिन्न निर्णयले मध्यपूर्वमा अमेरिका इजरायललाई प्रधानता दिने आफ्नो नीतिबाट टाढिएको संकेत दिन्छ, कम्तीमा अस्थायी रूपमै सही । १७ नोभेम्बरमा अमेरिकाले मस्यौदा गरेको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को प्रस्तावमा स्वतन्त्र प्यालेस्टाइनको सम्भावित मार्गको विषय पनि समेटिएको छ । जबकि, इजरायलले सो प्रावधान पर्न नदिन अन्तिम समयसम्म प्रयास गरेको थियो, जसमा ऊ असफल भयो ।

जुनको अन्त्यमा, ट्रम्पले सिरियामाथिका केही प्रतिबन्ध हटाउँदा पनि उनले इजरायली चाहनालाई बेवास्ता गरेका थिए । त्यस्तै, मेमा ट्रम्प मध्यपूर्वको राजकीय भ्रमणका क्रममा साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई) जाँदा इजरायल गएनन् । यी सबै घटनाक्रमले अमेरिका–इजरायल सम्बन्ध उच्चतम विन्दु खस्केको देखाउँछ । जबकि, जुनमा मात्र ट्रम्पले बेन्जामिन नेतन्याहुको लामो समयदेखिको चाहनाअनुरूप इरानको आणविक संयन्त्रमाथि हवाई आक्रमणमा इजरायललाई सघाएका थिए । इरानी आणविक संयन्त्रमाथिको आक्रमणमा अमेरिकाको संलग्नतापछि, नेतन्याहु हौसिए ।

उनले वासिंगटनको समर्थनलाई हल्का रूपमा लिए । त्यसैले उनी हमासका नेतालाई मार्ने प्रयासमा अमेरिकाकै मित्र कतारको राजधानी दोहामा आक्रमण गर्ने हदसम्म अघि बढे । अमेरिकाको नजिकको सहयोगी देश कतारी भूमिमाथि आक्रमण गर्नुअघि ट्रम्पलाई उल्लेख्य जानकारी नदिएको बताइन्छ । यसैको साटो फेर्दै ट्रम्पले सेप्टेम्बर अन्त्यमा ह्वाइट हाउस पुगेका नेतान्याहुलाई अपमानित गर्ने गरी कतारी समकक्षीलाई फोन गरेर माफी माग्न बाध्य पारे ।

ट्रम्पको आगमनपछि अमेरिकी विदेश नीति लेनदेनका आधारमा चल्न थालेको छ । लेनदेनको मामिलामा इजरायल आफ्ना धनाढ्य खाडी छिमेकीसँग प्रतिस्पर्धा गर्न सक्दैन । जस्तो युवराज मोहम्मदले अमेरिकी अर्थतन्त्रमा हजार अर्ब (१ ट्रिलियन) डलर लगानी गर्ने वाचा गरेका छन् । त्यस्तै, कतारले अमेरिकी राष्ट्रपतिले चढ्ने प्रयोजनका लागि ४० करोड डलरको विलासी विमान उपहार दिएको छ । 

उसो त हजार अर्ब डलरको लगानीको समयसीमा भने उल्लेख गरिएको छैन । अमेरिकाले पनि रियादलाई कतिवटा एफ–३५ बेच्नेछ भन्ने स्पष्ट गरेको छैन । ट्रम्प सलमानबिचको वार्ताका अन्य केही एजेन्डा पनि सफल कार्यान्वयन हुन कठिन छ । विशेषतः द्विपक्षीय रक्षा सम्झौता र नागरिक प्रयोजनका लागि आणविक ऊर्जा सम्झौतालाई अमेरिकी कंग्रेस (संसद्)ले रोक्न सक्छ । त्यस्तै, अमेरिकाले अझै पनि इजरायल–अरबबिचको सम्बन्ध सामान्यीकरण गर्ने लक्ष्य लिएको ‘अब्राहम सम्झौता’ कार्यान्वयनलाई जोड दिँदै आएको छ । ह्वाइट हाउसमा इजरायलसँगको सम्बन्ध सामान्यीकरणबारे सोधिएको प्रश्नमा युवराज सलमानले त्यो कुरा प्यालेस्टिनी राज्य स्थापनाप्रतिको ठोस इजरायली प्रतिबद्धतामा भर पर्ने बताए । 

गाजा र समग्रमा प्यालेस्टाइन सम्बन्धमा भने पछिल्लो परिवर्तनले केही असर पर्नेछैन । अमेरिका÷मध्यपूर्व परियोजनाका अध्यक्ष र मध्यपूर्वी राजनीतिका विश्लेषक डेनियल लेभी पनि यस विषयमा परिवर्तनको सम्भावना देख्दैनन् । ‘गाजा वा प्यालेस्टाइनबारे निर्णय गर्ने सम्बन्धमा अमेरिकाले इजरायललाई पूर्ण छुट दिएको छ । अहिलेको सन्दर्भमा इजरायलले आफ्ना सबै जीवित बन्धक रिहा गरिसकेको छ । र, तिनले प्रतिबद्धताअनुरूप गाजामा पूर्ण रूपमा बमबारी पनि रोकेका छैनन्,’ लेभीले भने । 

(गार्जियनका शीर्ष अन्तर्राष्ट्रिय संवाददाता बोर्गर विगतमा अमेरिका, मध्यपूर्व, पूर्वी युरोप र बाल्कन क्षेत्रका संवाददाता रहिसकेका छन्) द गार्जियनबाट

सुझावित समाचार