गम्भीर संकटको पूर्वसंकेत

आइतबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण
  • दलले आफ्ना शान्तिपूर्ण गतिविधि गर्न पाउने अधिकारलाई संकुचित गर्ने गैरसंवैधानिक कार्यले आगामी निर्वाचन शंकाको घेरामा परेको छ

आगामी २१ फागुनका लागि आमनिर्वाचनको मिति तोकिएको छ । तर, देशमा राजनीतिक अस्थिरता र अविश्वास पुन: बढ्न थालेको छ । लोकतान्त्रिक अभ्यासको मेरुदण्डका रूपमा लिइने स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि राजनीतिक दलहरूले स्वतन्त्र रूपमा गतिविधि सञ्चालन गर्न पाउनु लोकतन्त्रको आधारभूत पूर्वसर्त हो । अझ नेपालको संविधानले बहुलवादलाई आफ्नो मूल मर्मका रूपमा स्विकारेको छ । जसको अर्थ फरक विचार, आस्था, दृष्टिकोण, उमेर, जात, धर्म, लिंग, क्षेत्र आदिलाई समान रूपमा लिइन्छ भन्ने हो । यस्ता विविधताका आधारमा कुनै पनि भेदभाव गर्न पाइँदैन । साथै, नेपालले बहुदलीय व्यवस्था अवलम्बन गरेको छ । यसको अर्थ जसरी जेन–जी पुस्ता पार्टी खोलेर राजनीति गर्न स्वतन्त्र छन्, त्यसैगरी वृद्धवृद्धा पनि वृद्ध दल खोलेर राजनीति गर्न स्वतन्त्र छन् । यस्तो अवस्थामा हरेक दलले आफ्नो राजनीतिक गतिविधि गर्न पाउने अधिकारलाई संकुचित गर्नु गैरसंवैधानिक कार्य हो । तर, हालका केही घटनाक्रमले लोकतन्त्रको यो आधारभूत पूर्वसर्तसमेत कमजोर बन्दै गइरहेको त होइन भन्ने आशंका उब्जाइदिएको छ । बाराको सिमरामा ३ र ४ मंसिरमा जेन–जी समूहद्वारा राजनीतिक दलका गतिविधिविरुद्ध गरिएको आन्दोलनले गम्भीर स्थितिको संकेत गर्छ । राजनीतिक कार्यक्रमममा रोक लागाउने प्रयासले आगामी निर्वाचन शंकाको घेरामा परेको छ ।

लोकतन्त्रमा निर्वाचन भनेको केवल सत्ता हस्तान्तरणका लागि हुने प्रतिस्पर्धा मात्र होइन । यो त आमनागरिकले आफ्नो भविष्य, आशा, आकांक्षा र चाहना अभिव्यक्त गर्ने संसारकै सबैभन्दा महत्वपूर्ण अवसर पनि हो । तर, नेपालमा अहिले देखिएको राजनीतिक वातावरणले आउँदै गरेको २१ फागुनको निर्वाचन अवसरभन्दा पनि बढी जोखिम, तनाव, अवरोध र अस्थिरताका संकेत देखाउँछ । राजनीतिक गतिविधि स्वतन्त्र रूपमा सञ्चालन हुन नसक्नु, आन्दोलनका नाममा धम्की र अवरोध सिर्जना हुनु तथा राजनीतिक दलका गतिविधि सञ्चालनमा समस्या देखा पर्नुले देशको लोकतन्त्रको आसन्न संकटलाई संकेत गर्छ ।

यही ३ र ४ मंसिरमा बाराको सिमरामा भएको जेन–जीको प्रदर्शन र दंगा एक स्थानीय घटना मात्र होइन, यसले राजनीतिक दलहरूको कार्यक्रम सञ्चालनमा अवरोध गर्ने, प्रचारप्रसार रोक्ने तथा नागरिकमा डरत्रास फैलाउने प्रवृत्तिको संकेत गर्छ । राजनीतिक दललाई नागरिकबिच जान नदिनु, कार्यक्रम गर्नबाट रोक्नु तथा शान्तिपूर्ण रूपमा भेला हुन नदिनुले निर्वाचन प्रक्रियामै अविश्वास पैदा गर्छ । यस्तो वातावरणले स्वतन्त्र राजनीतिक प्रतिस्पर्धालाई रोक्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । परिणामत: निर्वाचनको वैधतामाथि नै प्रश्न उठ्छ ।

२३ र २४ भदौका आन्दोलनकारी जेन–जीले आफ्नो असन्तुष्टि जनाउनु एक हदसम्म स्वाभाविकै हो, तर त्यसलाई निर्वाचन नै अवरोध गर्ने गरी प्रयोग गरिनु भनेको लोकतान्त्रिक मूल्य तथा मान्यताको गम्भीर उल्लंघन हो । निर्वाचनको वातावरण बिगार्ने यस किसिमका कार्य र प्रवृत्तिले दीर्घकालीन रूपमा राज्य संरचनालाई नै कमजोर बनाउँछ ।

यतिखेर सबैभन्दा चिन्ताको विषय मूलत: एमालेका केही शीर्ष नेताका सार्वजनिक अभिव्यक्ति हुन् । कसैको अवरोध भएमा तत्काल प्रतिकार गर्नु भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्तिले थप डरलाग्दो आगतको संकेत गर्छ । राजनीतिक प्रतिस्पर्धा विचार र नीतिको हुन्छ, आक्रमण वा प्रत्याक्रमणमा होइन भन्ने जिम्मेवार दलका नेताले नबुझेका होइनन् । नेतृत्वको उक्साहटपूर्ण भाषण र वक्तव्यबाजीले समाजमा विभाजन ल्याउँछ, कार्यकर्तालाई हिंसामा धकेल्छ, जेन–जी आन्दोलनका कारण ट्रयाकबाहिर गएको राजनीतिलाई सही ट्रयाकमा फर्किन अवरोध सिर्जना गर्छ ।

जिम्मेवार दलका शीर्ष नेताले दिने हरेक अभिव्यक्ति लोकतन्त्रमा नीति निर्देशन नै हो । त्यसैले शीर्ष नेताका अभिव्यक्तिमा संयम, कानुनी शासनप्रतिको सम्मान र जिम्मेवारी झल्किनुपर्छ । तर, अहिलेको अवस्थामा त्यसको अभाव देखिन्छ । यसले देशलाई थप गलत दिशातर्फ धकेल्ने संकेत गर्छ ।

यसरी हेर्दा यतिवेला जेन–जी आन्दोलनकारी र राजनीतिक दल दुवै आफ्नो दायित्व, जिम्मेवारी र भूमिकाबाट विमुख हुन पुगेका देखिन्छन् । जेन–जी आन्दोलनकारीले आफ्नै सिफारिसमा सरकार बनेको यथार्थ बिर्सिएजस्तै देखिन्छ । सरकारमा हुँदा आफूले समाधान गर्नुपर्ने मुद्दालाई सडकमा ल्याएर आन्दोलन गर्नु र निर्वाचनको माहोल बिगार्न खोज्नु आफैँमा विरोधाभासपूर्ण व्यवहार हो । यसैगरी, प्रतिकारको भाषा बोल्ने नेताहरूले पनि विगतमा शान्ति सुरक्षा सुनिश्चित गर्न नसकेर सरकार गुमाउनुपरेको घटना बिर्सिएजस्तो देखिन्छ । राजनीतिक नेतृत्व र जेन–जी आन्दोलनकारी दुवैले आफ्नो जिम्मेवारी, दायित्व, तथा भूमिकाबाट विमुख भई गैरजिम्मेवार ढंगले देशलाई अनावश्यक तनावतर्फ धकेलिरहेको देखिनु चिन्ताको विषय हो ।

यस्तो अवस्थामा पनि राज्य संयन्त्र निष्क्रिय देखिन्छ, जसले शान्ति सुरक्षामा जोखिम बढाएको छ । सरकारको मुख्य दायित्व भनेको सुरक्षित र स्वतन्त्र वातावरण तयार गरी २१ फागुनका लागि तोकिएको निर्वाचन सम्पन्न गर्नु रहेको छ । तर, अहिले राज्य संयन्त्र आफ्नो जिम्मेवारी पूरा गर्नबाट च्युत भइरहेजस्तो प्रतीत हुन्छ । राज्य संयन्त्र स्वयं अविश्वास, असुरक्षा र अनिश्चितताले ग्रस्तझैँ देखिन्छ । २४ भदौको विध्वंसात्मक घटनापछि सुरक्षा निकाय, मूलत: नेपाल प्रहरीको मनोबल उठ्न सकेको छैन । अहिलेकै अवस्थामा नेपाल प्रहरीले शान्ति सुरक्षाका लागि आवश्यक हस्तक्षेप र व्यवस्थापन प्रभावकारी ढंगबाट गर्न सक्ने अवस्था देखिँदैन । अर्कातर्फ राजनीतिक तनाव बढ्नेबित्तिकै राज्य संयन्त्रहरू मौन रहने वा कमजोर देखिने प्रवृत्ति लोकतान्त्रिक शासन व्यवस्थाका लागि ठुलो खतराको संकेत हो ।

यस अवस्थामा हाल नागरिकलाई नागरिकसँग भिडाउने खतरनाक खेलको रिहर्सल त भइरहेको होइन भन्ने आशंकासमेत सिर्जना भएको छ । इतिहास हेर्ने हो भने फासीवादी शासन यस्तै विभाजनबाटै सुरु भएका देखिन्छन् । आफ्नै देश वा समाजभित्रै शत्रु सिर्जना गर्दै सामान्य नागरिकलाई राजनीतिक हतियार बनाएर एक–अर्कामा भिड्न र लड्न अग्रसर गराउने प्रवृत्ति फासीवादी प्रवृत्तिको संकेत हो । भिडलाई भावनात्मक रूपमा उक्साउँदै एक–आपसमा लड्न र भिड्न उत्प्रेरित गर्ने राजनीतिक पद्धतिले कालान्तरमा फासीवादी प्रवृत्तिलाई प्रवद्र्धन गर्छ । यस्तो प्रवृत्तिले सामाजिक सद्भाव मात्र बिगार्दैन, बरु राज्यलाई दीर्घकालमा विभाजित गर्दै कमजोर बनाउँछ । नेपालमा हाल देखिएको भाषिक आक्रामकता, समाजभित्रै शत्रु सिर्जना गर्ने प्रवृत्ति, उक्साहट तथा द्वेषपूर्ण राजनीतिक शैली फासीवादी प्रवृत्तिका प्रारम्भिक लक्षणसँग मिल्दाजुल्दा देखिन्छन् । यो लोकतन्त्र तथा समग्र देशकै लागि डरलाग्दो छ ।

यस किसिमका गतिविधि निरन्तर बढ्दै गए भने निर्वाचनको वातावरण नै जोखिममा पुग्छ । स्वतन्त्र र निष्पक्ष निर्वाचन असम्भव हुन्छ । धम्की, दबाब तथा हिंसाको जोखिम अझ बढेर जान्छ । यदि निर्वाचन भइहाल्यो भने पनि मतदातामा भय सिर्जना भएर मतदान प्रतिशत घट्छ र निर्वाचनको नतिजाको वैधतामै प्रश्न उठ्छ । समग्रमा यसले देश पुन: अस्थिरता र द्वन्द्वको डरलाग्दो दुश्चक्रमा फस्न सक्छ ।

राजनीतिक तथा निर्वाचनमा हुन सक्ने अवरोधले मूलत: देशका पाँचवटा क्षेत्रलाई प्रत्यक्ष रूपमा गम्भीर असर पार्छ । पहिलो– राजनीतिक स्थिरतामा असर पार्छ । बारम्बारको अव्यवस्था र हिंसाले अस्थिरता निम्त्याउँछ । दोस्रो– लगानी, पर्यटन, व्यापारलगायत सम्पूर्ण आर्थिक गतिविधिमा नकारात्मक असर पुर्याउँछ । तेस्रो– सामाजिक सद्भाव बिथोलिन्छ । एकपटक बिग्रेको सद्भाव पुनस्र्थापित गर्न वर्षौं लाग्न सक्छ । चौथो– राज्यका संस्थाले जनविश्वास गुमाउँछन् । पाँचौँ– लोकतन्त्र कमजोर भई औपचारिकतामा मात्र सीमित हुँदा देश झनै गम्भीर संवैधानिक संकटमा फस्न पुग्छ ।

अब के गर्ने त ? : नेपाल अहिले अत्यन्तै संवेदनशील मोडमा पुगेको छ । अवरोध, अस्थिरता, उक्साहटपूर्ण अभिव्यक्ति, नागरिक नागरिक भिडन्त र कमजोर राज्य संयन्त्रले देशलाई फासीवादी प्रवृत्तितर्फ धकेल्न सक्ने सम्भावना बढाइरहेका छन् । इतिहास हेर्ने हो भने फासीवाद कहिल्यै एकैदिन आएको छैन । सधैँ यस्तै विभाजन, आक्रोश, अवरोध र गैरजिम्मेवार नेतृत्वबाटै सुरु भएको छ । यसबाट देशलाई जोगाउने हो भने इतिहासबाट पाठ सिक्दै नेपालले त्यो गल्ती कुनै पनि हातलमा दोहोर्याउनु हुँदैन । त्यसैले, राजनीतिक दलले संयमित र जिम्मेवार बन्नुपर्छ । नेतृत्वले विवेकपूर्ण भाषा प्रयोग गर्नुपर्छ । आन्दोलनकारीले अधिकारसँगै कर्तव्य पनि सम्झिनुपर्छ र राज्यले शान्ति सुरक्षालाई सबल बनाउनुपर्छ ।

अहिलेको अवस्थालाई समाधान गर्ने सन्दर्भमा राज्य, राजनीतिक दल, जेन–जी आन्दोलनकारी तथा नागरिक सबैको सामूहिक जिम्मेवारी रहेको छ । यसका लागि राज्यले स्पष्ट रूपमा व्यवहारबाटै अवरोध र हिंसा अस्वीकार्य छ भन्ने सन्देश दिनुपर्छ । यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गरिनुपर्छ । सुरक्षा संयन्त्रलाई तटस्थ, चुस्त र उत्तरदायी बनाइने कुरामा आमनागरिकलाई भरोसा दिलाउनुपर्छ । राजनीतिक दल र आन्दोलनकारीबिच उच्चस्तरीय संवाद आवश्यक छ । अझ नेताहरूले संयमित, विचारपरक र गैरउक्साहटपूर्ण भाषा प्रयोग गर्नुपर्छ । नागरिक समाज र मिडियाले निगरानी, तथ्यमा आधारित सूचना र सचेतना विस्तार गर्नुपर्छ ।

आगामी २१ फागुनमा हुने निर्वाचन केवल सरकार बनाउने प्रक्रिया मात्र होइन, बरु आगामी दिनमा देशमा कस्तो राजनीतिक संस्कृति विकास गर्ने भन्ने निर्धारण गर्ने निर्णायक मोड पनि हो । लोकतान्त्रिक मूल्य, बहुलवाद, सहअस्तित्व र कानुनी शासनप्रतिको प्रतिबद्धता निर्वाचनबाटै मापन हुनेछ । सबै पक्षले आफ्ना भूमिका इमानदार रूपमा निभाउन सकेमा आसन्न निर्वाचन लोकतन्त्रलाई अझ सुदृढ बनाउने ऐतिहासिक अवसर बन्न सक्छ । अन्यथा, देश अस्थिरता र विभाजनको अनन्त अन्धकारतर्फ धकेलिन सक्छ । त्यसैले, सबैले विवेक, संयम र लोकतान्त्रिक मूल्यको बाटो रोजून्, यसैबाट देशको भविष्य सुरक्षित हुन्छ ।

(घिमिरे त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्)

सुझावित समाचार