- क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने अत्याधुनिक टोमोथेरापी मेसिन बिग्रिएको एक महिना भयो भने सिटिस्क्यान मेसिन नचलेको दुई महिना भयो, तर वीरलाई बिरामीको पिरले छोएको छैन
टोमोथेरापी मेसिन क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने विश्वकै अत्याधुनिक प्रविधि हो । यो मेसिनबाट क्यान्सर लागेका सेलमा मात्रै रेडिएसन दिएर (सेकेर) उपचार गर्न सकिन्छ, अरू सद्दे सेललाई कुनै असर गर्दैन । तर, नेपालमा वीर अस्पतालमा मात्रै रहेको यति महत्वपूर्ण मेसिन बिग्रिएको एक महिना भइसक्दा पनि बनाउने कुनै सुरसार छैन । क्यान्सरसँग जुधिरहेका बिरामी सेवा नपाउँदा मर्कामा छन् ।
टोमोथेरापीको कथा सुरुदेखि नै पीडादायी छ । सुरुमा ०७५ मै नेपाल भित्र्याइएको ४० करोडको मेसिन सात वर्षसम्म बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा राख्दा खिया लागेर बिग्रिएको थियो । पछि सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड सप्लायर्सले नयाँ मेसिन ल्याएर १८ भदौ ०८० मा वीरलाई हस्तान्तरण गरेको थियो । सोही वर्ष पुसदेखि सञ्चालनमा ल्याइएको मेसिन दुई वर्षमै बिग्रिएको छ । तर, सप्लायर्स कम्पनीले मर्मतसम्भार गरिदिनुपर्ने वारेन्टी अवधि बाँकी रहे पनि अस्पतालले नै बेवास्ता गर्दा अलपत्र अवस्थामा छ । विदेशमा महँगो पर्ने यो सेवा वीरले प्याकेजमै एक लाखमा गर्दै आएको छ ।
वीरमै सिटिस्क्यान मेसिन बिग्रिएको झन् दुई महिना भइसक्यो । अस्पतालमा दुईवटा सिटिस्क्यान मेसिन रहेकामा टाउकोको मात्रै स्क्यान गर्ने सानो मेसिन सञ्चालनमै रहे पनि अन्य भागको स्क्यान गर्ने ठुलो मेसिन बिग्रिएको अस्पतालले जनाएको छ । अस्पतालका एक चिकित्सकका अनुसार उपकरण मर्मतसम्भार गर्दै आएको सप्लायर्सले भुक्तानी नपाउँदा मर्मत गर्न मानेको छैन । सिटिस्क्यान मेसिनको मर्मत वारेन्टी पहिल्यै सकिएको छ । सिटिस्क्यान गर्नुपर्ने बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् ।
वीरका सहायक निर्देशक डा. मीनचन्द्र अधिकारीले टोमोथेरापी र सिटिस्क्यान मेसिन बिग्रिएको स्विकार्दै बनाउने प्रक्रिया भइरहेको बताए । ‘अहिले टोमोथेरापी र सिटिस्क्यान मेसिन बिग्रिएको छ, बनाउने प्रक्रिया भइरहेको छ,’ उनले भने । उनका अनुसार टोमोथेरापी दैनिक १०–१५ जनाको हुन्थ्यो भने सिटिस्क्यान सेवा दैनिक ४५ जनासम्मले लिने गर्थे । यो सेवा अहिले रोकिएको छ ।
केही दिनअघि स्वास्थ्यमन्त्रीलाई अस्पताल बोलाएर बिग्रिएका मेसिन नदेखाई सर्जिकल भवन घुमाएर पठाइएको एक चिकित्सकले बताए । ‘करोडौँमा खरिद गरिएको टोमोथेरापी र ठुलो सिटिस्क्यान मेसिन बिग्रिएको छ, बिरामी मर्कामा परेका छन्,’ ती चिकित्सकले भने, ‘केही दिनअघि स्वास्थ्यमन्त्रीलाई अस्पताल बोलाएर सर्जिकल भवनमा डुलाइयो, तर उपकरण बिग्रिएको र बिरामीले दु:ख पाइरहेको पुरानो भवनमा लगिएन । मेसिन बिग्रिएपछि दुवै सेवा बन्द भएको छ, सप्लायर्सले अग्रिम ३० प्रतिशत भुक्तानी दिएपछि मात्रै बनाउने भनेको छ । बिरामी निजीमा गएर महँगो शुल्क तिर्न बाध्य छन्, यो मर्का कसले बुझ्ने ?’ स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले केही दिनअघि वीरको निरीक्षण गरेकी थिइन् ।
दैलेखबाट बुवालाई उपचार गर्न ल्याएका राम धामीले मेसिन बन्ला र सिटिस्क्यान गरौँला भनेर बसेको १० दिन भइसकेको बताए । ‘बुवाको खुट्टाको सिटिस्क्यान गर्नुपर्ने थियो, तर मेसिन बिग्रिएको रहेछ,’ उनले भने, ‘तैपनि मेसिन बन्ला र सिटी गरौँला भनेर कुरेको १० दिन भइसक्यो । निजीमा लैजान पनि चर्को शुल्क लाग्छ, पैसाको संकट छ ।’
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसी उपकरण बिग्रिएको विषय स्वास्थ्यमन्त्रीलाई जानकारी गराएको र अस्पतालको पनि ध्यानाकर्षण गराइएको बताए । ‘वीरमा महत्वपूर्ण मेसिन बिग्रिएको सम्बन्धमा मन्त्रालय जानकार छ । हामीले स्वास्थ्यमन्त्रीलाई जानकारी गराएका छौँ भने अस्पतालको पनि ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।
स्वास्थ्यमन्त्रीलाई अस्पताल घुमाइयो, तर बिग्रिएको मेसिन देखाइएन
१ मंसिरमा स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतम वीर अस्पतालको निरीक्षणमा पुगेकी थिइन् । तर, प्रशासनले सर्जिकल भवनतिर घुमाएर बिग्रिएका मेसिन भने मन्त्रीलाई नदेखाएको एक चिकित्सकले बताए । ‘करोडौँमा खरिद गरिएको टोमोथेरापी र ठुलो सिटिस्क्यान मेसिन बिग्रिएको छ, बिरामी मर्कामा परेका छन्,’ ती चिकित्सकले भने, ‘केही दिनअघि स्वास्थ्यमन्त्रीलाई अस्पताल बोलाएर सर्जिकल भवनमा डुलाइयो, तर उपकरण बिग्रिएको र बिरामीले दु:ख पाइरहेको पुरानो भवनमा लगिएन । मेसिन बिग्रिएपछि दुवै सेवा बन्द भएको छ, सप्लायर्सले अग्रिम ३० प्रतिशत भुक्तानी दिएपछि मात्रै बनाउने भनेको छ । बिरामी निजीमा गएर महँगो शुल्क तिर्न बाध्य छन्, यो मर्का कसले बुझ्ने ?’