बाराको सिमरा–पथलैया क्षेत्रमा उत्पन्न तनाव समाधान गर्न शुक्रबार प्रशासन र जेन–जीबिच पथलैयास्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालयमा भएको वार्ता सफल भएको छ। एमाले कार्यकर्ता र जेन–जी युवाबिचको विवादले याे क्षेत्र असामान्य बन्दै गएपछि जेन–जी अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादव र मधेश प्रदेश अध्यक्ष शिव यादवसमेत नेतृत्वको टोली सिमरा पुगेकाे थियाे।
वार्तामा जेन–जी युवाको सुरक्षा सुनिश्चित गर्ने, घाइतेको उपचारमा तत्काल समन्वय गर्ने र घटनाको निष्पक्ष छानबिन तथा कारबाही अघि बढाउने सहमति बनेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। जेन–जी पक्षले निरन्तर धम्की र असुरक्षाको वातावरण रहेको बताउँदै सुरक्षाको ग्यारेन्टी मुख्य मागका रूपमा राखेको थियो।
सुदन गुरुङले हालको तनावमा गृह मन्त्रालयको कमजोरी जिम्मेवार रहेको आरोप लगाउँदै घाइतेहरूलाई भेटघाट गर्ने तयारी भइरहेको बताए।
वार्ताको निष्कर्ष सार्वजनिक गर्दै काउन्सिल अफ जेन–जी बारा संयोजक साइकुस उपाध्याय सम्राटले वार्ता सफल भएको र आगामी सबै आन्दोलन कार्यक्रम स्थगित गरिएको घोषणा गरे। प्रशासनले दिएको प्रतिबद्धता समयमै कार्यान्वयन भए सिमराको अवस्था छिट्टै सामान्य हुनेमा जेन–जी पक्षले विश्वास गरेको छ।