शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो।
सुदूरको इनिङ्समा अस्ट्रेलियन ३१ वर्षीय ओपनिङ ब्याटर जस ब्राउनले अर्धशतक बनाए। जिमी निसमको बलमा किरण ठगुन्नाबाट क्याचआउट हुनुअघि जसले ३५ बलमा ६ चौका र पाँच छक्का हिर्काएका थिए।
अर्का ओपनिङ ब्याटर विनोद भण्डारीले ४२ बलमा ४३ रन जोडे। ६ चौका प्रहार गरेका विनोद अर्धशतक बनाउन ७ रनले चुके। उनलाई आकाश चन्दले कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन्।
पहिलो विकेटका लागि विनोद र ब्राउनले १०८ रनको बलियो साझेदारी गरेका थिए। दुई खेलाडीले १०.४ ओभरसम्म ब्याटिङ गर्दा सुदूरपश्चिमले बलियो योगफल तयार पारेको थियो। यी दुवै खेलाडी काठमाडौंविरुद्ध डकआउट भएका थिए।
विनोद र ब्राउनले दोस्रो एनपिएलमा पहिलो विकेटको लागि सर्वाधिक ठुलो साझेदारी गरेका हुन्। समग्र दोस्रो एनपिएलको भने दोस्रो ठुलो साझेदारी हो। यसअघि विराटनगरका लोकेश बम र मार्टिन गुप्टिलले पोखराविरुद्ध नै दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए।
तेस्रो नम्बर क्रिजमा आएका अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनले आक्रमक ब्याटिङ गरे। उनी १३ बलमा चार चौका र दुई छक्कासहित ३१ रन बनाएर जिमी निसमबाट आउट भए।
कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रनको योगदान गरे। उनले समान एक चौका र छक्का प्रहार गरेका थिए। अघिल्लो खेलमा अर्धशतक बनाउँदै प्लेयर अफ दी म्याच बनेका हर्मित सिंह चार रन बनाएर आउट भए। उनी २० बलमा ५३ रन बनाउन सफल भएका थिए। स्कट कुगुलेइनले आठ रन मात्र बनाउँदा आरिफ शेख डकआउट भए।
पोखराका जिमी निसमले तीन तथा डान डाउडवेट र आकाश चन्दले समान दुई विकेट लिए। डानले चार ओभरमा २४ रन खर्चिँदा जिमीले ४७ र आकाशले ४४ रन खर्चिए। विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेल विकेटविहीन भए।
पोखरा पहिलो जितको खोजीमा छ। पोखराले यसअघि सम्पन्न पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार व्यहोरेको थियो। सुदूरपश्चिमले पहिलो खेलमा काठमाडाैं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो।