पुस दोस्रो सातादेखि आठौँ बागलुङ महोत्सव

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

आठौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पुस दोस्रो सातादेखि सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । बिहीबार बागलुङमा पत्रकार भेटघाटको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी गराएको हो ।

०५९ सालदेखि बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महाेत्सव यसपटक पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौँ बागलुङ महोत्सव– २०८२ को रूपमा आयोजना गर्न लागिएको हो ।

कला संस्कृतिको संरक्षण, पर्यटन तथा कृषि उद्योग तथा व्यापारको प्रवर्द्धन भन्ने जिल्लाको मूल नारालाई आत्मसात् गर्दै र परम्परालाई निरन्तरता दिँदै आयोजना गर्न लागिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए । महोत्सव पुस ११ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवले स्वदेशी उद्योग, व्यवसायको सम्बर्द्धन, अर्थतन्त्रलाई राष्ट्रिय आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग पुर्याउनुका साथै नेपाल सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२५ लाई सभ्य र भव्य रूपमा सम्पन्न सहयोग गर्ने आयोजकको विश्वास छ ।

बागलुङ नगरपालिका–१, बाँगेचौर खेलमैदानमा हुने महोत्सवमा डेढ सयदेखि दुई व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । आठ लाख दर्शकले अवलोकन गर्ने आकलन गरिएको महोत्सवमा एक करोड ७० लाख खर्च हुने अनुमान गरिएको छ । ‘हामीले स्पोन्सर, टिकट बिक्रीलगायत गरेर दुई करोड २० लाख आम्दानी गर्ने र एक करोड ७० लाख खर्च गरेर ५० लाख जोगाउने लक्ष्य राखेका छौँ ।’

बचत रकमबाट बागलुङ बजारमा सिसिक्यामरा जडान एवं मर्मत कार्यलाई निरन्तरता दिने, बजारमा तथा नयाँ जडान गर्ने,  बागलुङ कोसेली घर सञ्चालनका लागि खर्च गर्ने, मानवसेवा आश्रमलाई प्रतिटिकट १० रुपैयाँको दरले सहयोग गर्ने, खेलकुद कोष स्थापना गर्ने, जिल्लाभर हुने महिला, लघुउद्यमी, कृषकलगायतले उत्पादन गरेका स्थानीय सामग्री संकलन एवं बिक्री गर्ने लक्ष्य राखिएको छ । 

महोत्सवको अवसरमा जिल्ला र प्रदेशका विभिन्न पर्यटकीय स्थलको वृत्तचित्र प्रदर्शनी, टिकटक च्यालेन्ज, फोटो प्रदर्शनी, हाइकिङ टुर प्याकेज, मेड इन बागलुङ कक्ष स्थापना गरी स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने, सुन्तला प्रवर्द्धन, माछाको प्रवर्द्धन, होम स्टे कनेक्सन (स्थानीय खाना र पर्यटन प्रवर्द्धन),  प्रदेशभित्रका नमुना होमस्टेहरूका परिकार र झाँकीहरू प्रदर्शनी गर्ने, औद्योगिक उत्पादन, सेवाहरूको प्रदर्शन एवं बिक्री–वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।  

महोत्सवमा वित्तीय संस्थाहरूको स्टल प्रदर्शनी, कृषि मेला, रैथाने बाली एवं पशुजन्य उत्पादनको प्रदेशन एवं विक्री, सूचना प्रविधिसम्बन्धी परामर्श, प्रदर्शनी र बिक्री, हस्तकलाका सामानहरूको प्रदर्शनी एवं बिक्री गर्ने योजना राखिएको छ ।

महोत्सवमा कृषि, घरेलु, वन पैदावार,, जडीबुटी, लघु–उद्यमीद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा बिक्री–वितरण, विभिन्न जात–जातिका खानाका परिकार तथा रेस्टुरेन्टहरू, गण्डकी प्रदेश विभिन्न संस्कृतिहरूको फोटो तथा धार्मिक, पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, अटो मोबाइल तथा हेभी इक्विपमेन्टका स्टलहरू रहनेछन् । त्यसका अलावा साहसिक पर्यटकीय खेलहरूको प्रतियोगिता र सहभागिता, खुला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, खुला प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरूद्वारा विविध सांगीतिक कार्यक्रम,  पन्चेबाजा प्रदर्शनी/प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । 

त्यसैगरी, आर्चरी, तारो हान्ने प्रतियोगिता, भाले छुने प्रतियोगिता, डाेरी तान्ने खेल, घैँटोफोर कार्यक्रम, प्रदेशस्तरीय पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, सामूहिक नृत्य प्रतियोगिता,  बाल उद्यान (रमाइलो मेला) आकर्षणको रूपमा रहनेछन् । महोत्सवको तयारीसँगै प्रयोजक र सहयोगीहरूसँग छलफल अगाडि बढाएको अध्यक्ष शाक्यले बताए ।

पर्वत र बागलुङले अघिपछि गरेर महोत्सव गर्ने छलफल भए पनि अन्तिम समयमा आएर पर्वतले समय जुधाएको उनको भनाइ थियो । बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले महोत्सवले यहाँको अर्थतन्त्र चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 
 

सुझावित समाचार