दोस्रो संस्करणको एनपिएलमा सुदूरपश्चिम रोयल्सले ब्याटिङ र बलिङमा बलियो रहेको उदाहरण दिइसकेको छ । यसको झल्को सुदूरपश्चिमले काठमाडौं गोर्खाजविरुद्ध देखाएको थियो । हर्मित सिंहको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाडौंलाई सहजै पाखा लगाउँदै जितका साथ एनपिएल सुरु गर्यो । यसविपरीत ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको पोखराले शुक्रबार साबिक उपविजेता सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
सुदूरपश्चिमको तुलनामा पोखरालाई यो खेल दबाबपूर्ण छ । पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित पोखराले आफ्नो दोस्रो खेल जितबाहेक अरू विकल्प हेरेको छैन । पोखराले शीर्ष चारभित्रको आशा जीवितै राख्न पनि सुदूरपश्चिमलाई हराउनैपर्नेछ । अर्कोतिर शीर्ष चारतर्फ अग्रसर हुन सुदूरपश्चिम लगातार दोस्रो जितको योजनासहित मैदानमा उत्रनेछ ।
पहिलो संस्करणको तथ्यांकअनुसार यी दुवै टोलीबिच खासै अन्तर छैन । सुदूरपश्चिमले केवल ५ रनको अन्तरमा पोखरालाई हराएको थियो । त्यसमा विदेशी खेलाडी स्कट कुग्गेलेजिनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले १८ रन दिएर पाँच विकेट लिँदा पोखराले खेल गुमायो । पोखराले सम्भवत: स्कटको बलिङ बिर्सेको छैन । पोखरा पहिलो जितको खोजीमा रहँदा स्कटलाई मौका नदिने पक्षमा छ ।
पोखराका कप्तान कुशल भुर्तेलले दोस्रो खेलमा गल्ती नदोहोर्याउने बताइसकेका छन् । पहिलो खेलमा बलिङ र ब्याटिङमा कमजोरी भएका कारण पराजित भएको उनी मान्छन् । ‘दोस्रो खेलमा कमजोरी सुधार्छौँ,’ उनले पहिलो खेलपछि भनेका थिए, ‘विशेष ब्याटिङ पक्ष सुधार्नुपर्छ ।’ पोखराले आशा गरेका न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान जिमी निसिमबाट पहिलो खेल खासै योगदान पाउन सकेन । उनी गोल्डेन डक आउट भएका थिए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जितको निरन्तरता हुने बताएका छन् । ‘पहिलो खेलमा जस्तै दोस्रो खेलमा यसैको निरन्तरता हुनेछ,’ उनले भनेका थिए, ‘सबैले आ–आफ्नो भूमिका निर्वाह गर्दा जित सहज बन्नेछ ।’ पछिल्लो खेलमा काठमाडौंविरुद्ध शीर्ष क्रमका ब्याटिङ नचल्दा सुदूरपश्चिम दबाबमा परेको थियो । मध्यक्रम र पुछारका खेलाडीले खेल सम्हाले । सुदूरपश्चिमका ओपनरले पावर प्लेमा आक्रामक खेल्दा त्यसपछिका ब्याट्सम्यान दबाबमा पर्नेछैनन् । पोखराले मध्यक्रम सुधार गर्नुपर्नेछ । एनपिएलकै कीर्तिमानी लक्ष्य पछ्याउँदा पोखराले एक समय उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान कुशल भुर्तेल र एडमबिच उत्कृष्ट साझेदारी भएको थियो । यी दुवै खेलाडी आउट हुँदा पोखरा खेलमा पछि पर्यो । पहिलो खेलमै पोखराका बलर खर्चिलो देखिए । मुख्य स्ट्राइक बलर आकाश चन्द, सागर ढकाल तथा जेम्स निसिमको इकोनोमी प्रतिओभर १० रनभन्दा माथि रह्यो ।
प्लेयर्स टु वाच
अभिषेक तिवारी (पोखरा)
पोखरा शुक्रबार बलियो ब्याटिङ लाइनअप भएको सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्दै छ । दोस्रो सिजनको एनपिएलमा पोखराले मध्यक्रमको ब्याटिङबाट धेरै आशा गरेको छ । यद्यपि, विराटनगरविरुद्धको खेलमा यसै अर्डरका ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा पोखराले हार सामना गर्नुपरेको थियो । दोस्रो खेलमा मध्यक्रमका ब्याट्सम्यान अभिषेकले गतिलो प्रदर्शन गरेका थिए । पहिलो खेलमा आठौँ क्रममा ब्याटिङ गरेका उनले नौ बलमा एक छक्का प्रहार गरी ११ रन बटुलेका थिए । नेपालको यू–१९ टोलीका सदस्यसमेत रहेका अभिषेकले जुनियर लेभलमा बलिङ गरेका छन् । यद्यपि, एनपिएलमा उनले बलिङमा मौका पाएका छैनन् ।
एडम रोसिङटन (पोखरा)
इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान एडम उच्च फर्ममा छन् । ओपनिङ भूमिका निर्वाह गर्ने उनले विराटनगरविरुद्ध आक्रामक ब्याटिङ गरेका थिए । पहिलो खेलमा उनी क्रिजमा रहँदा पोखराले कीर्तिमान लक्ष्य पछ्याउने आशा गरेको थियो । उनी आउट भएसँगै पोखराको ब्याटिङ कमजोर हुन पुग्यो । टोलीले पहिलो तथा दोस्रो ब्याटिङ गर्दा उनी आवश्यकताअनुसार आफूलाई प्रस्तुत गर्छन् । एनपिएलमा पोखराले हारका साथ लिग सुरु गरेको थियो । दोस्रो खेलमा जित निकाल्दा पोखराले सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गर्नुपर्छ । यसमा धेरै योगदान दिन सक्ने खेलाडी नै एडम हुन् । विराटनगरविरुद्ध उनले २१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ३९ रन बनाएका थिए ।
आरिफ शेख (सुदूरपश्चिम)
सुदूरपश्चिमले दोस्रो खेलमा पोखराविरुद्ध प्रतिस्पर्धा गर्दा घरेलु टोलीका सिनियर खेलाडी शेखबाट धेरै अपेक्षा राखेको छ । काठमाडौं गोर्खाजविरुद्ध दयनीय अवस्थामा रहँदा चौथो क्रममा ब्याटिङ गर्न आएका शेखले सुदूरपश्चिमको स्कोरबोर्ड उकासेका थिए । उनले २४ बलमा तीन चौकाको सहयोगमा २५ रनको महत्वपूर्ण योगदान दिए । शेखले तेस्रो र चौथो विकेटका लागि गतिलो साझेदारी गर्दै टोलीलाई सुदृढ अवस्थामा पुर्याएका थिए । उनले टी–२० आईमा ४५ खेलमा ५५३ रन जोडेका छन् । ब्याटिङ मात्र नभएर आवश्यकताअनुसार उनी बलिङ पनि गर्न सक्छन् । सुदूरपश्चिमको ब्याटिङमा शेखको स्पिनले जादु देखाउन सक्छ ।
हर्मित सिंह (सुदूरपश्चिम)
काठमाडौं गोर्खाजमाथि पहिलो खेलमा सानदार जित निकाल्दा अमेरिकी अलराउन्डर हर्मितले सबैभन्दा धेरै योगदान दिएका थिए । उनले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गर्दा काठमाडौं फितलो देखियो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम एक समय कमजोर अवस्थामा थियो । तर, हर्मितले इनिङ्सको १६औँ र १७औँ ओभरमा विस्फोटक ब्याटिङ गर्दै खेल सुदूरपश्चिमतर्फ ल्याएका थिए । पछिल्लो समय उत्कृष्ट बलिङ गर्दै आइरहेका हर्मितले ड्यु परेको पिचमा सटीक प्रदर्शन गर्छन् । यसको उदाहरण उनले पहिलो खेलमा देखाइसकेका छन् । सुदूरपश्चिमको दोस्रो खेलमा हर्मितले पुन: एकपटक अलराउन्ड प्रदर्शन गरेको अवस्थामा पोखरा दबाबमा आउन सक्छ ।