सिमरा दोस्रो दिन पनि तनावग्रस्त : जेन–जी र प्रहरीबिचको झडपमा दुवैतर्फ १० जना घाइते

आज वार्ताको तयारी, तर वार्तास्थलबारे मतभेद

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण
  • कुटपिटमा संलग्न फरारहरूलाई पक्राउ गरी कारबाहीको प्रतिबद्धता जनाउनुपर्ने र वार्ताका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली सिमरा आउनुपर्ने जेन–जीको माग
  • जितपुरसिमरा उपमहानगर– २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, ६ का वडाध्यक्ष कैमद्दिन अन्सारी र एमाले नेता अरविन्द साह पक्राउ 
  • वार्ताका लागि समन्वय गर्न खेलकुदमन्त्री बब्लु गुप्ता सिमरामा

आफूहरू प्रदर्शनमा उत्रिएका वेला एमालेका कार्यकर्ताले कुटपिट गरेको भन्दै जेन–जी युवाले वार्ताका लागि स्थानीय प्रशासनको टोली सिमरा आउनुपर्ने अडान राखेका छन् ।

सुदन गुरुङ नेतृत्वको काउन्सिल अफ जेन–जी बाराका संयोजक साइकुस उपाध्याय ‘सम्राट’ले आफूहरूको मागबमोजिम प्रहरी र प्रशासनले तीनजनालाई नियन्त्रणमा लिएकाले शुक्रबार वार्तामा जान तयार रहेको र प्रमुख जिल्ला अधिकारीसहितको टोली सिमरा आउनुपर्ने बताए । ‘हाम्रा दुईवटा माग छन् । पहिलो– हामीमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही हुनुपर्छ । दोस्रो– वार्ताका लागि प्रशासनको टोली सिमरामा आउनुपर्छ,’ उनले भने, ‘तीनजना पक्राउ परिसकेकाले अब थप फरारलाई पनि पक्राउ गर्ने प्रतिबद्धता भएमा वार्तामा जान्छौँ । तर, सदरमुकाम कलैया होइन, सिमरा बजारमा वार्ता हुनुपर्छ ।’ शुक्रबार प्रदर्शन के गर्ने भन्नेबारे बिहान निर्णय हुने उनले बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बिहीबार नै वार्तामा बोलाएका थिए । तर, जेन–जीले आफूरूमाथि कुटपिट गर्ने मुख्य व्यक्ति अरविन्द साहलाई पक्राउ गर्नुपर्ने र सिमरामा वार्ता हुनुपर्ने भन्दै बिहीबार दिनभर प्रदर्शन गरेका थिए । साह बिहीबार साँझ पक्राउ परिसकेका छन् । प्रमुख जिल्ला अधिकारी मिश्रले कमान्ड छाडेर बाहिर जान नमिल्ने भएकाले जेन–जीलाई सदरमुकाम आउन भनेको बताए । ‘उहाँहरूलाई बिहीबार पनि वार्ताका निम्ति आउन आग्रह गरेका थियौँ । तर, व्यस्त भएर होला आउनुभएन । शुक्रबार आउने खबर प्राप्त भएको छ । हामी वार्ताबाट समाधान गर्छौँ,’ उनले दाबी गरे ।

बुधबार सिमरा बजारमा भएको कुटपिटमा संलग्न रहेको आरोपमा आठजनाविरुद्ध किटानी जाहेरी दिए पनि मुख्य व्यक्तिहरू पक्राउ नपरेको भन्दै जेन–जीले बिहीबार दिनभर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले बिहीबार वीरगन्ज–पथलैया सडक अवरुद्ध गर्दै दिनभर प्रदर्शन गरे । अवरुद्ध सडक खुलाउने क्रममा प्रहरी बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो । झडपमा चारजना प्रदर्शनकारी र ६ जना प्रहरी गरी १० जना घाइते भएका छन् । जवाफमा प्रहरीले ६ सेल अश्रुग्यास र दुई राउन्ड हवाई फायरिङ गरेको थियो ।

त्यसअघि बिहीबार नै जितपुर सिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्दिन अन्सारी पक्राउ परेका थिए । प्रदर्शन भएपछि बारा प्रशासनले जेन–जी प्रतिनिधिलाई सदरमुकाम कलैयामा वार्तामा बोलायो । तर, जेन–जीले भने कुटपिटमा संलग्न एमाले कार्यकर्ता अरविन्द साहलाई पनि पक्राउ गरेपछि वार्तामा बस्ने जवाफ फर्काएका थिए । साह बिहीबार साँझ ७ बजे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले किटानी जाहेरी परेका अन्यको खोजी भइरहेको बताए ।

सिमरामा उत्पन्न तनावप्रति मानव अधिकार आयोगको चासो, शान्तिसुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै शान्ति–सुरक्षाको अवस्था सुदृढ गर्न सरकारलाई निर्देशन दिएको छ । एमाले कार्यकर्ता र जेन–जी समूहबिचको झडपपछि उत्पन्न स्थितिप्रति चासो व्यक्त गर्दै आयोगले यस्ता घटना पुन: दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्न पनि निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा स्थिति सामान्यीकरण गर्ने–गराउने कार्यमा सहयोग गर्नसमेत सबैमा आग्रह गरिएको छ । ‘शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाहरूबिच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जाने आयोगको चिन्ता छ । यस्ता घटनाले निर्वाचन वातावरण बिग्रन सक्ने भन्दै आयोगले अवस्था सामान्यीकरणका लागि काम गर्न भनेको छ । ‘यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्तिसुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी छ,’ आयोगको विज्ञप्तिमा छ ।

उच्च संयमता अपनाउन प्रचण्डको आग्रह
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थिति थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन अपिल गरेका छन् । ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ, तर त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन,’ प्रचण्डले भनेका छन्, ‘त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाध रूपमा हिँडडुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

समन्वय गर्न खेलकुदमन्त्री गुप्ता सिमरामा 
सिमरामा तनावपूर्ण स्थिति वार्तामार्फत समाधानका लागि समन्वय गर्न खेलकुदमन्त्री बब्लु गुप्ता आज बिहीबार साँझ सिमरा पुगेका छन् । साथमा जेन–जी अगुवा पुरुषोत्तम यादव र सुधन गुरुङसमेत रहनेछन् । गुरुङले आफूहरूले घाइतेलाई भेटघाट गर्ने बताए । सिमरामा एमाले कार्यकर्ता र जेन–जी युवाबिच विवाद भई असामान्य बनेको परिस्थितिको समाधान खोज्न जेन–जी अगुवा सिमरा पुगेका हुन् । 

See More On

सुझावित समाचार