बर्दिया राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन सुरु भएको छ। निकुञ्जभित्र रहेका हात्ती, गैँडा, निलगाईसहित मृग प्रजातिलगायतका वन्यजन्तुको आहारका लागि घाँसे मैदान व्यवस्थापन सुरु गरिएको हो।
निकुञ्जभित्र साना र ठुला गरी २२ घाँसे मैदान छन्। घाँसे मैदान व्यवस्थापनअन्तर्गत ग्राँस कटरको प्रयोग गरी काट्ने, मिचाहा प्रजातिका बिरुवा हटाउने, र घाँसे मैदान बनाउन थालिएको निकुञ्ज वरिष्ठ संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए। उनले भने, ‘वन्यजन्तुलाई नरम घाँस मन पर्ने भएकोले पनि वर्षमा दुईपटक घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ।’
निकुञ्जभित्र बगौरा फाँटा, लम्कौली फाँटा, बाघ मचान, गैँडा मचान फाँटा, धनेश ताल फाँटा, चित्तल फाँटा, कुसुम फाँटा, किंग फिसर फाँटालगायतमा घाँसे मैदान छ। जहाँ हात्ती, गैँडा, निलगाई मृग प्रजातिको वन्यजन्तु चरिचरणको लागि आउने गर्छन्।