एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ६ मंसिरमा एमालेको बृहत् प्रदर्शन र सभा देखेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गरेका छन्। प्रेस चौतारी नेपालको साक्षात्कारमा बुधबार बस्नेतले यस्तो बताएका हुन्।
‘५ मंसिरमा माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिन्छ। कार्की बैंक्वैटमा अध्यक्षज्यूलाई बोलाएर युथ भोलेन्टियर्स घोषणा कार्यक्रम हुन्छ। ६ गतेको बृहत् सभा व्यापक सफल भएपछि सुशील आमैले राजीनामा दिनुपर्छ भन्ने उनलाई थाहा छ,’ बस्नेतले भने।
अर्को प्रसंगमा बस्नेतले जेन-जीको नाममा २४ भदौको सिंहदरबार, संसदलगायतका राष्ट्रिय सम्पदामा भएको आगजानीका सबै प्रमाणहरू गृहमन्त्री ओमप्रकाश अर्यालले नष्ट बनाइसकेको आरोप लगाए।
‘एकैपटक कसरी ध्वस्त बनाइयो, तीन चार हजार गाडी कसरी जलाइयो? केके प्रयोग भए सबै प्रमाणहरू गृहमन्त्रीजीले नष्ट गरिसक्नुभो,’ बस्नेतले भने, 'अर्का सञ्चारमन्त्री सामाजिक सञ्जालका भिडियो, अडियो रेकर्ड हटाएर प्रमाण नष्ट गर्न सकिन्छ कि भनेर दक्षिण कोरिया पुगेको बुझिन्छ। तर, सम्भावना कम छ, भइहाले पनि प्रहरीसँग मात्र होइन, हामीसँग पनि सबै प्रमाण सुरक्षित छन्।’
सबै प्रमाण सुरक्षित भएकाले एमालेले कुनै पनि दिन ‘अपराधी’ र ‘लुसिफरहरू’लाई कारबाही गर्ने बस्नेतले चेतावनी दिएका छन्।