जग्गा विवादको डरले दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माण गुर्जे खोलादेखि सुरु भएको छ । रतनपुर क्षेत्रमा जग्गा एकातिर च्यापिएको भन्ने विवाद रहेकाले गुर्जेखोलादेखि सुरु गरेको श्री दिवा–बन्दना भगवती जेभीका कन्ट्रयाक्ट म्यानेजर सुनील ढुंगानाले बताए । ‘घोराही क्षेत्रको रतनपुर आसपासमा जग्गा एकातिर च्यापिएको भन्ने छ,’ उनले भने, ‘त्यसैले सुरुमा किन विवादमा फस्ने भनेर गुर्जेखोलादेखि काम सुरु गरेका हौँ ।’
घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म चारलेन सडक विस्तारको सम्झौता भए पनि पहिलो चरणमा गुर्जेखोलादेखि काम सुरु भएको हो । सोमबारदेखि काम सुरु भएको छ । ‘सम्झौता मितिभन्दा अघि काम सक्ने हाम्रो लक्ष्य छ,’ उनले भने,‘त्योअनुसार काम अघि बढाएका छौँ ।’ अहिले माटो भर्ने र झाडी फाल्ने कार्य भइरहेको छ ।
उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्रे हुनेछ, भने चौडाइ चार लेनको हुनेछ । जसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ, भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ ।
सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रेको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रे सुरु हुनेछ । चारलेनकै कामको सहजताका लागि सडकखण्डकै बेलझुण्डी रंगशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गर्ने, पानीका लागि डिप बोरिङ खन्ने र त्यहीँ साइड अफिस खोल्ने कामसमेत भइसकेको उनले बताए ।
सडक सुधार आयोजनाअन्तर्गत मदन–भण्डारी सडक मार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ । ३६ महिनामा सक्ने गरी सम्झौता भएको सडक डिभिजन कार्याल दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए । गत २४ असारमा श्री दिवा–बन्दन भगवती जेभीसँग सम्झौता भएको हो । भ्याटबाहेक दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चार लेनको काम हुन लागेको हो।
सोही सडक चार लेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि साउन ०८१ देखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अबस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर १ फागुनमा बोलपत्र आह्वान भएको थियो । उक्त सडकबिचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणकालागि प्रक्रिया अघि बढिसकेको छ ।