अमेरिकी राजदूत थम्प्सनद्वारा हेलम्बुमा डेन्टल अस्पताल भवन शिलान्यास

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

अमेरिकाकाे आर्थिक सहयोगमा हेलम्बु गाउँपालिकामा डेन्टल अस्पताल बन्न लागेकाे छ।
नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले हेलम्बु पुगेर मंगलबार अस्पताल भवनको शिलान्यास गरेका हुन्।

राजदूत थम्पसनसँगै हेलम्बु पुगेका बुद्ध धर्मगुरु मिङ्ग्युर रिम्पाेछेले पनि भवन शीलान्यास कार्यक्रमलाई बुद्धिष्ट मन्त्र जप गरेर साथ दिएका थिए। राजदूतसँगै धुलिखेल अस्पतालका वरिष्ठ चिकित्सक डा. राम श्रेष्ठ  हेलम्बु गएका थिए। अस्पताललाई आवश्यक उपकरण र चिकित्सक सहयोग गर्ने श्रेष्ठले वचन दिए। नेपाल बसाइँकाे क्रममा हिमाली भेग हेलम्बु पुग्न पाउँदा थम्पसनले खुसी व्यक्त गरे।

हेलम्बु गाउँपालिका– ६ इचाेकमा उक्त अस्पताल एक वर्षभित्र बन्नेछ। अमेरिकी आर्थिक सहयोग  हेलम्बु स्वास्थ्य प्रतिष्ठानमा प्राप्त हुनसाथ निर्माण अगाडि बढ्ने बताइएको छ। निर्माण र अस्पताल सञ्चालन साेही प्रतिष्ठानले गर्नेछ।

पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अनुराेधमा राजदूतले आर्थिक सहायता उपलब्ध गराउन लागेका हुन्। अस्पताल भवनसँगै आवश्यक उपकरण र चिकित्सक  व्यवस्थापन अमेरिकी सहायतामा प्राप्त हुने शेर्पाले सुनाए।

स्वास्थ्य क्षेत्रमा नवजात शिशु, सुत्केरी, वृद्धवृद्धा र दीर्घ राेगीलाई निःशुल्क उपचार र औषधि दिँदै आएको हेलम्बुले दन्त अस्पताल खाेलेर स्थानीयलाई थप सेवा प्रदान गर्न लागेको हाे।

राजदूत थम्पसन र रिम्पाेछेले वागमती प्रदेशमा महत्वाकांक्षी याेजनाकाे रुपमा निर्माणाधीन हेलम्बु ग्रेट ट्रेलकाे स्थलगत भ्रमण गरेर सुन्दर हिमालकाे दृश्यावलाेकन गरे। रिम्पाेछे मिङ्ग्युरले इचाेकमा रहेकाे प्रभाचेत गुम्बामा जम्मा भएका स्थानीयलाई बुद्ध धर्मकाे ज्ञान दिएर पूजापाठसमेत गरेका थिए।

सुझावित समाचार