काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि पाँच विकेटको जित निकालेको छ। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको नोक्सानीमा १३० रनको मध्यम योगफल बनाएको थियो। प्रत्युत्तरमा काठमाडौंले १८ ओभरमा पाँच विकेटको क्षतिमा १३१ रन बनाएको हो।
जितसँगै काठमाडौंले पहिलो संस्करणमा जनकपुरसँग पहिलो चरणमा हारको बदला लिएको छ। गत वर्ष काठमाडौंमाथि जनकपुरले पाँचै विकेटको जित निकालेको थियो।
काठमाडौंको जितमा आकाश त्रिपाठी र वेन चालेवर्थले पहिलो विकेटका लागि ८.१ ओभरमा ७० रनको उत्कृष्ट साझेदारी गर्दे जितको आधार बनाएका थिए। वेनले २३ बलमा तीन छक्का र पाँच चौका प्रहार गरी ४६ रनको योगदान दिए। आकाशले ४५ बलमा ५ चौका प्रहार गरी ३९ रन बटुले। मध्यक्रममा मिलिन्द कुमारले २२ बलमा १९ रन तथा इंग्लिस खेलाडी जोन सिम्पसनले ६ बलमा समान एक चौका र छक्का प्रहार गरी १३ रन बटुले।
जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी, जान निकोल लफ्टी इटन र संजय कृष्णमुर्तिले समान एक विकेट लिए पनि काठमाडाैंलाई लक्ष्य पूरा गर्नबाट रोक्न सकेनन्।
ओपनर आशिफ शेखले लिगको पहिलो अर्धशतक बनाए पनि जनकपुरले गतिलो ब्याटिङ प्रदर्शन गर्न सकेन। शेखले ४१ बलमा ५४ रन जोडे। मध्यक्रममा काठमाडौंका स्पिनरले तीन विकेट लिँदा जनकपुरको ब्याटिङ कमजोर बन्यो।अन्तिममा मायंक यादव र लाहिरु समराकुनले छैटो विकेटका लागि ४८ रन जोड्दै जनकपुरलाई मध्यम योगफलसम्म पुर्याए । मायंकले २९ बलमा ३४ रन तथा लाहिरुले २१ बलमा २२ रन जोडे ।
काठमाडौंका लागि मिलिन्द कुमारले सर्वाधिक तीन विकेट लिँदा करण केसी, साहब आलम र सन्तोष यादवले समान एक–एक विकेट लिए।