प्यारापिट र फ्लड लाइटसहित तयार भयो त्रिवि मैदान

त्रिवि क्रिकेट रंगशालामा प्यारापिट र फ्लड लाइटको सुविधा भएपछि नेपालमा अन्तर्राष्ट्रिय खेल आयोजनाको बाटो खुलेको छ

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारी लगानीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको प्यारापिट र फ्लड लाइटसहितको पहिलो चरणको काम पूरा भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले रंगशालाको पहिलो चरणको निर्माण पूरा गरी नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको छ । सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।

त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलका लागि रंगशालाको नयाँ स्वरूप तयार भएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबिच क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौता समय वैशाख ०८३ मा सकिँदै छ । रंगशाला हस्तान्तरणपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब नेपालमा पनि डे–नाइट क्रिकेट खेल सम्भव भएको बताए । ‘त्रिवि मैदानमा फ्लड लाइट जडान भएपछि नेपालमा पनि डे–नाइट क्रिकेटको वातावरण बनेको छ,’ चन्दले भने, ‘यसका लागि केपी ओली नेतृत्वको सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

तत्कालीन सरकारले १० महिनाको समयसीमा तोकेकै कारण तुलनात्मक रूपमा छिटो आयोजना सम्भव भएको उनले बताए । चन्दले दोस्रो चरणको कामका लागि नयाँ सरकारले गरेको निर्णयप्रति समेत आभार व्यक्त गरे । रंगशाला हस्तान्तरण कार्यक्रममा सहरी विकासमन्त्री घिसिङले क्रिकेट मैदान उज्यालो हुने गरी उद्घाटन गर्न पाउँदा उज्यालो नेपाल भएजस्तो लागेको बताए । यसका लागि उनले विगतका सरकारको निर्णयलाई समेत स्मरण गरे । 

१० अर्बको गुरुयोजना
मन्त्री घिसिङले आफूले दुई महिनाअगाडि आएर गरेको अनुगमनसमेत स्मरण गरे । अलिकति समय बढी भए पनि नेपालमा छिटो सम्पन्न भएको परियोजनामा यो आयोजना परेको उनले बताए । रंगशालाको पहिलो चरण सम्पन्न भएसँगै वर्तमान सरकारले १० अर्बको गुरुयोजना स्वीकृत गरेर दोस्रो चरणको टेन्डर प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको उनले जानकारी दिए । 

मन्त्री घिसिङका अनुसार आगामी दुईदेखि तीन वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने विश्वास दिलाए । गत असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिइएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त पहलमा छोटो समयमा काम सम्पन्न भएको बताए । 

सुझावित समाचार