जेन–जी आन्दोलनमा आगजनीपछि प्रभावित सर्वोच्च अदालतले दुई महिनापछि पूर्ण रूपमा सेवा सञ्चालन गर्ने भएको छ । सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ हुने भएको हो । आन्दोलनमा सर्वाेच्चको भवन र मिसिलहरू जलेपछि मुद्दा प्रभावित हुँदै आएको थियो । यसबिचमा बन्दी प्रत्यक्षीकरण र रिटसम्बन्धी निवेदनमा मात्र सुनुवाइ हुँदै आएको थियो । सोमबारदेखि सबै प्रकारका मुद्दाको पेसी तोकेर नियमित सुनुवाइ हुने सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
नियमित सुनुवाइ गर्ने भनिए पनि सर्वाेच्चको एनेक्स भवनमा पाँचवटा मात्र इजलास छन् । कर्मचारी बस्न ठाउँसमेत अभाव छ । केही महिना थोरै मात्र मुद्दा हुने भएकाले पाँचवटा इजलासबाटै काम गर्न सकिने सर्वाेच्चको निष्कर्ष छ । धेरै मुद्दाको मिसिल जलेकाले पुनप्र्राप्ति गर्न समय लाग्ने भएकाले सुनुवाइ हुने मुद्दाको संख्या पनि कम हुने सर्वाेच्चका अधिकारी बताउँछन् ।
सर्वाेच्चमा रहेका २४ हजार दुई सय मुद्दामध्ये करिब २० हजार मुद्दाका मिसिल जलेका छन् । ती मिसिल पुनप्र्राप्ति गर्न समय लाग्ने भएकाले अन्य चार हजार मुद्दा तथा नयाँ मुद्दामा सर्वाेच्चले सुनुवाइ अघि बढाउनेछ । सर्वाेच्चले २४ भदौदेखि २० कात्तिकसम्मको अवधिलाई हदम्याद, म्याद र तारेखको अवधिका रूपमा गणना नगरिने र १ मंसिर (सोमबार)देखि ३० दिनसम्म तारेख थामिने भन्दै सूचना जारी गरिसकेको छ । आन्दोलनमा जलेका मुद्दाको मिसिल पुनप्र्राप्तिका लागि कार्यविधि बनाई प्रमाणीकरण गराउने प्रक्रिया पनि अघि बढाइसकेको छ ।