नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालीन अवस्थामा पुर्याएको आरोप लगाएका छन्। आइतबार बिहान आफ्नै निवास गुन्डुमा प्रेस चौतारी नेपालको टोलीसँगको छलफलका क्रममा ओलीले यस्तो बताएका हुन्।
‘पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन। अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ, तर अहिले व्यवहारमा छैन,’ उनले भने, ‘सेल्फ सेन्सरसिप लागू भएको छ। पत्रकारले आफूले देखेको, अनुसन्धान गरेका विषयहरू सहजै लेखेमा उनीहरूमा सरकारबाट खतरा छ। त्यसैले सेल्फ सेन्सरसिपको मार पत्रकारले खेपिरहेका छन्।’
सरकार संविधान, संसद्, दल र जेन–जीबाट नबनेको बताउँदै ओलीले सरकार कसले बनाएको भन्ने नै स्पष्ट नभएको जिकिर गरे। ‘यो सरकार कसको प्रतिनिधि हो ? जेन–जीले मेरो सरकार होइन भन्छ। दलले हाम्रो सरकार होइन भन्छन्। संसद्ले यसलाई म चिन्दिनँ भन्छ। संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ,’ ओलीले भने, ‘आखिर यो सरकार कसको हो ?’
जेन–जीका नाममा सरकारले आफैँ ज्ञापनपत्र ड्राफ्ट गरेर बुझाउन लगाएको आरोप लगाउँदै ओलीले भने, ‘विभिन्न नामका समूह खडा गरेर कहिले २४ गतेका विध्वंसकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापनपत्र बुझाउन लगाएको छ। कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्याे भन्न लगाएको छ,’ ओलीले भने, ‘यो कुनै जेन–जी समूहले गरेको होइन। सरकारले आफैँ यस्ता समूहहरू खडा गरेर, आफैँ ज्ञापनपत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो।’
यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरूसँग भएको उनले दाबी थियो। अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद् पुनर्स्थापना एक मात्र विकल्प भएको जिकिर गरे।