एनडिएको जितमा महिलाको आमसमर्थन मुख्य कारक

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण
  • बिहारमा नीतीश कुमारप्रति महिलाको आमसमर्थन केवल एकपटकको नगद स्थानान्तरणले मात्र सिर्जना गरेको होइन

भाजपा र नीतीश कुमार नेतृत्वको जनता दल (युनाइटेड) वा जेडियूसम्मिलित एनडिएले बिहार विधानसभा चुनावमा अभूतपूर्व सफलतापछि यसका कारणमाथि विश्लेषण सुरु भएको छ । चुनावअघि कांग्रेस र तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) मिलेर बनेको महागठबन्धन र एनडिएबिच बलियो प्रतिस्पर्धा हुने प्रक्षेपण थियो । तर, परिणाम आउँदा एनडिए एकतर्फी रूपमा हाबी देखियो । एनडिएको जितका लागि पहिलो जस महिलाको अभूतपूर्व समर्थनलाई दिइएको छ । यसपटक महिलाको मत तिनको जातिअनुरूप नबाँडिई उलेख्य रूपमा भाजपामा गएको बताइँदै छ । 

बिहारको चुनावमा पहिलोपटक महिला मतदाताको संख्या पुरुषको भन्दा बढी रह्यो । यसपटक ६२.८ प्रतिशत पुरुषले मतदान गर्दा ७१.६ प्रतिशत महिलाले मतदान गरे । बिहारमा महिलाहरू पहिल्यैदेखि राज्यका मुख्यमन्त्री तथा जेडियूप्रमुख नीतीश कुमारको प्रमुख समर्थन–आधारका रूपमा चिनिन्छन् । देशव्यापी रूपमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले एक दशकको अवधिमा महिलाको स्थिर समर्थन प्राप्त गरेको देखिन्छ । यस्तोमा दुई नेताका दलको गठबन्धनले शक्तिशाली अभियान र महिलालक्षित कल्याणकारी कदममार्फत महिलालाई मतदान केन्द्रमा ल्याउन र आफ्नो पक्षमा समर्थन जित्नमा प्रमुख भूमिका खेलेको देखिन्छ ।

चुनावअघि नीतीश कुमारको सरकारले राज्यमा आफ्नै व्यवसाय सुरु गर्न चाहने हरेक महिलालाई १० हजार भारु सहयोग गर्ने घोषणा गर्यो । ‘एक करोड २१ लाखभन्दा बढी महिलालाई व्यवसाय सुरु गर्न १० हजार प्रदान गरिसकिएको छ । बाँकी महिलाका हकमा समेत रकम प्रदान गर्ने मिति तोकिइसकेको छ । जसले आफ्नो व्यवसाय राम्रोसँग चलाउन सक्षम हुनेछन्, उनीहरूलाई भविष्यमा थप दुई लाख दिइनेछ,’ नीतीशले भनेका थिए ।

उसो त प्रतिद्वन्द्वी महागठबन्धनले पनि एनडिएको यस कदमको जवाफमा उस्तै कल्याणकारी कार्यक्रम अघि सार्ने प्रयास गर्यो । तर, सत्ताबाहिर रहेको महागठबन्धनको कार्यक्रम वाचा मात्र थियो भने एनडिए सरकारले सत्तामा रहेको फाइदा उठाउँदै आफ्नो वाचालाई व्यवहारमै लागू गर्यो । बिहार सरकारले महिलाको बैंक खातामै दश हजार रकम स्थानान्तरण गरेको थियो । वरिष्ठ कंग्रेस नेता अशोक गहलोतले पनि यही भिन्नता एनडिएको जित र महागठबन्धनको हारको एक प्रमुख कारक भएको औँल्याएका छन् । उनले निर्वाचन आयोगले आचारसंहिताले नमिल्ने यस नगद स्थानान्तरणलाई अनुमति दिएकोप्रति आक्रोश व्यक्त गरे ।

बिहारमा नीतीश कुमारप्रति महिलाको आमसमर्थन केवल एकपटकको नगद स्थानान्तरणले मात्र सिर्जना गरेको होइन । बिहारमा डेढ दशक लामो आरजेडीको शासनपछि नीतीशले सत्ता आरोहरण गरेका थिए । आरजेडी नेता लालु यादव र पछि उनकी श्रीमती रावडी यादव मुख्यमन्त्री हुँदा राज्यमा धेरै कुशासन देखिएको थियो । त्यसयता नीतीशको २० वर्षे शासनकालमा धेरै सुधारका काम भएका छन् । विशेषत: महिला सशक्तीकरणलाई लक्षित धेरै कदम उठाइएका छन् । 

अहिले १० हजारको आर्थिक सहायता प्राप्त गर्ने कैयौँ महिलाले हिजोका दिनमा नीतीश कुमारको कार्यकालअन्तर्गत साइकल प्राप्त गरेका थिए । साइकल वितरणपछि विद्यालय टाढा भएकाले पढाइमा असर परिरहेका धेरै बालिका र किशोरीले पढ्न सकेका थिए । त्यस कार्यक्रम लागू भएपछि विद्यालयमा छात्राको भर्नामै सुधार देखिएको थियो । नीतीश कुमार सत्तामा रहँदा ‘जीविका’ नामक कार्यक्रमजस्ता धेरै महिला–केन्द्रित योजनाको सुरुवात भयो । जेडियू प्रमुखले गाउँ र सहरी क्षेत्रका स्थानीय निकायमा महिलाका लागि ५० प्रतिशत आरक्षणसमेत सुनिश्चित गरेका छन् ।

सन् २०१६ मा सत्तारोहणको एक दशकपछि, नीतीश कुमारले बिहारमा रक्सिको बिक्री–वितरणमाथि प्रतिबन्ध लगाए । यस कदमले राज्यको राजस्व संकलनलाई नकारात्मक असर पारे पनि उनीमाथिको महिला समर्थन–आधार भने झन् सुदृढ बन्न पुग्यो । पतिको मदिरा सेवनका कारण घरेलु हिंसाको सिकार भएका विपन्न महिलाको ठुलो समूहले यस कदमलाई हार्दिक स्वागत गर्यो । जुन, त्यसपछिका वर्षमा नीतीश कुमारको चुनावी प्रदर्शनमा देखिन थालेको छ । रोचक त जनस्वराज पार्टीका प्रमुख प्रशान्त किशोरले भने चुनावी अभियानका क्रममा सत्तामा आए रक्सी बिक्री–वितरणमाथिको प्रतिबन्ध हटाउने वाचा गरेका थिए । त्यस्तै, तेजस्वी यादवले महागठबन्धनको सरकार बनेमा मदिराविरोधी नीतिको समीक्षा गर्नसक्ने बताएका थिए । र, दुवै पराजित भएको कुराले पनि रक्सीमाथिको प्रतिबन्ध अझै लोकप्रिय रहेको देखाउँछ । 

सन् १९९० मार्चदेखि सन् २००५ मार्चबिचको १५ वर्षको अवधिमा एक महिनाको राष्ट्रपति शासन र सातदिने नीतीशको शासनबाहेक बिहारमा आरजेडीको सरकार रह्यो । लालु यादव र रावडी यादव झन्डै आधा आधार मुख्यमन्त्री रहेको यस अवधिमा बिहारको कानुन व्यवस्थामा उलेख्य गिरावट आएको थियो । यसको मुख्य सिकार आखिर समाजमा कमजोर पारिएका महिला भए । ती दिन महिला प्राय: घरमै सीमित थिए । कुशासनले गर्दा छात्रामा स्कुल छाड्ने दरसमेत बढेको थियो । यो प्रवृत्ति नीतीश कुमार सत्तामा आएपछि मात्र उल्टिएको थियो । 

‘आरजेडीको पालामा मुख्यमन्त्रीको कार्यालय नै माफियाको कार्यालय थियो । सरकार चलाउने नै सुरक्षित थिएनन् । खेतमा काम गर्नेहरू, महिला, बालबालिका र स्कुल जाने केटीहरू कोही सुरक्षित थिएनन् । आरजेडीले बलात्कारको मुद्दा दर्ता गर्नै दिँदैनथ्यो । दलित, महादलित, अत्यन्तै पछाडि परेकाका लागि त न्यायका सबै ढोका बन्द थिए,’ मोदीले एक र्यालीमा सम्बोधन गर्ने क्रममा भनेका थिए । 

(एक दशकभन्दा लामो समयदेखि छापा तथा डिजिटल मिडियामा सक्रिय बोस राजनीति र सिनेमाबारे लेख्छन्) 
एनडिटिभीबाट

सुझावित समाचार