कपिलवस्तुको बाणगंगामा प्रथम बाणगंगा साइकल यात्रा सम्पन्न गरिएको छ । राइडर्स क्लबको आयोजनामा शनिबार आयोजित साइकल यात्राको पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री पन्थीले कपिलवस्तुमा साइकल राइडिङमार्फत नगरका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार हुनु उपलब्धीमूलक भएको बताए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले साइकलयात्रीलाई नगरको पहिचान उजागर गर्ने अवसरका रूपमा लिएको उल्लेख गरे । ‘बाणगंगा ऐतिहासिक, धार्मिक र सम्भावनायुक्त नगर हो । साइकलमैत्री जीवनशैली र पर्यटन प्रवद्र्धनसँग जोडिएको यस्तो अभियानलाई नगरपालिका निरन्तर सहयोग ग्रर्ने,’ अर्यालले भने ।
कार्यक्रममा देशभरका २३ जिल्लाबाट ४०० भन्दा बढी साइकलयात्री सहभागी थिए । मुस्ताङ नगरपालिकाका नगरप्रमुख तथा विश्व साइकल यात्री पुष्कर शाहसहितका राष्ट्रियस्तरका राइडरहरूको सहभागिताले कार्यक्रमलाई अझ आकर्षक बनाएको क्लबका अध्यक्ष विष्णुप्रसाद सापकोटाले बताए ।
७० किलोमिटर दूरी, ११ वडाका मुख्य पर्यटकीय स्थलहरूको प्रचार–प्रसार साइकल यात्राले बाणगंगा नगरपालिकाका एघारै वडाभित्र रहेका प्रमुख धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको भ्रमण गर्दै अगाडि बढेको क्लबले जनाएको छ ।
बिहान ७ बजे प्रारम्भ भएको यात्रा साँझ ५ बजे समापन भएको छ । मार्गभरि स्थानीय बासिन्दाले फूलमाला र साँस्कृतिक स्वागत गरी यात्रुहरूलाई उत्साह प्रदान गरेका थिए । ०८० सालमा स्थापना भएको बाणगंगा राइडर्स क्लबले स्थानीय तहमा साइकल संस्कृतिको प्रवद्र्धन, स्वास्थ्य सचेतना, पर्यावरण संरक्षण र पर्यटन विकासलाई मुख्य उद्देश्य बनाई निरन्तर अभियान चलाउँदै आएको छ ।