- कर्णालीले छैटौँ विदेशी खेलाडीका रूपमा भारतका जयकिसन कोल्सावाललाई भित्र्याएको हो
कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि भारतीय खेलाडी जयकिसन कोल्सावाललाई अनुबन्ध गरेको छ । कर्णालीले छैटौँ विदेशी खेलाडीका रूपमा कोल्सावाललाई भित्र्याएको हो । यससँगै कर्णालीको विदेशी कोटा पूूरा भएको छ । यसअघि नै कर्णालीले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको थियो । अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड, भारतका प्रियांक किरित र अफगानिस्तानका नाजिवुल्लाह जाद्रानले पहिलोपटक कर्णालीबाट खेल्दै छन् ।
३६ वर्षीय भारतीय आक्रामक ब्याट्सम्यान कोल्सावालले दोस्रोपटक कर्णालीबाट एनपिएल खेल्न लागेका हुन् । विकेटकिपरसमेत रहेका कोल्सावालले पहिलो संस्करणमा दुई खेल खेल्दा चितवनविरुद्ध अर्धशतक बनाएका थिए । उनी नेपाली क्रिकेटमा परिचित खेलाडीसमेत हुन् । यसअघि धनगढी प्रिमियर लिग पनि खेलेका थिए ।
पहिलो संस्करणमा तेस्रो स्थान रक्षा गरेको कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णालले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा पनि पोखरासहित साबिक विजेता जनकपुर बोल्ट्स, साबिक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् ।
निसमले पोखराबाट खेल्ने
न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले पोखरा एभेन्जर्सबाट दोस्रो सिजन खेल्ने भएका छन् । पोखराले शुक्रबार सामाजिक सञ्जालमार्फत निसमलाई अनुबन्ध गरेको जानकारी दिएको छ । उनी पोखरा भित्रिने चौथो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इंग्लिस विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेटसँगै बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई सम्झौता गरेको थियो ।
निसमले पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले नौ खेलमा एक अर्धशतकसहित दुई सय ४७ रन बनाउनुका साथै सात विकेट लिएका थिए । निसमले ९३ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १० रन बनाएका छन् । यसैगरी उनको नाममा ५६ अन्तर्राष्ट्रिय विकेट पनि छ । उनीसँग भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेशलगायतका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश खरेललाई टोलीमै राख्ने निर्णय गरेको छ । गत संस्करण सातौँ स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई अनुबन्ध गरेको थियो ।
पहिलो दिनको टिकट ‘सोल्ड आउट’
दोस्रो सिजनको एनपिएलको पहिलो खेलका सबै टिकट बिक्री भएका छन् । यसपटक टिकट बिक्री करिब २४ घण्टामा ‘सोल्ड आउट’ भएको छ । साधारण टिकटको पाँच सयदेखि एक हजारसम्म थियो । क्यानले प्रिमियम टिकटको एक हजारदेखि दुई हजारसम्म राखेको छ । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकाले १ मंसिरमा हुने उद्घाटन खेलका सबै टिकट सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
क्यानले सिट संख्या निश्चित गरेकाले टिकट बिक्रीमा पनि सहजता आएको मानिन्छ । क्यानले खल्तीलाई आठ हजार टिकट बेच्न दिएको छ । दुई हजारजति टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएका छन् । क्यानले प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको एक हजार रुपैयाँ राखेको छ । प्रिमियम टिकटको मूल्य उद्घाटन र शनिबार हुने खेलका लागि १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य एक हजार रहेको छ । प्ले अफ तथा फाइनलका लागि प्रिमियर टिकटको मूल्य दुई हजार रहेको छ ।