- एनपिएलले अन्तर्राष्ट्रिय जगत्मा चर्चा मात्र पाइरहेको छैन, नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीसँग मैदानमा अनुभव साटासाट गर्ने अवसर पनि पाइरहेका छन्
यति वेला नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै नजरमा छ । १–२७ मंसिरसम्म त्रिवि क्रिकेट मैदानमा आठ फ्रेन्चाइज टोलीबिचको प्रतिस्पर्धाले एक महिना क्रिकेटमयी बन्ने निश्चित छ । विश्व क्रिकेटमा फरक पहिचान बनाएका विदेशी क्रिकेटरको आगमन, अन्तर्राष्ट्रियस्तरमा बनेको मैदानसँगै ठुला घरानाको लगानीले पुन: एकपटक एनपिएलले चर्चा पाएको हो ।
पहिलो संस्करणमै विश्वकै ठुलो फ्रेन्चाइज टी–२० लिग ट्याग प्राप्त गरेको एनपिएलको दोस्रो संस्करणमा मुख्यत: दर्शकले फरकपन पाउनेछन् । त्रिवि क्रिकेट रंगशालाको मुहार फेरिसकेको छ । यहाँ १३ हजार क्रिकेटप्रेमीले फ्लड लाइटमा खेलको मजा लिनेछन् । उनीहरू अब चिसो मैदानमा बस्नुपर्ने अवस्था छैन । सरकारकै लगानीमा दर्शकले सिटमै बसेर क्रिकेट हेर्ने अवसर प्राप्त गर्ने छन् ।
दर्शकले सात प्रदेशबाट आठ टोलीलाई समर्थन गर्नेछन् । आठमध्ये एक टोली च्याम्पियन बन्नेछ । जनकपुर बोल्ट्स उपाधि रक्षा गर्ने अभियानमा रहँदा उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र लुम्बिनी लायन्स पहिलोपटक विजेता बन्ने दौडमा छन् । समर्थकले आआप्mना टोलीलाई उपाधि यात्रासम्म पुर्याउन पूरै जोसका साथ समर्थन गर्नेछन् ।
‘हामीले गत वर्षको तुलनामा यसपटक थप भव्य बनाउने प्रयास गरेका छौँ,’ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘यसपटक अन्तर्राष्ट्रियस्तरमै फ्लड लाइटमा खेल हुँदा दर्शक पनि रोमाञ्चित बन्ने विश्वास छ ।’
धर्मराएको नेपाली क्रिकेटलाई एनपिएलले एउटा सिँढीमा उकाल्ने विश्वास गरिएको छ । एनपिएलले अन्तर्राष्ट्रिय जगत्मा चर्चा मात्र पाइरहेको छैन, स्थानीय खेलाडीले अवसरसमेत पाएका छन् । नेपाली राष्ट्रिय टोलीका खेलाडीबाहेक स्थानीय खेलाडीले समेत आफूलाई प्रस्तुत गर्ने मौका पाउनेछन् ।
दुई अर्बमाथिको ब्रान्ड भ्यालु
क्यानले गत वर्ष एनपिएलको घोषणा गर्दा यसले सोचेजस्तो सफलता प्राप्त गर्लान् कि नगर्लान् भन्ने चिन्ता थियो । विशेष ठुला घरानाका कर्पोरेट हाउसले खेल क्षेत्रमा त्यति लगानी गर्न चासो देखाइरहेका थिएनन् । फेरि मुलुकको आर्थिक अवस्था पनि धर्मराइरहेको थियो । यस्तो परस्थितिमा एनपिएल फरक देखियो । नपत्याउँदो रूपमा पहिलो संस्करणमा एनपिएलले आफ्नो ब्रान्ड भ्यालु एक सय करोडमाथि पुर्यायो । यसले खेल क्षेत्रमा एउटा सन्देश दियो पनि ‘यदि उत्कृष्ट व्यवस्थापनमा खेल आयोजना हुँदा ठुला लगानीकर्तालाई पुन: एकपटक भित्र्याउन सकिन्छ ।’ क्यानका सचिव तथा एनपिएलका संयोजक पारस खड्काका अनुसार दोस्रो सिजनमा यसको ब्य्रान्ड भ्यालु दुई सय करोडमाथि (दुई अर्ब) नेपाली रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । खड्काले भनेझैँ यसपटक नयाँ कर्पाेरेट हाउस पनि भित्रिएका छन् । पहिलो संस्करणको सफलताले दोस्रोमा नयाँ कर्पाेरेट हाउस यसमा आबद्ध हुन रुचि देखाएका हुन् ।
क्यानले एनपिएललाई स्थायित्व प्रदान गर्न सहभागी आठवटै फ्रेन्चाइजसँग चार वर्षको सम्झौता गरेको छ । आगामी दुई संस्करणसम्म उनीहरूले एनपिएलमै आबद्ध हुनुपर्नेछ । त्यसपछि चाहेको खण्डमा टोली बिक्री गर्न सक्छन् । यसको मुख्य उद्देश्य भनेको व्यवसायीलाई चार वर्षसम्म एनपिएलमा आबद्ध गर्नु हो । एउटै फ्रेन्चाइज टिम खरिद गर्न एक करोडदेखि तीन करोड ५७ लाख रुपैयाँसम्म लगानी आवश्यक हुन्छ ।
२७ दिन हुने प्रतियोगितामा नेपाली खेलाडीले पाँच लाखदेखि २० लाखसम्म पाउँदै छन् । मार्की आठ खेलाडीले २० लाख पाउँछन् । अन्य खेलाडी भने अक्सनमा विभिन्न दरमा बिक्री भएका छन् । समग्रमा एनपिएलभरि एक फ्रेन्चाइज टोलीको खर्च आठदेखि १५ करोडसम्म हुनेछ ।
विदेशी खेलाडीको आगमनबाट पर्यटन प्रवर्द्धन
एनपिएलको प्रमुख पक्ष भनेको विदेशी खेलाडीको आगमन हो । उनीहरू नेपाल आउँदा थोरै भए पनि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । विश्वमा लाखौँ फलोअर्स बनाएका वेस्ट इन्डिजका पूर्वदिग्गज बायाँहाते खेलाडी ब्रायन लारा, भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्तिलजस्ता चर्चित विदेशी खेलाडी सगरमाथा आधार शिविरसम्म पुगेका थिए । उनीहरूले नेपालका थप विभिन्न स्थानको भ्रमण पनि गरे । अझ एनपिएलको पूरै लाइभ विश्वकै प्रसिद्ध स्टार स्पोट्र्सले गरेको थियो । यसबाट अप्रत्यक्ष रूपमा एनपिएलको मात्र विश्वप्रसिद्ध भएन, टेलिभिजनमार्फत असंख्य भ्युअर्सले नेपाल चिन्ने अवसर पाए ।
नयाँ मैदानमा दर्शकलाई सुविधा
रंगशालामा अहिले दश हजार सिट क्षमताको नयाँ प्यारापिट निर्माण सकिएको छ । ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का बनेको प्यारापिट मैदानको पूर्वी र पश्चिम गरी दुई खण्डमा छ । पूर्वी खण्डमा दुई हजार दुई सय ९० कुर्सी र पश्चिम खण्डमा सात हजार सात सय १० कुर्सी जडान गरिएका छन् । भिआइपीतर्फ थप तीन हजार दर्शक अट्ने गरी अस्थायी प्यारापिट बनाइएको छ । जसका कारण यसपटक १३ हजार दर्शकले एकैपटक बसेर खेल हेर्न सक्नेछन् । यसपटक खेलको टिकट अनलाइनमार्फत काट्न पर्ने र सिटअनुसार दर्शक बस्नुपर्नेछ । त्यस्तै, क्यानले मैदानपरिसरमै दर्शकका लागि कफी सप र खाजाको पनि व्यवस्था छ ।
भरिँदै फाइभ स्टार होटेल
सहभागी सबै टिमले आफ्ना खेलाडीलाई पाँचतारे होटेलमा राखेका छन् । विश्वचर्चित क्रिकेटर नेपाल आउने र नेपाली खेलाडीलाई धेरैभन्दा धेरै सुविधा दिने योजनासहित क्यानले सहभागी आफ्ना खेलाडीलाई फाइभ स्टार होटेल राख्नुपर्ने प्रावधान बनाएको छ । यसअनुसार कर्णाली याक्स दरबारमार्गको याक एन्ड यती, काठमाडौंले ग्वार्काेको तुलिप, जनकपुर रुलाजिम्पाटको दूषित प्रिन्सेस र सुदूरपश्चिम नक्सालको मेरिओटमा बसेका छन् । सानेपाको भिभान्तामा लुम्बिनी, हायट सोल्टीमा विराटनगर र होटेल सोल्टीमा पोखरा बस्दै छन् । चितवन भने अझै भारतमा प्रशिक्षण गरिरहेको छ ।
जोडिँदै कलाकार र खेलाडी
एनपिएलको चर्चासँगै नेपालका चर्चित कलाकार पनि क्रिकेट टिमसँग जोडिइरहेका छन् । यो भनेको कला क्षेत्रका व्यक्तित्वलाई पनि क्रिकेटसँग सम्बन्ध गाढा बनाउने प्रयास हो । युवा कलाकार तथा चर्चित कमेडियन सुमन कार्कीलाई लुम्बिनीले आफ्नो टिममा जोडेको छ । कमेडियन सन्दीप क्षेत्री पोखरासँग पहिलो संस्करणबाटै छन् । साविक विजेता जनकपुरले महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई फेस तथा कलाकार निखिल उप्रेतीलाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।
सुदूरपश्चिमले तेक्वान्दोका दीपक विष्ट तथा काठमाडौंले कराँतेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी पुनम चन्द, फुटबलका विकेश कुथू र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठलाई फेस बनाएको छ । कर्णालीले भने स्वस्तिमा खड्कालाई निरन्तरता दिने कि नयाँ छनोट गर्ने घोषणा गरेको छैन ।
सिंगो नेपाललाई जोड्ने ट्रफीयात्रा
क्यानले देशभर एनपिएलको माहोल बनाउन ट्रफीयात्रा कार्यक्रम ल्यायो । यो नौलो प्रयासमा भने क्यान सफल भयो । क्यानले पूर्वको कोसीबाट सुरु गरेर पश्चिमको महाकालीसम्म ट्रफीयात्रा गर्यो । जेन–जी आन्दोलनपछि कोसीमा केही समय यात्रा रोकियो । त्यसपछि क्यानले ट्रफीलाई देशदौडमा सहभागी गरायो । जसबाट गाउँ–गाउँ तथा टोल–टोलका क्रिकेटप्रेमीले ट्रफीलाई नजिकबाट नियाल्न पाए । धेरैभन्दा धेरै स्कुलका विद्यार्र्थी ट्रफीयात्रामा सहभागी भए । यस्तै, स्थानीय प्रतिनिधिले पनि यो कामलाई स्व्ीाकार गर्दै यात्रामा सहभागी भएका थिए । धेरैले क्यानको यो कार्य सराहनीय भएको बताए । कतिले भने समय अभाव भएको र अर्कोपटक समय बढाउन पनि क्यानलाई सुुझाव दिएका छन् ।
ठुला घराना भित्रिँदै
एनपिएलकै कारण क्रिकेटमा ठुल्ठुला कर्पाेरेट हाउसको आगमन भएको छ । यसअघि फुटबलमा देखिने ठुला हाउस एनपिएलमा जोडिन लागिपरेका छन् । प्रतियोगितालाई सिद्धार्थ बैंकले नै मुख्य स्पोन्सर गरेको छ । सिद्धार्थ बैंकले वार्षिक २० करोड रुपैयाँका दरले पाँच वर्षका लागि सम्झौता गरेको बताइएको छ । यस्तै, एनसेल, पल्सर, रेडबुल, एसियन पेन्ट्स, नेबिको, वल्र्डलिंक, ओमोडा, प्लम्बर, डाबर नेपाललगायत प्रसिद्ध कर्पाेरेट हाउस एनपिएलसँग जोडिएका छन् । टिकटको अफिसियल पार्टनर खल्ती रहेको छ । कति टिमको मुख्य स्पोन्सर भने अझै टुंगो लागेको छैन ।
खेलाडीलाई दुईदेखि २० लाखसम्म
एनपिएलका लागि नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म पाएका छन् । सुरुमा आठ मार्की खेलाडीले २० लाख पाएका छन् । ‘ए’ श्रेणीका खेलाडीले १० देखि १५ लाखसम्म पाएका छन् । ‘बी’ श्रेणीले पाँचदेखि १० लाखसम्म पाए भने ‘सी’ श्रेणीले दुईदेखि पाँच लाखसम्म पाएका छन् । यसरी, सबै टिमले खेलाडी किन्नमा ६ देखि सात करोड खर्च गरेका छन् ।
आठ टिम किन्न १६ करोड ८८ लाख खर्च
पहिलो संस्करणमै फ्रेन्चाइज टिम खरिद गर्न कर्पोरेट क्षेत्रका हस्ती प्रतिस्पर्धामै उत्रिएका थिए । उनीहरूले एउटै फ्रेन्चाइज टिम खरिद गर्न एकदेखि तीन करोड ५७ लाख रुपैयाँसम्म लगानी गरेका हुन् । यसअघि टिम बेचेरै क्यानले कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ कमाएको थियो । सबैभन्दा धेरै मूल्यमा नेपाल टी–२० क्रिकेट प्रालिले पोखरा एभेन्जर्स तीन करोड ५७ लाखमा खरिद गरेको थियो । यसको टिम मालिक सुवोद त्रिपाठी हुन् । काठमाडौं गोर्खाजलाई कान्तिपुर पब्लिकेसन्सले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा किनेको हो । यो टिमका मालिक कैलाश सिरोहिया र उपेन्द्र महतो छन् ।
जनकपुर बोल्ट्सका लागि ड्रिम स्पोर्टस् प्रालिले दुई करोड पाँच लाख खर्चिएको थियो । लुम्बिनी लायन्सलाई फरच्युना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख चार रुपैयाँ लगानी गर्यो । यो टिमका मालिक फरच्युना हेल्थ केयरका सञ्चालक ईश्वर जिसी हुन् । चितवन राइनोजका लागि चितवन मेडिकल कलेज (सिएमसी)ले एक करोड ७६ लाख एक हजार खर्चिएको छ । सुदूरपश्चिम रोयल्सलाई इम्पाइर स्पोर्टस् म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ मा किनेको हो । यसका मालिक हुन् स्वतन्त्रप्रताप शाह । विराटनगर किंग्सलाई एमएडी ड्रिम्स स्पोर्टस् प्रालिले एक करोड ५१ लाखमा खरिद गर्यो । कर्णाली याक्स स्पोर्टस् प्रालीले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजारमा किनेको छ । यसका मालिकमा झनकदत्त खनाल र सहमालिक गृहेन्द्र घिमिरे छन् ।
एनपिएल अन्तर्राष्ट्रिय ब्रान्ड बनिसक्यो : पारस खड्का, सचिव, क्यान
हामीले दोस्रो संस्करणमा केही योजना बनाएका छैनौँ । हाम्रो ध्यान तयारीमा थियो । टिभी, ग्राफिक्स र कमेन्टेटरसम्मको पक्ष मिलाउनुपर्छ । विश्व क्रिकेटमा नाम चलेका खेलाडी आएका छन् । विदेशी खेलाडीसँगै दर्शकलाई पनि व्यवस्थापन गर्नुपर्छ । यो संस्करणको सबैभन्दा ठुलो उपलब्धि भनेको फ्लड लाइटमुनि खेल्ने हो । यो धेरै च्यालेन्ज छ । सरकारको कम स्रोतमा हामीले भौतिक पूर्वाधारसँगै अन्य पक्ष मिलायौँ । अब एनपिएल आउन दुई दिन मात्र बाँकी छ । मैदानमा जान सक्ने त्यहाँ जानुस् । जान नसक्ने दर्शकलाई घरमा बसेर हेर्न अनुरोध गर्छौं । अहिले स्तरीय विदेशी खेलाडी आएका छन् । देशको अवस्था भन्न नसकिने अवस्थामा छ । तर, क्रिकेटको माध्यमबाट हामीले एउटा राम्रो म्यासेज दिएका छौँ । हामी पूरै लयमा फर्किसकेका छौँ । केही समयपछि विश्वकप छनोट पनि आयोजना गर्दै छौँ । विश्वकप छनोटअघि एनपिएल महत्वपूर्ण छ । मेरो विचारमा राज्यले माथिल्लो लेभलमा सोचेर हेर्नुपर्छ । राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको छ । अझ एनपिएल घरेलु क्रिकेट मात्र नभएर अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । यो प्रतियोगितालाई साथ सहयोग चाहिन्छ । अहिलेका लागि के नयाँ भन्ने प्रश्न हो । हाम्रो ध्यान नै यसलाई कसरी निरन्तरता दिने भन्ने हो । आइसिसीको केही नियमका कारण टेस्ट राष्ट्र खेल्ने खेलाडी धेरै आउन पाएनन् । सम्भवत यो नियम अन्तिम वर्ष हो । अर्को वर्षैदेखि हट्नेछ । धेरै च्यालेन्ज छ । ओपन माइन्ड भएर यसलाई समर्थन गर्नुपर्छ । युवा खेलाडीलाई राम्रो प्लाटफर्म हो । उदाहरणका लागि विपिन शर्मा । एनपिएलले स्थानीय खेलाडीले पनि आर्थिक रूपमा फाइदा लिनेछन् । विश्व र नेपालकै राम्रा खेलाडीसँग बसेर एक महिनासम्म डे«ेसिङ र मैदानमा सिक्ने अवसर उनीहरूले पाउनेछन् । उनीहरूका लागि यो ठुलो उपलब्धि हो ।
४० भन्दा धेरै विदेशी खेलाडी
विश्वकपदेखि विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिसकेका विदेशी खेलाडीको आगमन नेपालमा यसपटक बढेको छ । आइसिसीले टेस्ट खेलिरहेका जम्मा चार खेलाडी मात्रै एनपिएल टिमले अनुबन्ध गर्न पाउने नियम लगाएको छ । त्यो नियमपछि सहभागी मालिकले टेस्ट खेलिरहेका खेलाडी चाहेर पनि किन्न सकेका छैनन् । यद्यपि, विश्वकप जितिसकेका खेलाडी एनपिएलमा जोडिएका छन् । प्रतियोगिता सुरु हुन दुई दिन बाँकी रहँदा ४० जनाभन्दा धेरै खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् । सबैभन्दा धेरै अमेरिका, अस्ट्रेलिया र इंग्ल्यान्डबाट समान पाँच खेलाडी अनुबन्ध भएका छन् । त्यसबाहेक स्कटल्यान्ड र दक्षिण अफ्रिकाबाट समान तीन छन् । न्युजिल्यान्डबाट समान दुई खेलाडी अनुबन्ध भए । नेदरल्यान्ड्स, पाकिस्तान, भारत र युगान्डाबाट समान एक खेलाडी एनपिएलमा जोडिएका छन् । काठमाडौं र विराटनगरले नियमअनुसार सर्वाधिक ६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् ।
शिखर धवनकै हाराहारीका दक्षिण अफ्रिकी पूर्वकप्तान फाफ डु प्लेसिस दोस्रो संस्करणमा विराटनगरमा आबद्ध भएका छन् । डु प्लेसिसले विश्वकै महँगो फ्रेन्चाइज लिग भनेर चिनिने इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई किंग्सबाट उपाधि जितेका छन् । दक्षिण अफ्रिकाकै मरकान्ट डी लांगे पनि विराटनगरमा छन् । दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिर र वायन पार्नेललाई जनकपुरले अनुबन्ध गरेको छ । अस्ट्रेलियाको बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका क्रिस लिन, डार्सी सर्ट, जोस ब्राउन, साम हिजलेट र विलियम बासिस्टोजस्ता खेलाडी प्रतियोगितामा देखिनेछन् । इंग्ल्यान्डबाट विश्वकप जितिसकेको डाविड मलानदेखि रवि बोपारासमेत एनपिएल खेल्दै छन् । पाकिस्तानका भेट्रान सोहेल तन्भिर र अफगानिस्तानका पूर्वकप्तान गुल्वादिन नैवसँगै न्युजिल्यान्डका अनुभवी क्रिकेटर मार्टिन गुप्तिल पनि विराटनगरको जर्सीमा दोस्रोपटक देखिँदै छन् । एकदिवसीय विश्वकपमा मार्टिनले सन् २०१५ को संस्करणमा सर्वाधिक व्यक्तिगत दुई सय ६७ रन बनाएका थिए ।