रोनाल्डोले राष्ट्रिय टोलीमा राखे खराब रेकर्ड

रोनाल्डोले विश्वकप खेल गुमाउन सक्ने

शनिबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण
  • अन्तर्राष्ट्रिय फुटबल करिअरमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पहिलोपटक रातो कार्ड पाएका छन् । युरोपियन विश्वकप छनोटमा आयरल्यान्डविरुद्धको उनको २२६औँ खेल थियो । 

क्रिस्टियानो रोनाल्डोले पहिलोपटक पोर्चुगलको राष्ट्रिय जर्सीबाट खेल्दै रातो कार्ड पाएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत युरोपियन छनोटमा बिहीबार राति पोर्चुगल आयरल्यान्डसँग २–० ले पराजित भएको खेलमा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक रातो कार्ड पाएका हुन् । खेलको ६०औँ मिनेटमा रोनाल्डोले आयरल्यान्डका डिफेन्डर ओसेलाई कुहिनोले प्रहार गरेपछि उनलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो । 

तर, भिडियो सहायक रेफ्री (भार)ले रेफ्री ग्लेन न्याबर्गलाई घटनाको समीक्षा गर्न सल्लाह दिए । त्यसपछि रेफ्री ग्लेनले रोनाल्डोको पहेँलो कार्ड रातो कार्डमा परिणत गरे । पाँचपटकका बालोन डिअर विजेता रोनाल्डोका लागि बिहीबारको रात निराशाजनक रह्यो । पोर्चुगलका लागि २२६औँ खेल खेल्दै गर्दा उनले राष्ट्रिय जर्सीमा पहिलोपटक रातो कार्ड व्यहोरे । 

जितले पोर्चुगल एक खेल बाँकी रहँदै अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गर्न सक्थ्यो । तर, ट्रोई प्यारटको दुई गोलमा आयरल्यान्डले पोर्चुगललाई रोक्यो । पोर्चुगलमाथिको जितले आयरल्यान्डको पनि छनोट आशा बलियो बनेको छ । पोर्चुगल समूह ‘एफ’मा शीर्ष स्थानमा छ । पोर्चुगलले छनोट चरणमा अन्तिम खेल खेल्नुअघि १० अंक बनाएको छ । दोस्रो स्थानको हंगेरीले आठ अंक बनाएको छ । शीर्ष टोली मात्र सीधा छनोट हुनेछ । अब आइतबार आर्मेनियालाई हराउँदा पोर्चुगल सातौँपटक विश्वकपमा पुग्नेछ । आयरल्यान्डले आइतबार बुडापेस्टमा हंगेरीलाई हराए प्लेअफमा स्थान सुरक्षित गर्नेछ । 

रोनाल्डोले विश्वकप खेल गुमाउन सक्ने 
पोर्चुगल विश्वकपमा छनोट हुँदा समूह चरणका कम्तीमा दुई खेल रोनाल्डोले गुमाउनेछन् । सीधै रातो कार्ड पाएका उनले तीन खेलमा प्रतिबन्ध भइसकेका छन् । आइतबार अर्मेनियासँगको खेलमा रोनाल्डो टोलीसँग हुनेछैनन् । फिफाको अनुशासन कमिटीअन्तर्गत आर्टिक १४ मा यस्तो भनिएको छ, ‘खेलाडी वा अफिसियलले मैदानमा अभद्र व्यवहार गरे खण्ड प्रतिबन्धमा पर्न सक्छन् । उनीहरूले कम्तीमा तीन खेलका लागि प्रतिबन्ध भोग्नुपर्छ । यसमा पनि म्याच अफिसियलको रिपोर्टमा निर्भर हुन्छ ।’ आर्टिक १४ मा कुनै पनि खेलाडीले जानाजान कुहिनोले प्रहार गर्दा, हातले पन्च गर्दा, खुट्टाले सीधै शरीरमा प्रहार गर्दा वा विपक्षी टोलीका अफिसियललाई नराम्रो शब्द बोल्दा ती खेलाडी प्रतिबन्धमा पर्न सक्ने उल्लेख छ । यो बुँदाअनुसार नै रोनाल्डोले तीन अन्तर्राष्ट्रिय खेल गुमाउने पक्का भएको हो । जसका कारण रोनाल्डोले विश्वकपमा सुरुवाती दुई खेल गुमाउनेछन् । तर, यसका लागि पोर्चुगल विश्वकपमा पुग्नुपर्छ । आयरल्यान्डसँगको खेलपछि रोनाल्डोले आयरल्यान्डका समर्थकलाई जिस्क्याउनबाट रोक्न आफू ‘असल केटा’ बन्ने प्रयास गर्ने बताएका थिए । 

See More On

सुझावित समाचार