- कोलकाता–विशाखापट्टनमबाट विराटनगर–जोगबनी र भैरहवा–सुनौलीमा सबै किसिमका कार्गो आयात हुने
भारतसँगको पारवहन सन्धिको प्रोटोकलमा गरिएको संशोधन लागू भएको छ । नयाँदिल्लीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा र भारतीय वाणिज्यमन्त्री पियूष गोयलबिच संशोधित सन्धिको प्रोटोकल आदानप्रदान भएसँगै कोलकाता–विशाखापट्टनम रुटबाट आयात–निर्यात गर्न सहज हुने भएको छ ।
प्रोटोकल संशोधनपछि कोलकाता–विशाखापट्टनमबाट विराटनगर–जोगबनी र भैरहवा–सुनौली कार्गो आयातमा सहजता हुने भएको हो । यसअघि सीमित सामग्री आयातमा मात्रै कार्गो सुविधा रहेकोमा प्रोटोकलमा भएको संशोधनपश्चात् व्यवसायीले दुवै बन्दरगाहबाट विराटनगर र भैरहवामा सबै किसिमका सामान आयातमा कार्गो सुविधा उपयोग गर्न पाउने भएका छन् ।
‘दुवै नाकाबाट चारवटा बल्क सामान मात्र ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा पारवहन सन्धिको प्रोटोकलमा भएको उक्त संशोधनबाट सबै किसिमको कार्गो ढुवानी गर्न सकिने र यसबाट नेपालको पारवहन लागत र समयमा कमी आई व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सो क्रममा भारतको गुणस्तर प्रमाण चिह्न ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस)लाई सरलीकरण गर्न र द्विपक्षीय व्यापार र पारवहन व्यवस्थापमा थप सुधार गर्न पनि छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालबाट निर्यात हुने वस्तुमा बिआइएस लिन भारतले केही समयदेखि कडाइ थालेको छ, जसकारण नेपाली वस्तुको निर्यात परिमाण नै खुम्चन पुगेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
भारतीय वाणिज्यमन्त्री गोयलले सामाजिक सञ्जालमार्फत दुवै देशबिच रेल व्यापार सम्पर्क बढाउने गरी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘यसले रेलमा आधारित माल ढुवानीको आवागमनलाई सहज बनाउनेछ र दुवै देशबिच व्यापार सम्पर्कलाई बलियो बनाउनेछ, जसले गर्दा हाम्रो आर्थिक तथा व्यावसायिक सम्बन्ध अझ सुदृढ हुनेछ,’ उनले भनेका छन् ।