कर्णाली याक्स स्पोर्टस् प्रा.लि.ले भारतका प्रियांंक किरित पञ्चाललाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णाली याक्सले चौथो विदेशी खेलाडी अनुबन्ध गरेको हो । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन् । ‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले रणजी ट्रफी खेलिसकेका प्रियांकलाई अनुबन्ध गरेका हौँ,’ निर्देशक घिमिरेले बताए, ‘प्रियांकको आगमनपछि हाम्रो ब्याटिङ झनै बलियो हुने विश्वास छ ।’
यसअघि कर्णाली याक्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिस्टाेसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलोपटक कर्णाली याक्सबाट एनपिएल खेल्दै छन् ।
ओपनिङ ब्याटर प्रियांकले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । १२७ खेलमा आठ हजार ५६६ रन बनाएका छन् । जसमा २९ शतक र ३४ अर्धशतक समावेश छन् । यस्तै, लिस्ट एमा ९७ खेल खेल्दा आठ शतकसहित तीन हजार ६७२ रन बनाएका छन् । टी–२० तर्फ ५९ खेलमा नाै अर्धशतकसहित एक हजार ५२२ रन बनाएका छन् ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौंको होटेल याक एन्ड यती, सहप्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ । ०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।