इन्डोनेसियाको सरकारले देशका पूर्वराष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायकको उपाधि प्रदान गरेको छ । यस सम्मानलाई सुहार्तोको दशकौँ लामो तानाशाही शासनलाई राम्रो देखाउने प्रयासको रूपमा व्याख्या गरिएको छ । त्यस अवधिमा व्यापक भ्रष्टाचार, सेन्सरसिप र आममानवअधिकार उल्लंघनका घटना घटेको आरोप लाग्ने गर्छ ।
लोकतन्त्रवादी अभियन्ता र सुहार्तोको कठोर शासनबाट पीडितले यस कदमप्रति विरोध जनाएका थिए । तर, विरोधका बाबजुद सोमबार बिहान राष्ट्रपति प्रबोवो सुबियान्तोको अध्यक्षतामा आयोजित एक विशेष समारोहमा सुहार्तोलाई राष्ट्रिय सम्मानको उपाधि प्रदान गरिएको थियो । वर्तमान राष्ट्रपति सुबियान्तो नाताले सुहार्तोका ज्वाइँ हुन् । ‘मध्य जाभा प्रान्तका एक प्रमुख व्यक्तित्व, देशको स्वतन्त्रताका लागि भएको संघर्षका सेनानी जनरल सुहार्तो इन्डोनेसिया स्वतन्त्र भएदेखि नै अलग देखिन्थे,’ प्रबोवोले सुहार्तोकी छोरी र छोरालाई पुरस्कार हस्तान्तरण गर्दै गर्दा समारोहका उद्घोषकले भनेका थिए ।
इन्डोनेसियाले सन् १९४५ मा तत्कालीन औपनिवेशिक शक्तिहरू नेदरल्यान्ड्स र जापानबाट स्वतन्त्रता हासिल गर्यो । त्यस संघर्षमा सेनाका सदस्यका रूपमा सुहार्तो पनि लडेका थिए । तीन दशकभन्दा लामो समयसम्म इन्डोनेसियामा शासन गरेका सुहार्तो अन्तत: सन् १९९८ को आर्थिक संकटको समयमा उठेको जनविरोध र घातक दंगाका कारण सत्ताबाट हट्न बाध्य भए । पदच्युत भएको आठ वर्षपछि सन् २००६ मा ८६ वर्षको उमेरमा उनको मृत्यु भयो ।
सुहार्तोकी छोरी सिती हेदियाती हरियादीसँग विवाह गरेका (जुन सम्बन्ध पछि टुट्यो) प्रबोवोले विगतमा आफ्ना पूर्वससुराको खुलेर प्रशंसा गर्ने गर्थे । प्रबोवो कुनै समय देशको विशेष सैन्य बलका कमान्डर थिए । उनका ससुरा पदच्युत भएकै वर्ष प्रजातन्त्रवादी अभियन्ता बेपत्ता पारेको आरोपमा प्रवोबो पनि सेनाबाट बर्खास्त गरिएका थिए । तथापि, प्रबोवोले भने आफूलाई लागेको आरोप अस्वीकार गर्दै आएका छन् । तथापि, गत वर्ष पदभार ग्रहण गरेदेखि नागरिक जीवनमा सेनाको बढ्दो भूमिकाका लागि प्रबोवोको बढ्दो आलोचना हुने गरेको छ ।
तर, सत्तामा आएपछि सुहार्तोले १९६५–६६ मा कम्तीमा पाँच लाख मानिसलाई कम्युनिस्ट भएको आरोपमा मारेका थिए ।
– द गार्जियनबाट