- खेलकुदमन्त्री बब्लु गुप्ताको उपस्थितिमा मंगलबार भएको छलफलमा खेलाडीसमक्ष एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको फागुनभित्रै लिग गराउने प्रतिबद्धता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी फागुनको अन्तिम साता सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको प्रस्ताव राखेको छ । खेलकुदमन्त्री बब्लु गुप्ताको संयोजनमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले खेलाडीहरूसँग प्रस्तावित महिनामै लिग गराउने प्रतिबद्धता गरेका हुन् ।
यसअघि एन्फाले आगामी ९ पुसदेखि ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरेको थियो । ‘हामीले ‘ए’ डिभिजन लिग आउने फागुनको अन्तिम साता गर्ने प्रस्ताव राख्यौँ । यसमा सवै सकारात्मक देखिएका छन,’ एन्फाका अध्यक्ष नेम्वाङले भने, ‘लिग आयोजना गर्न हामीलाई सबै पक्षबाट सहयोग चाहिन्छ ।’ नेम्वाङले लिग आयोजना वेला बजेट अभाव हुन नदिन सरकारले सहयोग गर्नुपर्ने आग्रह गरेका छन् । ‘समयमै लिग गराउन सरकारले लगानी गर्नुपर्छ । एएफसी र फिफाको बजेटले मात्र लिग आयोजना गर्न सकिँदैन त्यसैले सरकारको पनि यसमा लगानी हुनुपर्छ,’ नेम्वाङले भने ।
मन्त्री गुप्ताले भने तत्काल मन्त्रालयबाट बजेट उपलब्ध गराउन नसकिने एन्फाका अध्यक्ष र महासचिवलाई स्पष्ट पारेका छन् । ‘अहिले बजेटका लागि मन्त्रालयबाट केही गर्न सकिँदैन, हामीले केवल समन्वय मात्र गर्ने हो, तर लिग गराउन क्लबहरूलाई कर्पोरेट हाउससँग सहकार्यका लागि मन्त्रालय तयार छ,’ उनले भने । खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फासँग समय र बजेट अभाव भएको हास्यास्पद रहेको छलफलमा बताएका थिए ।
‘अहिले लिग आयोजना गर्न समय अभाव भएको सुने । पुसमा लिग गर्ने घोषणा गर्ने एन्फासँग अहिले कसरी छैन,’ लामाले भने । गत साता एन्फा र लिगमा आबद्ध १४ क्लबका पदाधिकारीले ‘ए’ डिभिजनको सट्टा राष्ट्रिय लिग गर्ने सहमति गरेका थिए । राष्ट्रिय लिगमा अघिल्लो संस्करणका शीर्ष ६ क्लब र जारी एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली गरी १० टोलीबिच प्रतिस्पर्धा गराउने तयारी थियो । ‘ए’ डिभिजन लिग यस वर्ष पनि नहुने निश्चित भएपछि खेलाडी संघ, राष्ट्रिय खेलाडी, पूर्वखेलाडी तथा राष्ट्रियस्तरका प्रशिक्षकहरूले एन्फा र क्लबबिचको सहमतिको चर्को विरोध गरेका थिए । गत बिहीबार खेलाडी संघले सातदोबाटोस्थित एन्फा मुख्यालयको गेटमा विभिन्न पदक झुन्ड्याएर सांकेतिक विरोध जनाउँदै सात दिनभित्र निर्णय लिन चेतावनी दिएको थियो । एन्फाले सोमबार सडक आन्दोलनमा गरिरहेका खेलाडीहरूसँग छलफलको आह्वान गरेको थियो ।
तर, खेलाडीहरूले सबै गतिविधि लाइभ हुँदा मात्र आफू छलफलमा बस्ने अडान राखे । एन्फाले भने छलफलको लाइभ गर्न नसकिने बताएपछि खेलाडीहरूले वार्ता नै बहिष्कार गरेका थिए । त्यसपछि खेलकुदमन्त्री बब्लु गुप्ताले विवाद समाधान गर्न मंगलबार मन्त्रालयमै एन्फा, क्लब र खेलाडीहरूलाई वार्तामा डाकेका हुन् । खेलकुद मन्त्रालयको समन्वयमा भएकोे छलफलबाट एक सय २० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न तयार रहेको एन्फाले जनाएको हो । तर, यो अवधिमा राष्ट्रिय लिग भने गर्न नसक्ने जनाएको छ । छलफलमा मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठले लिगको तयारीका लागि तीन महिना समय मागेका थिए । ‘होम एन्ड अवेमा जाने हो भने हामीलाई दुईदेखि तीन महिना समय दिनुपर्छ,’ उनले छलफलमा भने ।
क्लबहरूसँग आज छलफल
एन्फाले प्रस्ताव गरेको महिनामा ‘ए’ डिभिजन लिग निश्चित गराउन प्रतियोगितामा सहभागी १४ क्लबका पदाधिकारीसँग मन्त्रालयले बुधबार छुट्टै छलफल राखेको छ । मन्त्री गुप्ताले छलफलबाट निस्केको निष्कर्षअनुसार एक सय २० दिनभित्र लिग गराउन क्लबलाई बोलाएको बताए । यदि एन्फाले लिग गर्न नसके बैठकको माइन्युट उठाएर फिफा र एएफसीमा पठाउने गुप्ताले चेतावनी दिएका छन् । एन्फाको प्रस्तावअनुसार यो सिजन राबल राउन्डअनुसार ‘ए’ डिभिजन लिग हुनेछ । मन्त्री गुप्ताले १४ क्लबहरूसँग तत्काल वार्ता गर्न एन्फाका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् ।
