अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडीबिचको वार्ता मंगलबार खेलकुद मन्त्रालयमा बस्ने भएको छ । एन्फाले सडक आन्दोलनमा रहेका खेलाडीसँग वार्ताका लागि सोमबार दिउँसो १ बजे एन्फाको मुख्यालयमा बोलाएको थियो । एन्फाले बैठक प्रत्यक्ष प्रसारण गर्न नमानेपछि नेपाल फुटबल खेलाडी संघले वार्ता बहिस्कारपछि मन्त्रालयमा बस्न लागेको हो ।
गत वैशाखमा धुलिखेलमा भएको एन्फाको साधारणसभाले आगामी पुसमा ‘ए’ डिभिजन लिग गर्ने निर्णय कार्यान्वयनको माग राखी खेलाडी संघले गत बिहीबार सातदोबाटोस्थित एन्फाको मुख्यालयमा धर्ना राखेको थियो । एन्फा भवनभित्र प्रवेश गर्न नपाएपछि उनीहरूले गेटबाहिर नै आफूले जितेका विभिन्न पदक झुन्ड्याएर सांकेतिक विरोध जनाएका थिए ।
चौतर्फी आलोचना र दबाब आएपछि एन्फाले सोमबारका लागि खेलाडीसँग वार्ता आह्वान गरेको थियो । तर, खेलाडीहरूले वार्तामा बस्नुअघि नै एन्फाभित्र हुने सबै गतिविधि लाइभ हुनुपर्ने सुरुमै माग राखेका थिए । एन्फाले भने आन्तरिक बैठक लाइभ गर्न नसकिने भनी उनीहरूको माग सम्बोधन गर्न नसकिने जनायो । त्यसपछि खेलाडीले वार्ता नै बहिष्कार गरेका हुन् । एन्फाले वार्ताको प्रत्यक्ष प्रसारण गर्न नमानेपछि लामासहितको टोलीले आफ्नो सातबुँदे मागपत्र पेस गर्दै वार्ता बहिष्कार गरेको जनाएको छ ।
महासचिवलाई बुझायो पत्र
टोलीले एन्फाका महासचिव किरण राईलाई आफ्नो मागपत्र बुझाएको छ । राईले एन्फाको आन्तरिक विषय प्रत्यक्ष प्रसारण गर्न नमिल्ने बताएका थिए । खेलकुदमन्त्री बब्लु गुप्ताले एन्फा, क्लब र फुटबल खेलाडी संघ, राष्ट्रिय टोलीका कप्तान र पूर्वकप्तानलाई सामूहिक छलफललाई मंगलबार डाकेका छन् । खेलाडी संघका अध्यक्ष विक्रम लामाले दुई पक्षबिचको छलफलका सबैले जानकारी पाउनुपर्ने भन्दै प्रत्यक्ष प्रसारण गर्न माग राखेको बताए ।
‘खेलाडी संघले आन्दोलनप्रति चासो राख्दै बैठक आह्वान गरेकोमा एन्फालाई धन्यवाद छ । हामीले बैठक आमफुटबलप्रेमीका पनि चासोको विषय भएकाले प्रत्यक्ष प्रसारणको माग राखेका छाैँ,’ लामाले भने, ‘हामीलाई ट्रान्सपरेन्सी चाहिएको हो । सबै सरोकारवालालाई वास्तविक समस्या के रहेछ भन्ने देखाउनु थियो । बन्द कोठमा
जे पनि सम्झौता हुन सक्छ ।’