मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले राखेको मागमा सोमबार पनि छलफल भएको छ । दुई दिनदेखि जारी वार्ता निश्कर्षविहीन भएको हो । यद्यपि, मेलम्ची आयोजना र यससँग सम्बन्धित सबै क्षेत्रमा भएका गतिविधि अध्ययन गरेर वास्तविक प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको पूर्वाधार महाशाखा तयार भएको छ । यसमा पनि संघर्ष समितिले सचिवको नेतृत्वमा कार्यदल बन्नुपर्ने भनेको छ भने खानेपानी मन्त्रालय र आयोजनाले सहसचिवस्तरको नेतृत्व हुने भनेपछि निर्णय टुंगिएको छैन ।
स्थानीय संघर्ष समितिले राखेका अन्य ६ वटा मुख्य मागमा कुनै निश्कर्ष निस्कन सकेन् । स्थानीयको तर्फबाट बैठकमा सहभागी सञ्चारकर्मीसमेत रहेका विष्णु खड्काले दिएको जानकारीअनुसार छलफल जारी राख्ने सहमति भएको छ । ‘आयोजना पक्ष र संघर्ष समिति पक्ष एकअर्कामा टसकोमस नभएपछि छलफल निश्कर्षबिहीन भयो,’ उनले भने ।
मुख्य ६ वटा बुँदामा मन्त्रालयमा छलफल भएको खड्काले बताए । उनले भने, ‘खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना र सरोकारवाला सरकारी निकाय हेलम्बुवासीको माग पूरा गर्न गम्भीर रहेको पाइएको छ । तर, कुनै निर्णय नहुनु दुःखद् हो ।’
मेलम्ची, क्युल, अम्बाथाङ, मेलम्चीघ्याङ सडक कालोपत्रे गर्न २५ करोड पहिला विनियोजन भएको थियो । तर, संघर्ष समितिले एक अर्ब रुपैयाँ बनाएर बजेटको स्रोत सुनिश्चित गर्नुपर्ने माग राखेको छ । त्यसैगरी, मेलम्ची खानेपानी आयोजनाले हालसम्म गरेको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, काठमाडौंमा पानी लगेपछि पानी र संकलन भएको रकमको सम्पूर्ण विवरण सार्वजनिक गरि स्थानीय प्रभावित क्षेत्रले पाउने २५ प्रतिशत महसुल सुनिश्चित गरिनुपर्ने, मेलम्ची बाढीले ध्वस्त हेलम्बु र मेलम्चीवासीको नदी किनारको निजी जमिन नापजाँचमा सरकारले सहयोग गर्नुपर्ने माग छलफलमा राखिएको छ ।
यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयलाई नियममा तोकिएअनुसार कोटा दिएर रोजगारी प्रदान गर्नुपर्ने र बिगतमा मन्त्रिपरिषद्बाट निर्णय भएअनुरुप जग्गा भाडावाला र स्थानीय भेन्डर्सको रकम यथाशीघ्र वितरण गर्नुपर्ने माग पनि छलफलमा उठेको छ । यद्यपि, यी कुनै बुँदामा सहमति जुटेको छैन ।
२१ असोज ०८१ मा भएको सहमतिबाट पछि हटेर स्थानीय प्रभावितलाई सरकारले अन्याय गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘काठमाडौं उपत्यकावासीलाई निःशुल्क पानी वितरण गरे हामीलाई एक रुपैयाँ पनि चाहिँदैन,’ उनले भने । २० कार्तिकदेखि मेलम्ची खानेपानीको मुहान खोलातिर फर्काइएको छ । यता, उपत्यकामा भने पिउने पानीको अभाव भएको छ । बैठकको अध्यक्ष गरेका खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले सरोकारवाला सरकारको सबै निकायले स्थानीय संघर्ष समितिसँग उचित छलफल गरेर छिटोभन्दा छिटो सहमति कार्यान्वयन गर्ने बताइन् ।