नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडीले हङकङमा आइतबार सम्पन्न हङकङ सिक्सेज प्रतियोगितामा व्यक्तिगत रेकर्ड राखेका छन् । शरद भेसवाकरको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपालका ओपनर सन्दीप जोरा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने ।
नेपालकै बलर रसिद खान धेरै विकेट लिने सूचीको शीर्ष स्थानमा रहे । प्रतियोगितामा नेपालले भारतमाथि सनसनीपूर्ण ९२ रनको जित ऐतिहासिक मानेको छ । समूह चरण पार गर्न नसकेको नेपाल बाउल लिगमै सीमित भयो । यस चरणमा नेपालले भारतविरुद्ध पहिलोपटक जित हात पारेको हो । हङकङ सिक्सेजको इतिहासमा धेरै रन अन्तरले पराजित हुने भारत र
धेरै रन अन्तरले जित निकाल्ने टोली नेपाल बनेको छ । सन्दीपले पाँच खेलमा एक अर्धशतकसहित १७६ रन बनाए ।
उनको उच्च स्कोर ५३ रह्यो । प्रतियोगितामा उनले सात चौका र सर्वाधिक २३ छक्का प्रहार गरेका थिए । प्रतियोगितामा धेरै छक्का प्रहार गर्ने उनी नै हुन् । सन्दीपपछि दोस्रो स्थानमा अफगानिस्तानका करिम जनतले १७२ रन बनाए । करिमले एक अर्धशतक तथा नौ चौका र २० छक्का प्रहार गरे ।
अफगानिस्तानविरुद्ध रसिदको ह्याट्रिक
प्रतियोगितामा नेपालका रसिद नौ विकेटका साथ शीर्ष स्थानमा रहे । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका रसिदले पाँच खेलमा नौ विकेट लिएका हुन् । उनले अफगानिस्तानविरुद्ध एकै खेलमा चार विकेट लिएका थिए । उनले समग्रमा ४२ बलमा १०२ रन दिए । प्रतियोगिताको उनको औसत बलिङ ११.३३ र इकोनोमी १४.५७ रहेको थियो । दोस्रो स्थानमा च्याम्पियन पाकिस्तानका मुहमद साहजादले पाँच खेलमा सात विकेट हात पारे । बंगलादेशका अबु हैदरले चार खेलमा सात विकेट हात पारे । प्रतियोगितामा एकै खेलमा चार विकेट लिने रसिद र अबु मात्र रहे ।
शरदले लिए राष्ट्रिय टोलीबाट सन्न्यास
हङकङ सिक्सेज प्रतियोगिताबाट नेपालका भेट्रान मध्यक्रमका ब्याट्सम्यान शरद भेसवाकरले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टोलीको जर्सीमा अन्तिमपटक खेल्न हङकङ सिक्सेजमा कप्तानीको जिम्मेवारी दिएको हो । यद्यपि, प्रतियोगितामा उनले एक खेल पनि खेलेनन् । तर, राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम भ्रमणमा उनले यादगार बनाए ।
नेपाली टोलीका खेलाडीले युएईसँगको खेलपछि उनलाई ‘गार्ड अफ अनर’ दिएका थिए । शरदले भावुक हुँदै क्यानले सन्न्यास लिने राम्रो अवसर दिएको बताए । ‘मैले यस प्रतियोगितालाई राष्ट्रिय टोलीबाट अन्तिमपटक खेल्ने अवसरका रूपमा लिएँ, म क्यानलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने । नेपालले सन् २०१४ मा पहिलोपटक आइसिसी टी–२० विश्वकप खेल्दा वा सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय सिरिज खेल्दा शरद मुख्य खेलाडी थिए । नेपाली क्रिकेटमा उनलाई फिनिसर ब्याट्सम्यानका रूपमा लिने गरिन्छ ।