नारायणी अस्पतालको अनियमितता रोक्न माग गर्दै प्रजिअलाई ज्ञापनपत्र

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

वीरगन्जस्थित नारायणी अस्पतालमा भइरहेको चरम अनियमितता र दुरुपयोगबारे छानबिन गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ। जेनजी समूह पर्साले नारायणी अस्पतालमा हुँदै आएको अनियमितता रोक्न माग राख्दै आइतबार प्रजिअ भोला दाहाललाई ज्ञापनपत्र बुझाएको हो।

बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाहरूको प्रमुख स्वास्थ्य सेवा केन्द्रको रूपमा रहेको नारायणी अस्पतालमा विगत वर्षहरूमा अत्यधिक अनियमितता र भ्रष्टाचारका गतिविधि बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख छ। विभिन्न खरिद कार्यमा नियमविपरीत प्रक्रिया अपनाइएको, मनपरी मूल्यांकन गरिएको र अस्पतालमा वास्तविक रूपमा वस्तु-सामग्री नपुगेको अवस्थामा समेत भुक्तानी प्रक्रिया अघि बढाइएको देखिएको जेनजी पर्साका अगुवा बिशेष साहले बताए।

अस्पतालमा हुँदै आएको चरम अनियमितताले सार्वजनिक सम्पत्ति र राज्यकोषको दुरुपयोग भएको उनको भनाइ छ। अक्सिजन प्लान्ट, एमआरआई मेसिन, सिटी स्क्यान, क्याथ ल्याब, मोबाइल सी–आर्म, सिटिजी एन्ड इलेक्ट्रो सर्जिकल युनिटमा अनियमितता भएको उनले बताए। यस्तै फ्राक्सनल फ्लो रिभर्स म्यानेजमेन्ट सिस्टम, युरोसेट, ओटीसेट साथै अन्य मेडिकल इक्युपमेन्ट खरिदमा मूल्य, गुणस्तर, आपूर्ति, भुक्तानी र प्रयोगको अवस्था पूर्ण रूपमा छानबिन गर्न माग गरिएको साहले बताए।

अस्पतालले १८ नम्बर फर्म भरी प्रमाणित गरी भुक्तानीका लागि पठाइएका, तर अस्पतालमा वास्तविक रूपमा सामग्री नआएकाहरूको पनि विस्तृत छानबिन गरी दोषी अधिकारी र आपूर्तिकर्तामाथि कानुनी कारबाही गर्न माग गरिएको छ।

अस्पतालको खरिद समितिका पदाधिकारी, लेखा शाखा, प्रशासन र अस्पतालका प्रमुख अधिकारीहरूको संलग्नता रहेको दाबी गर्दै ज्ञापनपत्रमा अख्तियार ऐनअनुसार कठोर कारबाही गर्न भनिएको छ।

सुझावित समाचार