जेन–जी आन्दोलनपछि समाजमा मानसिक समस्या बढ्नुको कारण के हुन सक्छ ?
कुनै पनि सामाजिक, राजनीतिक या आर्थिक परिवर्तनको सकारात्मक या नकारात्मक प्रभाव समाजमा पर्नु स्वाभाविक हो । तर, त्यस्तो कुनै पनि प्रभाव सबैमा एउटै ‘ग्र्याभिटी’को हुन्छ भन्ने चाहिँ हुँदैन । व्यक्तिको क्षमता, घरपरिवार र समाजको परिवेश आदिले गर्दा सबैले फरकफरक प्रभाव महसुस गर्छन् । खासगरी आन्दोलनमा भएका आगजनी, तोडफोड, गोली प्रहार, आन्दोलनकारीको मृत्यु, घाइते भएको अवस्था आदिका कारण धेरैमा नकारात्मक मानसिक प्रभाव परेको देखिन्छ । यतिखेर प्रहरीमा पनि यस्तो समस्या बढिरहेको छ । यसको समाजमा बहुआयामिक प्रभाव देखिन थालेको छ । अधिकांशमा यो समस्या बिस्तारै आफैँ सुधार भएर पनि जान सक्छ । कतिपयमा भने दीर्घकालसम्मै रहन पनि सक्छ । यतिखेर स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्शलाई प्राथमिकता दिनुको कारण पनि यही हो ।
बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढ्नुले के संकेत गर्छ ?
बालबालिका र किशोरकिशोरीमा मानसिक समस्या पहिल्यैदेखि देखिँदै आएको छ । खासगरी घरपरिवार, स्कुल, कलेजको भूमिकाले पनि उनीहरूमा समस्या बढाउन या घटाउन सहयोग पुर्याइरहेको हुन्छ । घरपरिवार, स्कुल, कलेजले सजगतापूर्वक सकारात्मक भूमिका खेल्न नसक्ने हो भने यो समस्या दीर्घकालसम्म रहने र यसले जेन–जीमा मात्र होइन, जेन अल्फा र जेन बिटामा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।
मानसिक समस्या बढ्नुमा सामाजिक सञ्जालहरू कति जिम्मेवार छन् ?
अत्यन्तै जिम्मेवार छन् । सामाजिक सञ्जालको विश्वव्यापी प्रभाव पर्छ । पुँजीवादका प्रभाशाली हतियार हुन् सामाजिक सञ्जाल । यसको प्रभावमा आएपछि हाम्रो परिवारका हरेक सदस्य एक्लै बसेर सञ्जालमै रमाउन थाल्छन् । यसबाट पारिवारिक तथा सामाजिक अन्तक्र्रिया कम हुन्छ । यसले एक्लोपन बढाउँछ । समयमै सचेत नहुने हो भने यसले हामीमध्ये धेरैमा नकारात्मक प्रभाव देखिन सक्छ ।