राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले चर्चित व्यक्तित्वहरूलाई पार्टीमा स्वागत गरे पनि मूल नेतृत्व आयात गर्न नसकिने धारणा राखेका छन्। चितवनको सौराहामा जारी पार्टी केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अर्यालले नेतृत्वबारे प्रस्ट पारेका हुन्।
‘पार्टी रिफर्म गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदाहुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा उल्लेख छ।
पार्टी रिफर्मबारे सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउन सकिने उल्लेख गर्दै अर्यालले त्यस्तो प्रस्ताव भए छलफलका लागि पेस गर्न भनेका छन्। ‘आग्रह–पूर्वाग्रह, व्यक्तिगत महत्त्वाकांक्षा वा क्षणिक आत्मसन्तुष्टिका लागि होइन, पार्टी रिफर्मबारे हामीले निरन्तर पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनुपर्छ। म आग्रह गर्दछु– पार्टी रिफर्मबारे कुनै प्रस्तावको मस्यौदा बनाइएको छ भने ल्याउनुस् महाधिवेशनसम्म पार्टीभित्र खुला छलफल गरौँ,’ अर्यालले भनेका छन्।
रास्वपालाई बामे सर्दै गरेको ४० महिने पार्टीका रूपमा उल्लेख गर्दै अर्यालले पुराना पार्टीहरूजस्तो पूरै भत्काएर ‘रिफर्म’ गर्नुपर्ने अवस्था नरहेको तर्क गरेका छन्। पार्टी निर्माणकै क्रममा रहेकाले अहिले नेतृत्वहरूलाई विस्थापित नभई स्थापित गर्ने समय भनिएको छ।
‘चौतर्फी रूपमा योजनाबद्ध तरिकाले मूल–मूल नेतृत्वमा प्रहार गरी पार्टीलाई नै सकाइदिने योजनालाई बुझ्न सकेनौँ भने हामीले पनि हार्छौँ र जनतालाई पनि हराउँछौँ। त्यसैले अहिले नेतृत्वहरूलाई विस्थापति होइन, स्थापित गर्ने समय हो,’ प्रतिवेदनमा भनिएको छ।